पुँजीपति बर्गलाई फाइदा हुने बजेट
भक्तपुर, २७ जेठ
भक्तपुरका सामुदायिक कलेजमध्ये गुणस्तर अर्थात क्यूएए प्राप्त गर्न सफल वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ म्यानेजमेन्टले हालै नेपाल सरकारले सार्वजनिक गरेको बजेट विषय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
आर्थिक वर्ष २०८३÷८४ को बजेटबारे बुधबार आयोजित कार्यक्रममा विद्यार्थी, शिक्षक र अतिथिहरुले बजेटले गरीबलाई भन्दा धनी व्यक्तिहरुलाई बजेटले फाइदा पुग्ने निष्कर्ष निकालेको थियो ।
कार्यक्रममा बागमती प्रदेश सभा सांसद सिर्जना सैंजुले सरकारले निकै विरोधाभाषपूर्ण बजेट ल्याएको बताउँदै सुनमा छुट र नुनमा कर लगाइएको भन्दै आलोचना गरेकी थिइन् । कृषि, उत्पादन र उद्योगलाई प्राथमिकता नदिइएकोमा असन्तुष्टि व्यक्त गर्दै सैंजुले देश ऋणको जालोमा फस्दै गएको टिप्पणी गरिन् । हेटौंडा कपडा उद्योगलगायतका सार्वजनिक संस्थानहरुलाई ब्युताउनुपर्ने मा उल्टो निजीकरणलाई नै प्राथमिकता दिएर सरकारले पुँजीवादलाई प्रश्रय दिएको बताइन् ।


सरकारले पुँजीवादको सट्टा समाजवाद लागु गर्दा बल्ल मात्रै वास्तविक भुइँमान्छेलाई बजेटले समेट्न सक्ने धारणा राख्दै उनले पारिश्रमिक वृद्धि र कर छुटले धनीलाई मात्र समेट्न सकेको अनि यसले मुल्यवृद्धि हुने बताइन् ।
७ प्रतिशतको आर्थिक वृद्धि र ६ प्रतिशतको मुद्रा स्फिति कायम गर्ने कुराको तादम्यता नमिलेको बताउँदै हिरामा कर नलगाउने सरकारले धनीलाई प्रश्रय दिइको दृष्टान्त पेश गरिन् ।
बागीश्वरी कलेजले अर्थतन्त्रलाई हेर्ने दृष्टिकोण विकास गर्न ठूलो भूमिका खेलेको स्मरण गर्दै कलेज आफ्नै नीति र व्यवस्थाका कारण सफल हुन सकेकोमा खुशी प्रकट गरिन् ।
वागीश्वरी कलेज अफ म्यानेजमेन्टका प्राचार्य कृष्णप्रसाद धन्छाले वि.सं. २००८ माघ २१ गते तत्कालिन अर्थमन्त्री सुवर्ण मल्लले पहिलो बजेट ल्याएको स्मरण गर्दै आगामी आर्थिक वर्षको बजेटको बारेमा विद्यार्थीहरुले निकै सिर्जनात्मक ढंगले विश्लेषण गरेको बताए ।
कर छुट दिँदा राजस्व संकलन गर्न चुनौती हुने धारणा राख्दै मध्यावधि समीक्षामार्फत बजेट फेरी संशोधन गर्न सरकार वाध्य हुने बताए । सरकारले प्रस्तुत गरेको बजेटले निम्न वर्गका जनतालाई नभई पुँजीपति र उच्च वर्गलाई लक्षित गरेर ल्याइएको टिप्पणी पनि उनले गरे ।
वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले विद्यार्थीहरूमा सिर्जनशीलता र सिर्जनात्मकता विकास गर्न हरेक वर्ष कलेजले यस्तै कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए । यस्ता कार्यक्रमले विद्यार्थीहरुलाई मात्रै नभई शिक्षकहरुलाई पनि अर्थतन्त्रको विषयमा अपडेट हुने अवसर प्रदान गर्ने उनको धारणा रहेको छ । साथै अनुसन्धान र खोजको क्षेत्रमा पनि यस्तै छलफल र अन्तरक्रियाले सहयोग पुग्ने विश्लेषण उनको छ ।
कलेजका संयोजक ज्ञान सागर प्रजापतिले विद्यार्थीहरुलाई पाठ्यक्रम र कक्षाकोठामा मात्रै सिमित नगरी अर्थशास्त्रका सैद्धान्तिक कुरामा व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको जानकारी दिए । साथै यस्ता कार्यक्रमले विद्यार्थीहरूमा बजेट र अर्थतन्त्रलाई विश्लेषणात्मक ढंगले बुझ्ने क्षमता विकास गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा अर्थशास्त्रका शिक्षक र विद्यार्थीहरुले विभिन्न कोणबाट बजेटको विश्लेषण गर्दै प्रस्तुति दिएका थिए । अर्थशास्त्रका शिक्षकहरु बालगोपाल श्रेष्ठले आ.व. २०८२, ८३ र आ.व. २०८३, ८४ को बजेटको तुलनात्मक विश्लेषणको विषयमा, मुरज दिदियाले बजेटको आलोचनात्मक विश्लेषण र पत्रकारिताका शिक्षक एवम् राजधानी दैनिकका आर्थिक पत्रकार पूर्ण भक्त दुवालले पुँजीगत खर्च र बजेटको कमजोरीसँगै चुनौतीहरूका विषयमा प्रस्तुतीकरण दिएका थिए ।
त्यसैगरी बीबीएकी विद्यार्थी अनिशा किलम्बुले बजेटमा सुचना प्रविधि र कृत्रिम बुद्धिमताको क्षेत्रमा गरिएको विनियोजन, बीबीए चौथो सेमेस्टरकी विद्यार्थी निशा कार्कीले गुणस्तरीय शिक्षामा गरिएको विनियोजन र बीबीएस प्रथम वर्षका विद्यार्थी रघु नन्दन महतोले बजेटको आलोचनात्मक र सिर्जनात्मक विषयलगायतमा प्रस्तुतीकरण दिएका थिए ।
















