भक्तपुरको ऐतिहासिक लक्ष्मी नरसिंहको नवनिर्मित मन्दिरको मंगलबार समुद्घाटन हुने

भक्तपुरको ऐतिहासिक लक्ष्मी नरसिंह मन्दिरको नवनिर्मितको मंगलबार समुद्घाटन हुने
भक्तपुर, जेष्ठ ५ गते
भक्तपुरको ऐतिहासिक लक्ष्मी नरसिंह मन्दिरको नवनिर्मित मन्दिरको मंगलबार समुद्घाटन हुने भएको छ । बि.सं. १८९० सालको महाभूकम्पबाट भत्केपछि जस्ताले छाएर दुई तल्लामा सिमित सो मन्दिरकोे विस्तृत अनुसन्धान पश्चात प्यागोडाशैलीमा तीन तल्लाको ऐतिहासिक मन्दिरको रुपमा २०७६ साल देखि परम्परागतशैलीमा निर्माण कार्य थालेको हो । नवर्निर्मित लक्ष्मी नरसिंह मन्दिर पूर्वतर्फको जगमा ऐतिहासिक पाताल गणेश समेत रहेको छ । सो मन्दिरको ऐतिहासिकतालाई जीवन्त राख्दै भक्तपुर नगरपालिकाले स्थानीय जनता र सम्पदा विज्ञहरुको सहयोगमा निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आजै मन्दिर र उद्घाटन समारोहको तयारीको स्थलगत निरिक्षण गरेको छ ।


नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान विजुक्छेको प्रमुख आतिथ्यतामा मंगलबार रिवन काटेर उद्घाटनको तयारी गरेको मन्दिर निर्माण उपभोक्ता समितिका अध्यक्ष न्हुछेंराम भेलेले जनाएको छ । भक्तपुर नगरपालिकाको ७ करोड ७७ लाख ११ हजार ८ सय ३८ रुपियाँ ५६ पैसाको लागत इष्टिमेटमा निर्माण भएको सो मन्दिरको निर्माण सम्पन्न मूल्यांकन ५ करोड १८ लाख ३८ हजार ९४ रुपियाँ ५२ पैसा भएपनि कूल खर्च रकम जम्मा ४ करोड ८३ लाख ४ हजार ३८ रुपियाँ ८० पैसा रहेको अध्यक्ष भेलेले जनाएको छ ।
मन्दिर उद्घाटनको अवसरमा छेमा पूजा र ब्वःछाय्गु पर्व पनि आयोजना हुने भन्दै उपभोक्ता समितिका विजय लोहलाले मन्दिर पुनर्निमाण गर्दा ७५० जनाले श्रमदान गरेको तथा २२ लाख ६६ हजार ३ सय ३८ रुपियाँ ५५ पैसा आर्थिक सहयोग प्राप्त भएको पनि जनाएको छ । यसै बीच विभिन्न दाताहरुले झिंगति तथा परम्परागत मन्दिरका सामग्रीहरु समेत दान भएकोले नगरपालिकाको लागत इष्टिमेट भन्दा धेरै कम लागतमा मन्दिर निर्माण कार्य सम्पन्न भएको बताए । उपाभोक्ता समितिका अध्यक्ष भेलेका अनुसार समुदायको श्रमदान र सहयोग प्राप्त भएकाले लागत इष्टिमेटको ६३ प्रतिशत मात्रै खर्चले मन्दिर निर्माण कार्य सम्पन्न गर्न सकिएको छ । मन्दिरको जग देखि गजुरसम्म नयाँ सामगी कलात्मक शैलीमै निर्माण गर्नुपर्दा लागत पनि बढेको तथा निमार्ण कार्यकाल पनि लामो भएको उहाँले बताए ।
निर्माण र उद्घाटन पश्चात पनि मन्दिर संरक्षण र सञ्चालनका लागि विशेष तयारी रहेको भन्दै उद्घाटन समारोहसँगै मन्दिर निर्माणको शैली, मन्दिरको इतिहास एवं सहयोगिहरुको नामाबली, तथा खर्च विवरण समेत समेतिएर पुस्तक प्रकाशन गर्ने पनि अध्यक्ष भेलेले जनाएको छ।