पत्रकार हत्या, आक्रमणप्रति दबुको भत्सना
भक्तपुर, चैत्र १५ गते
नेवाः राष्ट्रिय पत्रकार दबुले आज भएको हिंसात्मक घतनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। देशभरका नेवाः समुदायका पत्रकारहरुको संस्थाको रुपमा रहेको दबुले पत्रकार सुरेश रजकको आन्दोलनकारीले लगाएको आगजनीबाट मृत्यु भएको भन्दै दोषीलाई कार्वाहीको माग गरेको छ । दबुका महासचिव के.के. मानन्धरले आज विज्ञप्ति जारी गर्दै आज भएको आन्दोलनको नाममा सञ्चार गृहको भवनमा आगो लगाउने, हुलहुज्जत गरेर भवनभित्र प्रवेश गर्न नपाएपछि ढुंगामुढा गर्ने, सवारी साधनमा तोडफोड गर्ने र सञ्चारकर्मीलाई आतंकित तुल्याउने कार्य गरेकोमा पत्रकार राष्ट्रिय दबू आपत्ती जनाउँदछ ।

विज्ञप्ति
आजको तिथि ११४५ चिल्लागा चतुर्दशी ९२०८१ चैत १५ गते० शुक्रबार पूर्व राजा समर्थकहरुको हिंसात्मक शक्ति प्रदर्शनको क्रममा काठमाडौं तीनकुने क्षेत्रमा न्यूज रिपोर्टिङ गरिरहेका नेवाः पत्रकार सुरेश रजकको मृत्यु भएकोप्रति देशभरका नेवार पत्रकारहरुको साझा संस्था नेवाः पत्रकार राष्ट्रिय दबूको गम्भीर ध्यानाकर्षण भएको छ । पूर्व राजा समर्थित आन्दोलनको जनकमाण्डर बनेका दुर्गा प्रसाइँ नेतृत्वको उग्र भीडले प्रहरीसँग झडप हुँदा आगजनी गरेको भवनमा आगोमा जलेर पत्रकार रजकको मृत्यु भएको प्रहरीले जनाएको छ । सोही भीडले विभिन्न सञ्चार गृहको भवनमा आगो लगाउने, हुलहुज्जत गरेर भवनभित्र प्रवेश गर्न नपाएपछि ढुंगामुढा गर्ने, सवारी साधनमा तोडफोड गर्ने र सञ्चारकर्मीलाई आतंकित तुल्याउने कार्य गरेकोमा पत्रकार राष्ट्रिय दबू आपत्ती जनाउँदछ ।
जनतालाई सुसूचित गराउने र विचार निर्माणमा सघाउने प्रेस जस्तो भरपर्दो सञ्चार संस्थाहरू र सञ्चारकर्मीको ज्यानै जाने गरी भएको यो प्रकारको हमला घोर आपत्तिजनक, निन्दनीय र भत्र्सनायोग्य छ ।
संविधान प्रदत्त विचार र अभिव्यक्ति स्वतन्त्रता तथा विना हातहतियार शान्तिपूर्वक भेला हुनपाउने स्वतन्त्रताको उपहास गर्दै भएको अराजक गतिविधि, आगजनीप्रति आपत्ति जनाउँदै शान्तिपूर्ण प्रदर्शन गर्ने संवैधानिक अधिकारको पक्षमा पत्रकार राष्ट्रिय दबू सदैव छ । तर, आन्दोलनको नाममा सञ्चारकर्मीको ज्यानै जाने, प्रेसलाई आतंकित र त्रसित बनाउने कार्य किमार्थ स्वीकार छैन÷हुँदैन । यस्ता हर्कतमा संलग्न जो कोही भए पनि तत्काल कानुनी कठघरामा उभ्याएर क्षतिपूर्तिसहितको दण्ड सजाय दिन पत्रकार राष्ट्रिय दबू सरकारसँग माग गर्दछ । साथै, क्षति भएका सञ्चार माध्यमलाई यथोचित क्षतिपूर्ति दिन, सञ्चार गृह र सञ्चारकर्मीको सुरक्षामा गम्भीर हुन आग्रह गर्दछ ।
केके मानन्धर
महासचिव,
नेवाः पत्रकार राष्ट्रिय दबू













