भक्तपुर नगरमा स्वयंसेवकको कर्फ्यु…………..

भक्तपुर, बैशाख ४ गते
ऐतिहासिक तथा साँस्कृतिक एवं पर्यटकिय गणतव्यस्थलको रुपमा परिचित भक्तपुर नगरमा बिहिवार देखि स्वयंसेवकहरुले कफ्यू लगाए झै लक डाउनलाई कडाईका साथ कार्यान्वयनमा ल्याएको छ । लक डाउन पूर्णरुपले कार्यान्वयनका लागि भक्तपुर नगरका टोल टोलमा स्वयंसेवकहरु परिचालन भएका छन् । स्थानीय स्वयंसेवकहरुको परिचालनले भक्तपुर नगर शान्त, सफा र सुनसान देखिएको छ । कोरना भाइरसको जोखिम बढेसँगै र विस्का जात्राको माहोलमा हुलमुल हुन नदिन यो सर्तकता अपनाएको हो । विस्का जात्रा अन्तर्गत आज भक्तपुरका शक्ति पीठहरुलाई सगुन दिने दिन रहेको छ । धार्मिक आस्था र विश्वासका कारण कोरना भाइरसको जोखिमलाई पनि बेवास्था गर्दै मठमिन्दर धाउन थाले पछि यसबाट हुन सक्ने संक्रमणको जोखिमलाई ध्यान दिएर थप सर्तकता अपनाएको हो । गत बैशाख एक गते शक्तिपीठहरुमा अनियन्त्रितरुपले मानिसहरु त्रिथातन गरी भिडभाड गर्न थालेपछि सामाजिक सञ्जाल र सञ्चार माध्यमहरुबाट लक डाउन उलंघन भएको टिप्पणी भएका थिए। यसपालिको विस्का जात्रा अन्तर्गतका सम्पूर्ण पर्वलाई औपचारिकतामा सिमित गरी टोलटोलमा प्रदर्शनीमा राखिने देवदबीहरुलाई समेत मन्दिरभित्र राखिएको छ भने मठमिन्दरमा पनि लक डाउन गरिएको छ ।

घन्नाबस्ती भएको भक्तपुर नगरमा घर आँगनबाट बाहिर आउने बितिकै सडकमा हुलमुल हुने भएकाले अति आवश्यक काममा बाहेक घर बाहिर आउन नदिन तथा नियन्त्रणका लागि टोल टोलमा स्वयंसेवक परिचालन गरि लक डाउन कार्यान्वयनमा कडाइ थालिएको हो । अति आवश्यक कामका लागि घर बाहिर आउनै पर्ने अवस्थाका लागि पास कार्ड समेत घर घरमा बितरण गरेको भक्तपुर नगरपालिकाले नगरपालिकाको स्वयंसेवक ड्ेस सहितका स्वयंसेवक परिचालन गरिएको हो । स्वयंसेवकहरुले नगरका चोक, गल्लि, सार्वजनिक स्थल, मठमिन्दर, बाटोहरुमा बिजनासक औषधी पनि छर्केका छन् भने बाटो बाटोमा छेकबार लगाएर लक डाउन कार्यान्वयनमा जोड दिएको छ । स्थानीय जनप्रतिनिधी, स्वयंसेवक, सुरक्षा निकायहरुको सक्रिय सहभागितामा लक डाउनमा बिहिवार देखि कडाइ गरेको छ । सरकारले लक डाउनको समय बैशाख १५ गतेसम्म लम्ब्याउँदै वडा वडामा स्वयंसेवक परिचालन गर्ने अवधारणा ल्याएसँगै भक्तपुर नगरले आज देखि औपचारिक रुपमा स्वयंसेवक परिचालन गरिएको छ । विदेशबाट १०६ जना भक्तपुर नगर फर्किएको पहिचान गरिए पनि अहिलेसम्म यस नगरमा कोरना भाइरसको संक्रमण भने भेटिएको छैन तर घन्नाबस्ती रहेकाले संक्रमणको जोखिम भने उच्च रहेको देखिन्छ । स्थानीय समुदायका परिचित ब्यक्तिहरु नै स्वयंसेवकका रुपमा परिचालन भएपछि र समुदायमा आवश्यक सल्लाह, परामर्श र सहयोग पनि घर दैलोमै पुग्ने विश्वास जागेपछि लक डाउन कार्यान्वयन पनि प्रभावकारी देखिएको छ ।