काठमाडौँ, बैशाख १३ गते
शुक्रबार फेरि एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानेको छ ।धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थ्रोट स्वाब परीक्षणमा झापाका एक ६२ वर्षीय वृद्धमा कोरना संक्रमण भएको हो । यो संगै कोरना संक्रमित हुनेको संख्या ४९ पुग्यो ।
यसै गरि कोभिड–१९ बाट सङ्क्रमित बागलुङ नगरपालिका–४ की १९ वर्षीया अंशु सापकोटा निको हुनुभएको छ । धवलागिरि अञ्चल अस्पतालको आइसोलेसनकक्षमा उपचाररत उहाँ शुक्रबार राति १० बजे अस्पतालबाट घर फर्कनुभएको छ । लगातार पाँचौ र छैटौँ जाँचमा कोरोनाको नेगेटिभ रिपोर्ट आएपछि सापकोटालाई डिस्चार्ज गरिएको अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरलले जानकारी दिनुभयो । “उहाँको स्वास्थ्य अवस्था राम्रो छ, दुई हप्ता घरमा पनि अलग्गिएर बस्न लगाएका छौँ”, प्रमुख चिकित्सक पोखरेलले भन्नुभयो । अस्पतालबाट घर फर्कने क्रममा सापकोटाले आफ्नो आत्मबल र चिकित्सक, स्वास्थ्यकर्मीको स्याहारले कोरोनालाई जित्न सफल भएको बताउनुभयो । “म खुसी छु, मलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु”, उहाँले भन्नुभयो, “अस्पतालमा बस्दा राम्रो हेरचाह पाएँ, परिवार र आफन्तले माया दिनुभयो ।” सापकोटाका बुबा ऋषिरामले छोरीमा सङ्क्रमण भएको थाहा पाउँदा पीडा भए पनि निको भएर फर्कदाँ सिङ्गो परिवारमा खुशी छाएको बताउनुभयो । बेल्जियमबाट दोहा हुँदै कतार एयरको क्यूआर ६५२ मा गत चैत ४ गते नेपाल आउनुभएकी सापकोटामा चैत १५ गते कोराना भाइरस सङ्क्रमणको पुष्टि भएको थियो । २८ दिनको अस्पताल बसाइपछि उहाँ घर फर्कनुभएको हो । उहाँसँगै एउटै विमानमा बेल्जियमबाट आउनुभएकी सोही नगरपालिका–३ की सङ्क्रमित ६५ वर्षीया मनकुमारी पौडेल निको भएर अघिल्लो शनिबार नै घर फर्किसक्नुभएको छ । पौडेलमा गत चैत १५ गते कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको थियो । सापकोटा नेपालको पाँचौँ र बागलुङको पहिलो सङ्क्रमित हुनुहुन्छ भने पौडेल नेपालको छैटौँ र बागलुङको दोस्रो सङ्क्रमित हुनुहुन्छ । दुवै सङ्क्रमित निको भएपछि हाललाई बागलुङ कोरोनाका बिरामीमुक्त जिल्ला भएको छ । यो संगै कोरना सक्रमण भइ निको भएको संख्या ११ पुगेको छ ।













