भक्तपुर,चैत्र १९ गते
लक डाउनको बेला अति आवश्यक काममा हिड्डुल गर्न नगरवासीलाई घर घरमा पुगेर प्रदान गरेको अनुमति पत्र दुरुपयोग नगर्न भक्तपुर नगरका जनप्रतिनिधीले आग्रह गरेका छन् । कोरना भाइरसको विश्वव्यापी प्रभाव र जोखिमलाई मध्यनजर गरी सुरक्षित व्यवहारका लागि मंगलबार देखि भक्तपुर नगरवासीहरुलाई वितरण गरेको अनुमति पत्रलाई नगर बाहिर सम्म पुगेर अनावश्यक रुपमा प्रयोग गर्दा प्रहरी कार्वाहीमा समेत पर्ने भन्दै भनपा छ का वडाध्यक्ष हरिराम सुवालले अनुमति पत्रलाई दुरुपयोग नगर्न आग्रह गरेका हुन । अनुमति पत्र पाउने बितिकै घर बाहिर आउन नमिल्ने भन्दै बिहान बेलुकी किनमेलका लागि र अति आवश्यक काममा जानको लागि मात्र प्रयोग गर्न आग्रह गरेका हुन । दैनिक उपभोग्य वस्तु घर आँगनमै किनबेच गर्न बजार ब्यबस्था समेत गरेकोले अति आवश्यक काममा सुरक्षित तरिकाले हिड्डुलका लागि मात्र सो कार्ड वितरण भएको भन्दै उहाँले अनुमति पत्रको दुरुपयोग भयो भने सडकमा हुलमुल भई कोरना भाइरसको जोखिम पनि बढ्ने भएकाले सुरक्षित व्यबहार गर्न वडाबासीहरुलाई आग्रह गरेका हुन ।

भक्तपुर नगरका प्रत्येक घर परिवारलाई एउटा अनुमति पत्र सहित कोरना भाइरसबाट सुरक्षित कसरी हुने भन्ने सम्बन्धी जानकारी भएको पर्चा, माक्स र सावुन समेत वितरण भइरहेको उहाँले बताउनु भयोे । बिहिवारसम्ममा प्रत्येक अनुमति पत्र घर घरमा वितरण कार्य सम्पन्न गरी सक्ने भन्दै भनपा ३ का वडाध्यक्ष एवं बजार अनुगमण समितिका संयोजक राजकृष्ण गोराले अनुमति पत्र पाएपछि वडाबासीहरुलाई लकडाउनको बेला पनि जीविका चलाउन सहज भएको बताए । अति आवश्यक काममा जान पनि वडाबासीहरुलाई एकातिर कोरना भाइरस संक्रमणको डर अर्कोतर्फ लक डाउनमा प्रहरी प्रशासनको चेतावनी बीच घरमै रहनु परेकाहरुकालागि निकै उपयोगि र प्रभावकारी रहेको बताए । व्यासीकी सुन्दरी अवाल लक डाउन भए देखि घरबाट निस्कन पाएकी छैनन् । घर आँगनमै तरकारी बेच्न आएको बेला मात्र घर आँगनमा पाइला टेकेको बताउँदै अनुमति पत्र पाएपछि अब बजार गएर किनमेल गर्न सकिने भएकोमा खुसि भइन । उनका छोरा सुमन अवालले अनुमति पत्र वितरण गरेर लक डाउनको बेला नगरपालिकाले धेरै राम्रो काम गरेको बताए । बजारमा हुलमुल नहुने गरी घरबाट जो गए पनि एकजना मात्र बाहिर जाने र यसको दुरुपयोग नहुने गरी सहज जीवनयापनकालागि सदुपयोग गर्ने उनले योजना सुनाए । अवाल परिवारले निमन्त्रणा कार्डका साथ साबुन, माक्स, कोरना भाइरसबारे जानकारीमूलक पर्चा समेत पाएको जनसञ्चार खवरलाई देखाएका थिए ।

नगरपालिकाका जनप्रतिनिधी, कर्मचारी र स्थानीय स्वयंसेवकहरुको टोलीले लक डाउनमा सुरक्षित व्यवहारका लागि अनुमति पत्र वितरण गरेको स्वयंसेवक लक्ष्मिनारायण सुवालले बताए । लकडाउनको क्रममा बाहिर आएकाहरुलाई स्वस्थानमै २।३ घण्टासम्म सार्वजनिक स्थानमा उठाई, बसाई वा सुताई सजाय दिन्दै आएको बेला अनुमति पत्र पाएपछि वि सुवाललाई पनि अति आवश्यक काममा जानको लागि सजिलो भएकोमा नगरपालिकाप्रति आभार ब्यक्त गरे । कतिपय अनुमति पत्र बुझेका नगरवासीले सो पत्रको नाममा जहाँतहि हिडेर यसको दुरुपयोग गर्यो भने कोरना भाइरसको संक्रमणमा र लक डाउन कार्यान्वयनमा चुनौति हुन सक्नेमा जनप्रतिनिधीहरुले त्यस्ता नगरवासीलाई चेतावनी दिइ आएको अर्का जनप्रतिनिधी शिव बालाले बताए ।













