भ.बि.सङ्घकाे आयाेजनामा प्रबुद्ध लेखकहरू बीच अन्तरक्रिया कार्यक्रम
काठमाण्डाै,
भक्तपुर विकास सहयाेग सङ्घले निकट भविष्यमा प्रकाशन गर्न गईरहेकाे ” भक्तपुरका सांस्कृतिक एवम् पुरातात्विक अध्ययन ” सम्बन्धी संस्कृतिविद्, इतिहासविद् तथा बिज्ञ लेखकवर्गका महत्वपूर्ण लेखहरू समावेश गरी शाेधमूलक पुस्तक प्रकाशनकाे तयारीकाे लागि संस्कृतिविद् , इतिहासविद् , प्राज्ञिक तथा प्रबुद्ध लेखकवर्गहरू बीच काठमाण्डाै शङ्खमूलमा एक समाराेहका बीच अन्तरक्रिया कार्यक्रम भव्यतापूर्वक सम्पन्न गरेकाे छ । पृथक ढङ्गबाट सञ्चालित उक्त कार्यक्रममा संस्कृति शिराेमणी हरिराम जाेशीले “भक्तपुरका कला, संस्कृति, सम्पदाकाे परिचय, पुरातात्विक सम्बन्धी थप तथ्यलाई उजागर गर्दै पुस्तक प्रकाशन गरेकाे खण्डमा जीवन्त रहने ” धारणा व्यक्त गर्नुभयाे । त्यसैगरी पूर्व जलश्राेत सचिव एवम् सङ्घका शुभेच्छुक- लेखक भुवनेश कुमार प्रधानले ” पुस्तकमा मल्लकालिन सिक्कालगायत अन्य महत्वपूर्ण विषयहरूलाई समेटेर विविधता ल्याउनुपर्नेमा जाेड दिनुभयाे ।


त्यसैगरी सङ्घका सल्लाहकार एवम् पूर्व अध्यक्ष कृष्णलाल प्रधानले सम्पदाकाे क्षेत्रमा अझ धेरै अध्ययन गर्न बाँकी रहेकाे, लुप्त कुरालाई उजागर गर्नुपर्ने, नवपिंढीलाई विरासत थाम्ने भावि पुस्ताका रूपमा अगाडि सार्नुपर्नेे लगायत धारणा राख्नुभयाे । सङ्घका अध्यक्ष राजु मृगेन्द्र जाेशीले ” याे ऐतिहासिक पुस्तक प्रकाशनकाे लागि संस्कृति शिराेमणि हरिराम जाेशीकाे प्रेरणा मिलेकाे चर्चा गर्नुहुँदै सबैकाे साथ सहयाेग पाएर हुने याे पुस्तककाे प्रकाशन एउटा काेशेढुङ्गाकाे रूपमा रहने विश्वास व्यक्त गर्नुभयाे ।
आसन ग्रहण सहितकाे परिचयात्मक कार्यक्रममा सङ्घका पदाधिकारी तथा सदस्यहरू, सल्लाकारहरू, पुस्तक प्रकाशन समितिका सदस्यहरूलगायत २१ जना प्रबुद्ध लेखकवर्गहरूकाे सहभागिता रहेकाे थियाे । उक्त कार्यक्रममा पुस्तक प्रकाशनकाे आैचित्यबारे सङ्घका महासचिव प्रा.डा. माला मल्लले प्रकाश पार्नुभयाे भने सङ्घका सल्लाहकार एवम् पुस्तक प्रकाशन समितिका सदस्य उत्तम नारायण मल्लले सहभागी सबैलाई स्वागत गर्नुभयाे ।
खाेपृङ पत्रिकाका कार्यकारी सम्पादक एवम् प्रकाशन समितिका सदस्य राजुराम मुनंकर्मीले सहजिकरण गर्नुभएकाे उक्त कार्यक्रममा अन्य वक्ताहरू सल्लाहकार भरत जङ्गम, लेखकवर्गहरूमा प्रा. डा.बिणा पाैडेल, संस्कृतिविद् विनाेद राज शर्मा, के.के. मानन्धर र डा. काेमल फुयाँलले आ-आफ्नाे धारणा राख्नुभएकाे थियाे ।
त्यसैगरी आमन्त्रित विद्वतवर्गमध्ये हरिशरण शर्मा राजाेपाध्याय, प्रा.डा.साेम प्रसाद खतिवडा,डा.नयनाथ पाैडेल, डा. पद्म सुन्दर जाेशी, प्रा. शिव प्रसाद मुनंकर्मी, सिर्जना प्रजापति, इ. तुलसी बासुकला, राजेन्द्र श्रेष्ठले जिज्ञासा सहित आफ्नाे धारणा व्यक्त गर्नुभयाे भने प्रा.डा. गाेपाल धाैवन्जार, डा. कल्पना श्रेष्ठ, डा. सन्ध्या खनाल, डा. श्याम सुन्दर राजवंशी, इ. शरद मङ्गल जाेशी, हिक्मत डंगाेल, रामेश्वर श्रेष्ठ, निरन राजवंशी, नरेश अमात्य र गणेशराम लाछीलगायतकाे उत्साहजनक सहभागिता रहेकाे थियाे । साेही कार्यक्रममा सङ्घका सल्लाहकार प्रा. शिव प्रसाद मुनंकर्मीले पुस्तक प्रकाशन कार्यमा टेवा पुर्याउने उद्धेश्यले रू २५ हजार सहयाेग गर्ने उद्घाेष गर्नुभयाे ।












