मूलढोका-कमलविनायक सडक अलपत्र: खाल्डाखुल्डी र धुलोले स्थानीय आजित, कात्तिक २० सम्म काम नभए ठेक्का तोड्ने चेतावनी
जनसञ्चार समाचारदाता
भक्तपुर, १७ कात्तिक
प्रमुख पर्यटकीय गन्तव्यस्थल नगरकोट जोड्ने भक्तपुरको महत्त्वपूर्ण मूलढोका–कमलविनायक सडकखण्ड वर्षौँदेखि जीर्ण बन्दा सर्वसाधारण र स्थानीयबासीले सास्ती व्यहोर्नुपरेको छ। घाम लाग्दा धुलाम्य र पानी पर्दा हिलाम्य हुने सो सडकखण्डमा ठूला-ठूला खाल्डाखुल्डीका कारण दैनिकजसो सवारी दुर्घटना र ट्राफिक जाम हुने गरेको छ।
सडकको दुरावस्थाले गर्दा जनस्वास्थ्यमा समेत गम्भीर असर पर्न थालेपछि स्थानीयबासी आक्रोशित बनेका छन्। स्थानीयवासी प्रमोद मानन्धरका अनुसार सडकलाई व्यवस्थित वा फराकिलो बनाउन सरोकारवाला निकायले चासो दिएका छैनन्। वडा कार्यालयले खाल्डाखुल्डी पुर्न बिछ्याएको ग्राभेल दुई दिनमै पखालिएर पुनः साविककै अवस्थामा पुग्ने गरेको छ। अब सडक पूर्ण रूपमा कालोपत्रे (पिच) नगरेसम्म ग्राभेल पनि बिछ्याउन नदिने अडान स्थानीयले लिएका छन्। गत वर्षको दशैँ-तिहारअघि नै पिच गरिसक्ने आश्वासन दिइए पनि अहिलेसम्म काम सुरु नभएको मानन्धरले बताउनुभयो।
यस विषयमा भक्तपुर नगरपालिका वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौंमिखाले सडकको दुरावस्था र जनगुनासोबारे डिभिजन सडक कार्यालय भक्तपुरको पटक-पटक ध्यानाकर्षण गराएको बताउनुभयो। “सडक निर्माणका लागि डिभिजन सडकले ३५ लाख रुपैयाँ विनियोजन गरी सम्राट कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता गरेको पाइएको छ,” वडाध्यक्ष ह्यौंमिखाले भन्नुभयो, “तर ठेकेदारले बजार मूल्य बढेको बहाना बनाउँदै अहिलेसम्म काम सुरु गरेको छैन।”
भक्तपुर नगरपालिका वडा नं. १० वडा कार्यालयदेखि महालक्ष्मीस्थानसम्मको सडक बजेट विनियोजन र ठेक्का भइसकेपछि पनि नबन्नु डिभिजन सडक कार्यालयको कमजोरी भएको वडाको ठहर छ। वडाध्यक्ष ह्यौंमिखाका अनुसार सो सडकलगायत खरिपाटी ब्यारेकसम्मको मार्गमा भूमिगत तार बिछ्याउने र ढल निर्माणका नाममा झनै लथालिङ्ग पारिएको छ। डिभिजन सडकले संघ र प्रदेश सरकारको अधिकार क्षेत्र देखाएर पन्छिन खोजेको भन्दै उहाँले आपत्ति जनाउनुभयो।
यता, डिभिजन सडक कार्यालय भक्तपुरले जनसञ्चार खबरमार्फत ध्यानाकर्षण गराएपछि ठेकेदारको ढिलासुस्तीका कारण काम रोकिएको स्वीकारेको छ। आगामी कात्तिक २० गतेसम्म ठेकेदारले काम सुरु नगरेमा ठेक्का सम्झौता नै तोड्ने प्रक्रिया अघि बढाउने डिभिजन सडकले जनाएको छ।
तर स्थानीयबासी भने क्षमता र योग्यता नभएका ठेकेदारलाई काम दिएर डिभिजन सडकले चरम ढिलासुस्ती गरेको आरोप लगाउँछन्। ठेक्का तोड्ने र नयाँ प्रक्रियामा जाने नाममा थप समय खेर फाल्नुभन्दा डिभिजन सडक कार्यालय आफैँ अघि सरेर सडकको तत्काल स्तरोन्नति गर्नुपर्ने माग स्थानीयको रहेको छ।













