अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा कमलविनायक शिशुस्याहार केन्द्र उद्घाटन
२०८३
भक्तपुर । अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालन गरिने भक्तपुर नगरपालिका–१०, कमलविनायकस्थित शिशुस्याहार तथा बालविकास केन्द्रको उद्घाटन भयो । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित )ले एक कार्यक्रमबीच केन्द्रको उद्घाटन गर्नुभयो ।
कार्यक्रममा बोल्दै बिजुक्छेँले बालबालिकाको मनोविज्ञान र भावनालाई बुझेर व्यवहार गर्नुपर्नेमा जोड दिनुभयो। शिशुस्याहार केन्द्र बालबालिकाको ‘दरबार’ जस्तै सुरक्षित, मायालु र बालमैत्री हुनुपर्ने उहाँको भनाइ थियो।
“बालबालिकाको मनोविज्ञान बुझेर काम गर्नुपर्छ। उनीहरूको मनोभावना बुझ्नुपर्छ,” उहाँले भन्नुभयो, “सानै उमेरदेखि राम्रो शिक्षा र संस्कार दिनुपर्छ। अहिलेका बालबालिका निकै अगाडि छन्। उनीहरूलाई सानैदेखि नेपालभाषा पनि सिकाउनुपर्छ र नरम व्यवहार गर्नुपर्छ।”


बालबालिकाको विकासमा अभिभावकको व्यवहारको समेत महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै उहाँले अभिभावकहरूलाई बालबालिकासँग कसरी व्यवहार गर्ने भन्ने विषयमा नियमित अभिभावक बैठक तथा अभिमुखीकरण आवश्यक रहेको बताउनुभयो।
शिशुस्याहार केन्द्रमा कार्यरत शिक्षिका तथा आया दिदीहरू पनि बालमनोविज्ञान र बालविकाससम्बन्धी तालिमप्राप्त हुनुपर्ने उहाँको भनाइ थियो।
कार्यक्रमका सभापति भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरपालिकाको योजनाअनुसार शिशुस्याहार केन्द्र निर्माण तथा सञ्चालनमा सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो।
नगरपालिकाले घोषणापत्रमा उल्लेख गरेअनुसार प्रत्येक वडामा शिशुस्याहार केन्द्र सञ्चालन गर्ने उद्देश्य लिएको र हालसम्म ७ वटा शिशुस्याहार केन्द्र सञ्चालनमा रहेको उहाँले जानकारी दिनुभयो।
महिलाहरूको श्रमलाई सदुपयोग गर्ने तथा बालबालिकाको हेरचाहका कारण महिलाहरूले रोजगारी छाड्नुपर्ने अवस्था नआओस् भन्ने उद्देश्यले शिशुस्याहार केन्द्र सञ्चालन गरिएको प्रमुख प्रजापतिले बताउनुभयो।
हालसम्म सञ्चालनमा रहेका केन्द्रहरूमा ५ हजार ५ सय ५६ जना बालबालिका भर्ना भई सेवा लिइसकेको उहाँले जानकारी दिनुभयो।
भक्तपुर नगरपालिकाले शिक्षाको क्षेत्रमा थप काम गरिरहेको उल्लेख गर्दै प्रमुख प्रजापतिले नगरपालिकाले विश्वविद्यालय सञ्चालनका लागि पहल गरिरहेको बताउनुभयो।
१०८ रोपनी जग्गामा ख्वप विश्वविद्यालय सञ्चालन गर्ने उद्देश्य रहेको र नगरपालिकाले सञ्चालन गरेका संस्थाहरूलाई नमुना संस्थाका रूपमा विकास गर्न खोजिएको उहाँको भनाइ थियो।
नगरपालिकाका उपप्रमुख रजनी जोशीले शिक्षाको माध्यमबाट समाजको जगलाई बलियो बनाउने काम भक्तपुर नगरपालिकाले गर्दै आएको बताउनुभयो।
हरेक वडामा आधुनिक बालविकास केन्द्र निर्माण गर्दै जाने लक्ष्य रहेको उल्लेख गर्दै उहाँले कमलविनायक शिशुस्याहार केन्द्रले बालबालिकाको प्रारम्भिक सिकाइलाई मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
केन्द्रलाई सुरक्षित, स्वच्छ र आधुनिक बालविकास केन्द्रका रूपमा विकास गर्नुपर्ने उहाँको भनाइ थियो।
भक्तपुर नगरपालिकाका निवर्तमान प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले भक्तपुरको पूर्वी क्षेत्रमा अवस्थित यस केन्द्र बालबालिकाको रोजाइको केन्द्र बन्ने विश्वास व्यक्त गर्नुभयो।
स्थानीय सरकारले गरेको यो काम प्रशंसनीय रहेको उल्लेख गर्दै उहाँले संघीय सरकारसँग समेत समन्वय गरी अघि बढ्नुपर्ने बताउनुभयो।
ख्वप अस्पतालका बालरोग विशेषज्ञ डा. विजयकुमार चिकबन्जारले बालबालिकालाई सानैदेखि राम्रो वातावरण दिन सके सोहीअनुसार उनीहरूको व्यक्तित्व विकास हुने बताउनुभयो।
शिशुस्याहार केन्द्रमा बालबालिकालाई राख्नु उनीहरूको सुनौलो भविष्य निर्माणका लागि महत्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले केन्द्रमा नियमित स्वास्थ्य परीक्षण शिविर सञ्चालन कार्य प्रशंसनीय रहेको बताउनुभयो।
बालविकास विशेषज्ञ तथा शिक्षिका देबना जोशीले शिशुस्याहार केन्द्र बालबालिकाको सुरक्षित, स्वस्थ र भावनात्मक अवस्था विकास गर्ने माध्यम भएको बताउनुभयो।
शिशुस्याहार केन्द्र र अभिभावकबीचको सम्बन्ध तथा सञ्चार महत्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले बालबालिकालाई छुट्टै व्यक्तित्वका रूपमा बुझेर मायालु र सुरक्षित वातावरणमा हुर्काउनुपर्नेमा जोड दिनुभयो।
भक्तपुर नगरपालिका–१० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्योँमिखाले नगरपालिकाको घोषणापत्रमा उल्लेख भएअनुसार वडावडामा शिशुस्याहार केन्द्र सञ्चालन गर्ने कार्य भइरहेको बताउनुभयो। उहाँले वडाको विकास तथा निर्माणका गतिविधिबारे समेत जानकारी दिनुभयो।
शिशुस्याहार तथा बालविकास केन्द्रका प्रमुख दिपेन्द्र प्रजापतिले विभिन्न शिशुस्याहार केन्द्रमा बालबालिकाको भर्ना अवस्था तथा केन्द्र सञ्चालनको अनुभवबारे जानकारी दिनुभयो। उहाँले केन्द्रमा बालबालिकाको सुरक्षा, बालमैत्री तथा सिर्जनात्मक गतिविधि र पोषणमा विशेष ध्यान दिइएको बताउनुभयो।
केन्द्र बिहान ९ः३० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने जनाइएको छ ।










