थप १७ जनामा कोरना संक्रमण, लकडाउन अब जेठ ५ गतेसम्म

काठमाण्डौ, बैशाख २४ गते
नेपालमा थप आज १७ जना कोरना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या ९९ पुगेको छ । आज संक्रमित १७ जना पर्साका एक्कै परिवारका सदस्य रहेको खुलेको छ । सङ्क्रमितहरू २ महिनादेखि ६६ वर्षसम्मका भएको प्रवक्ता डा.विकास देवकोटाले बताउनुभयो । आज कोरोना पुष्टि भएकामा १० जना पुरुष र ७ जना महिला रहेका छन् । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको जम्मा सङ्ख्या ९९ पुगेको छ । आज नै कोसी अस्पतालमा उपचाररत ६ जना कोरोना सङ्क्रमित भारतीय नागरिक निको भएर क्वारेन्टाइन बस्न गएका छन् । निको हुने कोरोना सङ्क्रमितको जम्मा सङ्ख्या २२ पुगेको छ । यद्यपी २२ मध्ये ३ जनामा अनुगमन जाँच गर्दा फेरि कोरोना देखिएपछि बिभिन्न अस्पतालमा उपचारका लागि भर्ना भएको मन्त्रालयका प्रवक्ता देवकोटाले जानकारी दिनुभयो ।

लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने सरकारको निर्णय ।।
सरकारले कोरोना नियन्त्रणका लागि मुलुकभर आह्वान गरेको लकडाउन अर्थात बन्दाबन्दीको आदेशलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले बन्दाबन्दीको समयावधि लम्ब्याउने निर्णय गरेको हो । यसअघि घोषित बन्दाबन्दी वैशाख २५ अर्थात् भोलि मध्यराति सकिँदैछ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि बन्दाबन्दीको आदेश जारी गरेको थियो । लामो समयदेखिको बन्दाबन्दीले अर्थतन्त्रमा ठूलो समस्या परेको भन्दै प्रभावित क्षेत्र छुट्याएर खुकुलो पार्नुपर्ने आवाज पनि उठिरहेको छ । हिजो बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकमा जोखिमका आधारमा ७७ जिल्लालाई रातो, पहेँलो र हरियो क्षेत्रमा विभाजन गर्न अनि त्यसअनुसार बन्दाबन्दी कडा वा खुकुलो बनाउने प्रस्ताव पेश भएको थियो । तर प्रधानमन्त्री केपी शर्मा ओली त्यसमा सहमत नहुनुभएको बुझिएको छ । भारतमा सङ्क्रमणको अवस्था जोखिमपूर्ण देखिएको र त्यसको असर नेपालमा पनि पर्ने भएकाले अहिले नै बन्दाबन्दी खोल्न वा खुकुलो बनाउन नहुने प्रधानमन्त्रीले बताउनुभएको हो । नेपालमा परीक्षण पनि पर्याप्त गर्न नसकिएकाले तत्कालै खोल्न नहुने प्रधानमन्त्रीको तर्क छ । सीमा नाका जेठ १८ गतेसम्म बन्द गर्ने निर्णय पनि सरकारले गरेको छ । अन्तराष्ट्रिय सीमा नाका जेठ १८ सम्म बन्द गर्ने र थप कडाइ गर्ने निर्णय सरकारले गरेको हो ।