५ औं मातृभाषा पत्रकारिता दिवसका कार्यक्रमहरु स्थगित

प्रथम मातृभाषी पत्रकार धर्मा्दित्य धर्माचार्य (जगतमान वैद्य)को स्मरणमा कार्यक्रम तथा ५ औँ मातृभाषा पत्रकारिता दिवसका सम्पूर्ण कार्यक्रमहरु स्थगित गरिएको छ । कोरोना भाइरसको संक्रमणबाट जोखिम र यसबाट सुरक्षित रहन लकडाउनको आदेश पालना गर्दै नेवार पत्रकारहरुको राष्ट्रिय संंगठन नेवाः पत्रकार राष्ट्रिय दबूले आयोजना गर्दै आएको ¥याली, धर्मा्दित्य धर्माचार्यको प्रतिमामा माल्यार्पण, सभा तथा मातृभाषा सम्मेलन स्थगित गरिएको छ । त्यस्तै पत्रकार राष्ट्रिय दबूको ललितपुर शाखाबाट दिइँदै आएको धर्मा्दित्य पत्रकारिता पुरस्कार घोषणा पनि यो वर्ष नदिने स्थगित गरिएको छ । स्थगित भएको मातृभाषा पत्रकारिता सम्मेलन र धर्मा्दित्य पत्रकारिता पुरस्कार सापेक्ष समयमा आयोजना गर्ने जानकारी सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

राणाकालमा मातृभूमिमा बसेर आफ्नै भाषाबाट लेख्ने, प्रकाशन गर्ने, प्रचार गर्ने वा मातृभाषा विकास र विस्तारका लागि गरिने हरेक गतिविधिलाई अपराध सरह मानिन्थ्यो । सोही समय अर्थात ने.सं. १०४५ (९५ वर्ष अघि) बुद्धजयन्तीदेखि भारतको कलकत्ता पुगेर धर्मा्दित्य धर्माचार्यले ‘बुद्ध धम्र्म’ नाउँको धार्मिक पत्रिका प्रकाशन गरेका थिए । त्यसको दुई वर्ष पछि सोही पत्रिकालाई ‘बुद्ध–धर्म व नेपालभाषा’ को नाउँमा धर्म व साहित्यिक पत्रिकाको रुपमा सम्पादन गरेका धर्माचार्य ने.सं. १०२२ बछलाथ्व चतुर्दशीमा ललितपुरको सप्तपुर महाविहार, चिकंबहीमा जन्मेका थिए । उहाँले नेपाली भाषाको ‘हिमाली बौद्ध’, अंग्रेजी भाषाको ‘बुद्धिष्ट इण्डिया’ पत्रिका समेत प्रकाशन गरेका थिए ।

धर्मा्दित्य धर्माचार्यको योगदानलाई स्मरण गर्दै उहाँमा समर्पित पदवी एम. ए., हिन्दी साहित्य रत्न, बौद्ध साहित्य रत्न, एफ. आर. इकन (लण्डन), धर्म आदित्य, सद्धर्मरत्नाकर, एफ.बि.एम.(बर्मा), कविराज, भिषगरत्न, भिषगारत्न, डी.डी.(होमियो) लगायत थुप्रै मान सम्मान स्मरणीय छ । उहाँलाई नेपालका बौद्ध जगतका प्रथम सुधारवादी ब्यक्तित्व, किन्दो विहारका जीर्णोद्धारका मुख्य आयोजक, नेपालमा बुद्धजयन्ती मनाउने प्रचलन शुरु गरेका ब्यक्ति, काठमाडौं उपत्यकामा बुद्धधर्म उद्धार संघ, बुद्धोपासक संघ, बुद्धोपासिका संघ बनाएका, कलकत्तामा नेपाली बुद्धमार्गी संघ बनाएका, दार्जि्लिंगमा कन्या विद्यालय सञ्चालन गरेका, कालिम्पोंगमा उपासक संघ बनाएर पुस्तकालय शुरु गरेका, कलकत्ता र पटनास्थित विश्वविद्यालयमा नेपालभाषा अध्यापनको प्रयास गरेका ब्यक्तिको रुपमा चिन्छौं ।

आज सञ्चार क्षेत्रलाई राज्यको चौथौं अंगको मान्यता दिएको सन्दर्भमा समाजले पनि त्यतिकै मान दिएको छ । नेपालमा मात्र नभइ संसारमै भएका परिवर्तनमा सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका छ । आजको उपलब्धिको कुरा गरिरहँदा नेपालकै प्रथम मातृभाषी पत्रकार धर्मा्दित्य धर्माचार्य र उहाँले मातृभाषा पत्रकारिता क्षेत्रमा बनाएका आधारस्तम्भ “बुद्धधर्म व नेपालभाषा” स्मरणीय छ । उहाँको योगदानलाई राज्यले समेत पहिचान गर्नुपर्छ । प्रथम मातृभाषी पत्रकारको रुपमा उहाँलाई स्थान दिनुपर्छ । उहाँले बुझाएका मातृभाषा पत्रकारिताको महत्वलाई आत्मसात् गर्नुपर्ने समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।