प्रकृतिको खुला क्यान्भासमा ४०० वर्ष पुरानो इतिहास
ताथलीका चट्टान अभिलेख संरक्षणमा जुटे अभियान्ता प्रेमध्वज
बृहत् वृक्षारोपण एवं विशिष्ट व्यक्तित्व सम्मान कार्यक्रम
चाँगुनारायण-९, हललगाउँ, भक्तपुर
काठमाडौँ उपत्यकाको कला, संस्कृति र इतिहास भन्नेबित्तिकै हाम्रा आँखाअघि ठूला दरबार, मन्दिर र कलात्मक ढुङ्गेधाराहरू आउँछन् । तर, भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९, हललगाउँस्थित खुला भीरपाखा र कान्लाहरूमा ४०० वर्ष पुराना अमूल्य ‘प्रस्तर-डायरी’ हरू छरपस्ट अवस्थामा छन् । वि.सं. २०६७ मा संस्कृतिविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठद्वारा उत्खनन गरिएका यी १५ वटा दुर्लभ चट्टान अभिलेख (Rock Inscriptions) हरू अहिले वैज्ञानिक संरक्षण र सरकारी नीतिको पर्खाइमा छन् ।
यसैबीच, प्रकृति र संस्कृतिको दोहोरो जगेर्ना गर्ने उद्देश्यका साथ ताथलीमा ‘बृहत् वृक्षारोपण तथा विशिष्ट व्यक्तित्व सम्मान कार्यक्रम–२०८३’ सम्पन्न भएको छ । कान्लाका डिल र भीरपाखामा असरल्ल परेका विशाल ढुङ्गाहरू आम आँखाका लागि सामान्य पहाड मात्र हुन् । तर, इतिहास र लिपिको कसीमा जोख्ने हो भने यी नेपाली सभ्यताका दुर्लभ प्रस्तर-डायरी हुन् । नेपाल संवत् ७४५ देखि ८३५ सम्मका अर्थात् मल्लकालीन समयका यी १५ वटा चट्टान अभिलेखमा मल्ल राजाहरू जगज्योति मल्ल, जितामित्र मल्ल, भूपतिन्द्र मल्ल र कान्तिपुरका राजा प्रताप मल्लको इतिहास कोरिएको छ । प्रसिद्ध चाँगुनारायण मन्दिर, वत्सलेश्वरी मन्दिर र उपत्यकाका ढुङ्गेधारा निर्माणका लागि यहीँबाट ढुङ्गा लगिएको ऐतिहासिक प्रमाण यी अभिलेखहरूले बोकेका छन् ।
अभिलेखमा नेपाल भाषाका प्राचीन लिपिका साथै तत्कालीन सामाजिक मनोरञ्जनका रूपमा रहेको ‘साँढे जुधाइ’ का चित्रहरू समेत उत्कीर्ण छन् । यति मात्र होइन, यहाँ भेटिएका नवपाषाणकालीन औजारहरूले इसापूर्व आठ हजार वर्षअगाडि नै उपत्यकामा मानव बस्ती रहेको ऐतिहासिक सङ्केत गर्छन् । तर, खोज भएको १६ वर्ष बितिसक्दा पनि तारबार र क्याटलगिङको अभावमा यी अमूल्य राष्ट्रिय सम्पदाहरू घाम, पानी र हिलो-मैलोका कारण खिइँदै जान थालेका छन् । बाइट १: विनोद कुमार खड्का, प्रमुख जिल्ला अधिकारी
यी ऐतिहासिक सम्पदाको बजारीकरण, वातावरणीय सन्तुलन र समाजका विभिन्न विधामा योगदान पुर्याउने व्यक्तित्वहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले हललगाउँमा जनसञ्चार टेलिभिजन र भ्रष्टाचार विरोधी अभियान्ता एवं कार्यक्रम संयाेजक प्रेमध्वज लामाको नेतृत्वमा ‘बृहत् वृक्षारोपण तथा विशिष्ट व्यक्तित्व सम्मान कार्यक्रम–२०८३’ आयोजना गरियो । बाइट.. प्रेमध्वज लामा
