भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्कालाई स्वागत
२०८३ जेठ १९ गते
भक्तपुर नगरपालिकाले भक्तपुरमा सरुवा भई आउनुभएका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्कालाई आज स्वागत तथा परिचयात्मक कार्यक्रम आयोजना ग¥यो । नगर प्रमुख प्रजापतिले नवनियुक्त प्रजिअ खड्कालाई भादगाउँले टोपी र खादाले स्वागत गर्नुभयो ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले भक्तपुरका विभिन्न समस्या समाधानमा विगतदेखि नै प्रमुख जिल्ला अधिकारीहरुसँग सहकार्य गर्दै आएको उल्लेख गर्दै केही पूर्व प्रजिअहरुले जिल्लामा सम्झनलायक काम गरेको स्मरण गर्नुभयो ।


कामले नै व्यक्तिको पहिचान स्थापित गर्ने बताउँदै उहाँले जिल्ला प्रशासन कार्यालय स्थानान्तरणको लागि आवश्यक जग्गा व्यवस्थापन गरिरहेको जानकारी दिँदै त्यसलाई कार्यान्वयनमा लान नयाँ प्रजिअबाट आवश्यक पहल हुने विश्वास व्यक्त गर्नुभयो ।
भक्तपुरलाई कार्यथलोको रुपमा ग्रहण गर्दै जिल्लाको विशिष्टता थप उजागर गर्न प्रजिअ खड्काको सक्रिय भूमिका रहने आशा व्यक्त गर्दै यहाँको स्रोत साधनको अधिकत्तम उपयोग गर्दै जनसहभागितामूलक विकासलाई भक्तपुर नपाले जोड दिँदै आएको बताउनुभयो ।
नवनियुक्त प्रमुख जिल्ला अधिकारी खड्काले स्वागतका लागि धन्यवाद व्यक्त गर्दै आफूले यसअघि पाँच जिल्लामा प्रमुख जिल्ला अधिकारीका रुपमा काम गरिसकेको जानकारी दिनुभयो । संघ, प्रदेश र स्थानीय तहमा काम गरेको आफ्नो अनुभव सुनाउँदै उहाँले एक अर्काबीचको समन्वयविना प्रभवकारी सेवा प्रवाह सम्भव नहुने बताउनुभयो ।
२८ वर्ष निजामती सेवामा बिताएको अनुभव सुनाउँदै उहाँले सानो जिल्ला भए पनि भक्तपुरमा सहज र प्रभावकारी ढंगले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सुशासन कायम गर्ने संघीय सरकारले दिएको प्राथमिकतालाई जिल्लास्तरमा कार्यान्वयन गर्ने बताउँदै उहाँले भन्नुभयो ‘हरेक काम चुनौतीपूर्ण हुन्छ, आफ्नो पहिचान जोगाउँदै सबै पक्षसँग समन्वय गरेर काम गर्नेछु ।’
कार्यक्रममा नगर उपप्रमुख रजनी जोशीले विभिन्न जिल्लामा काम गरिसकेका अनुभवी प्रशासकलाई भक्तपुरमा स्वागत गर्न पाउँदा खुशीय व्यक्त गर्दै भक्तपुरलाई आफ्नो कार्यथलो बनाएर सहकार्य र समन्वयमा काम गर्ने विश्वास रहेको बताउनुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले आफ्नो कार्यकाललाई पछिल्लो पुस्ताले स्मरण गर्नेगरी सफल बनाउन शुभकामना दिँदै भक्तपुर नगरपालिकाको काम गर्ने शैली फरक रहेको र समन्वयबाट राम्रो काम हुने उहाँले बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले जिल्लाको विकास, सुशासन र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारीको भूमिका महत्वपूर्ण रहने विश्वास व्यक्त गर्नुभयो ।
प्रमुख प्रजापतिले प्रजिअ खड्कालाई नगरपालिकाद्वारा प्रकाशित विभिन्न प्रकाशन उपहार प्रदान गर्नुभयो । कार्यक्रममा नगरपालिकाका कार्यपालिका सदस्य, शाखा प्रमुखलगायतको सहभागिता रहेको थियो ।












