भक्तपुर निर्वाचनको पत्रकार भेटघाटः भोली उम्मेदवार मनोनयन दर्ता

भक्तपुर निर्वाचनको पत्रकार भेटघाटः भोली उम्मेदवार मनोनयन दर्ता
भक्तपुर, माघ ५ गते
निर्वाचन कार्यालय भक्तपुरले आसन्न फाल्गुण २१ गतेको निर्वाचन बारे आज पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेको छ । कार्यालय प्रमुख प्रकाश मगरका अनुसार भोलि विहान १० बजे देखि ५ गतेसम्म प्रतिनिधी सभाको प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयबाटै हुने जानकारी दिदै आसन्न निर्वाचन सफल पार्न स्थानीय सञ्चार माध्यमको उल्लेख्य भुमिका हुने बताउनु भयो । गत माघ २ गते भक्तपुर क्षेत्र नं. १कालागि मुख्य निर्वाचन कार्यालय भक्तपुर दरवार क्षेत्र र क्षेत्र नम्वर २कालागि मध्यपुर थिमीस्थित कृषि तालिम केन्द्रको निर्वाचन कार्यालयबाट उम्मेदवारहरुको नाम दर्ता हुने बताउँदै उहाँले उम्मेदवारहरुको नाम दर्ता गर्न जाँदा प्रति उम्मेदवारले २५ जना भन्दा बढी सहभागि गराउन नहुने, राष्ट्रिय झण्डा १० र पार्टी वा निर्वाचन चिन्ह १० बटा मात्रै बोक्न पाउने बताउनु भयो । निर्वाचन कार्यालय प्रवेश गर्दा पनि उम्मेदवार र प्रस्तापक मात्रै भित्र जान पाउने उल्लेख गर्दै उहाँले अन्तिम नामाबली माघ ९ गते मात्रै प्रकाशित हुने जनाएको छ ।


कार्यालय प्रमुख मगरका अनुसार माघ ६ गते उम्मेवदवारको मनोनयन पत्र दर्ता गर्ने, मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, माघ ७ गते उम्मेदवारको विरोधमा उजुरी दिने, यसै बीच माघ ७ र ८ गते मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी निणर्य गर्ने र उम्मेदवारको नामावली प्रकाशन गर्ने छ भने माघ ९ गते उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने र अन्तमा फाल्गुण २१ ग्ते मतदान गर्ने कार्यक्रम रहेको जनाएको छ ।
२ वटा निर्वाचन क्षेत्र भएको भक्तपुर जिल्लामा मतदानकालागि ७६ मतदान स्थलहरुमा १३३ मतदान केन्द्र निधारण गरेको छ । भक्तपुर निर्वाचन क्षेत्र नं. १मा ५२०६६ पुरुष, ५४९८८ महिला गरी १ लाख ७ हजार ५४ जना मतदाताकालागि ३७ वटा मतदान स्थल र ११९ केन्द्र निर्धारण गरेको छ भने निर्वाचन क्षेत्र नं.२मा ४८ हजार ७४ पुरुष र ५० हजार २७७ महिला गरी ९८ हजार ३५६ मतदाताहरुकालागि ३९ मतदान स्थालहरुमा ११४ मतदान केन्द्र हुने पनि सो अवसरमा जानकारी दिएको छ ।
सो अवसरमा उहाँले निर्वाचान आयोगद्वारा जारी निर्वाचन आचार संहिता पूर्ण परिपालनकालागि आग्रह गर्नु भयो ।
साथै उहाँले समानुपातिक निर्वाचन प्रणाली तर्फको बन्दसूचीमा नाम समावेश भएकाका व्यक्ति प्रतिनिधी सभा सदस्य निर्वाचन ऐन २०७४को दफा ३० को उपदफा १ तथा प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४को दफा ३०को उपदफा १ को प्रतिबन्धात्मक वाक्यांश बमोजिम नाम हटेको अवस्थामा बाहेक प्रतिनिधि सभा सदस्यको पहिलो हुने निर्वाचन हुने निर्वाचन प्रणाली तर्फको उम्मेदवार हुन पाउने छैन भने प्रचार प्रसार निषेध अवधि मतदान सुरु हुने दिन भन्दा ४८ घण्टा भन्दा अगाडि अर्थात २०८२ फागुन १८ गते राति १२ बजे देखि लागू हुने छ । यसै बीच फागुण २१ गते मतदानपश्चात निर्वाचन क्षेत्रका सबै मतदान केन्द्रमा मतदान सम्पन्न भई मतदान भएका सबै मतपेटिका मतदान अधिकृतबाट प्राप्त गरी सुरक्षित रुपमा भण्डारण भएपछि निर्वाचन अधिकृतको मतगणना कार्य शुरु गर्ने छ ।