कार्यक्रममा समाजका ९ वटा विभिन्न विधाका विशिष्ट व्यक्तित्वहरूलाई सम्मानित गरियो । जसमध्ये, पुरातात्विक संरक्षण विधामा इतिहास शिक्षक विश्वमोहन जोशीका साथै स्वदेश तथा विदेशमा २२ वटा मुद्रा प्रदर्शनी सम्पन्न गरी नेपालको प्राचीन इतिहास जोगाउन निरन्तर खटिएका दाजुबहिनी लक्ष्मजीत मल्ल र समृद्धि मल्ललाई ‘पुरातात्विक तथा ऐतिहासिक धरोहर संरक्षण सम्मान’ प्रदान गरियो । बाइट …
यस्तै, उत्कृष्ट स्वास्थ्य सेवातर्फ अञ्जना खड्का र श्यामसुन्दर धौभडेल, उत्कृष्ट जनप्रतिनिधितर्फ चाँगुनारायण–९ का वडाध्यक्ष गणेश त्यातसहित वडा सदस्यहरू, सामाजिक सेवातर्फ प्रा.डा. सर्वज्ञभक्त मल्ल, प्रा. कोमल मदन मल्ल र डा. नवराज काफ्ले सम्मानित हुनुभयो । शिक्षातर्फ हरिशरण दुलाल र सञ्जीव पुरी, कानुनतर्फ अधिवक्ता रविन्द्र प्रधान र देवकुमार मोक्तान, खेलकुदतर्फ कराते प्रशिक्षक कृष्णराम जाकीबञ्जार, सूर्यबहादुर लामा, केदार तुइतुइ र रामशरण राना तथा कला-साहित्यतर्फ ईश्वर थोकर, हरिसुन्दर छुकां र विकास प्रहर सम्मानित हुनुभयो । सञ्चार माध्यमबाट चट्टान अभिलेख र वातावरणीय मुद्दा प्रवर्द्धनमा योगदान पुर्याएबापत पत्रकारहरू सञ्जीव घिमिरे, अञ्जीर बिक, कृष्ण किसी, देवेन्द्र श्रेष्ठ र सङ्गम लामालाई उत्कृष्ट सञ्चारकर्मी सम्मान अर्पण गरियो । विश्व सम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिर नजिकै रहेको यो क्षेत्रलाई ‘खुला प्रस्तर सङ्ग्रहालय’ (Open Stone Museum) का रूपमा विकास गर्न सके नेपालको ऐतिहासिक र सांस्कृतिक पर्यटनमा नयाँ आयाम थपिनेछ । प्रकृति जोगाउन वृक्षारोपण र संस्कृति जोगाउन साधकहरूको सम्मान गर्ने यस्ता बहुआयामिक पहलले स्थानीय सम्पदा संरक्षणमा ठूलो बल पुर्याउने विश्वास लिइएको छ ।
उपत्यकाको प्राचीन इतिहास बोकेका यी चट्टान अभिलेखहरू केवल ढुङ्गा मात्र होइनन्, हाम्रा पुर्खाको पहिचान हुन् । समयमै वैज्ञानिक क्याटलगिङ, तारबार र पर्यटकीय पदमार्गसँग जोड्न सके ताथलीको यो हललगाउँ विश्वभरका अनुसन्धानकर्ताका लागि अध्ययनको खुला पाठशाला बन्न सक्छ । संरक्षणको पर्खाइमा रहेका ताथलीका यी ४०० वर्ष पुराना चट्टान अभिलेखहरूलाई राज्य र स्थानीय तहले समयमै ठोस योजना बनाएर ‘खुला प्रस्तर सङ्ग्रहालय’ का रूपमा अघि बढाउनु आवश्यक छ । यस विषयमा राज्यको नै ध्यान जान जरूरी छ ।














