विश्व स्तनपान दिवसको अवसरमा सिद्धि स्मृतिमा एक हप्ते प्रदर्शनी
भक्तपुर, श्रवाण १६ गते
कामदार आमाहरुलाई स्तनपान सम्बन्धि अप्ठेरो क मगर्न तथा थप सचेतनादिने उदेश्यले आजबाट विश्व स्तनपान सप्ताह कार्यक्रम सुरु भएको छ।
विश्वभर मनाईने यो कार्यक्रम अन्तर्गत भक्तपुरको सिद्धिस्मृति महिला तथा बाल अस्पतालको प्रांगणमा प्रयोगात्मक शैलीमा एक हप्ते स्तनपान सम्बन्धी सामग्री प्रदर्शनी सुरु गरेको हो । अस्पतालका नर्स र स्वास्थ्यकर्मीहरुले अस्पतालमा आउने अभिभावक, आमा र परिवारका सदस्यहरुलाई समेत स्तनपानको महत्वलाई झल्काउदै सुरक्षित स्तनपान गराउने तयारीको सचित्र र प्रयोगात्मक रुपले बुझाउने गरी प्रदर्शनी आयोजना भएको अस्पतालका नर्स इन्चार्ज सुभद्रा मल्लले जनाए ।
शंखरापुर नर्सिग कलेजका नर्सहरुले यस वर्षको विश्व स्तनपान दिवसको अवसरमा सिद्धिस्मृति अस्पतालमा स्तनपान प्रदर्शनीलाई समन्वय गरेको छ । नर्सहरु आफैले चित्र कोरेर स्तनपानको महत्व झल्काउँदै हरेक आमाहरुलाई यस विषयमा जानकारी दिने तयारी गरेको हो । बच्चाको सुस्वास्थ्यका लागि जन्मेको एक घण्टाभित्र तथा ६ महिनासम्म नियमित आमाको दुध खुवाउनुपर्ने कुरालाई जोड दिदै आमाहरुलाई परामर्श समेत दिने तयारी गरेको प्रशिक्षक प्रकृति न्यौपानेले जनाए । एक जना अविभावक वा सदस्यलाई स्तनपान बारे राम्रोसँग बुझाउन एक घण्टाको समय लाग्ने उनले बताए । अस्पताल आउने हरेक आमा र परिवारका सदस्यलाई विहान ९ बेजे देखि २ बजेसम्म स्तनपान सम्बन्धि जनचेतनामूलक गतविधिहरुका साथ यस वर्ष सिद्धिस्मृति अस्पतालमा स्तनपान सप्ताह आयोजना भएको अस्पतालका नर्सिग विभाग प्रमुख रसिला पसखलले बताए।
यस वर्ष विश्व स्तनपान दिवस अवसरमा विश्व स्वास्थ्य संगठनले जागिरे वा काम गर्ने अविभावकलाई स्तनपान गराउने अप्ठेरोलाई कम गर्ने नारा तय गरेको छ । यसै सन्दर्भमा कार्यस्थल तथा सरकारी एवं सार्वजनिक स्थलहरुमा समेत सुरक्षित स्तनपान कक्ष हुनुपर्ने तथा कार्यालयहरुमा शिशु स्यहार कक्ष हुनुपर्नेमा अबिभावकहरुले जोड दिन थालेको नर्स मल्लको भनाई छ ।













