पत्रकार हत्या, प्रेसमाथिको आक्रमणको भत्सना, दोषीलाई तत्काल कार्वाहीको माग
काठमाण्डौ, चैत्र १५ गते
नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले आज भएको पत्रकार हत्या, प्रेस जगतमाथिको आक्रमण र सार्वजनिक तथा निजी सम्पतिमाथि भएको आगजनीको निन्दा र भत्सना गरेको छ । तिनकुनेमा राजावादी समूहले गरेको प्रदर्शनकाक्रममा नेपाली प्रेस जगतमाथि भएको आक्रमणप्रति संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । आन्दोलनकारी समूहको आगजनीबाट एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको जलेर निधन हुनु दुःखद भएको भन्दै कान्तिपुर र अन्नपूर्णपोष्टको कार्यालयलाई निशाना बनाएर ढु्ंगामुढा तथा आगजनीको प्रयास गरेको प्रति आपति जनाउँदै उपत्यका प्रदेश समितिका अध्यक्ष तेनिस रोकाले एक प्रेस विज्ञप्ति जारी गर्दै पत्रकारको हत्या, प्रेस जगतमाथिको आक्रमण र सार्वजनिक तथा निजी सम्पत्तिमाथि भएको आगजनीको निन्दा र भत्र्सना गरेको हुन् । साथै दोषीलाई तत्काल पक्राउ गरी कारबाहीको माग समेत गरेको हो ।

प्रेस विज्ञप्ती
काठमाडौंको तिनकुनेमा राजावादी समूहले गरेको प्रदर्शनका क्रममा नेपाली प्रेस जगतमाथि भएको आक्रमणप्रति नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिको गम्भीर ध्यानाकर्षण भएको छ ।
आन्दोलनकारी समूहको आगजनीबाट एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रजकको जलेर निधन भएको दुःखद खबर प्राप्त भएको छ । जलिरहेको भवनमा मानिस रहेको सूचना दिँदा पनि सुरक्षा निकायले उद्धार नगरेको गुनासो छ । आन्दोलनकारी समूहले कान्तिपुर र अन्नपूर्णपोष्टको कार्यालयलाई निशाना बनाएर ढुंगामुढा तथा आगजनीको प्रयास गरेका छन् ।
उपत्यका प्रदेश समिति एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकारको हत्या, प्रेस जगतमाथिको आक्रमण र सार्वजनिक तथा निजी सम्पत्तिमाथि भएको आगजनीको निन्दा र भत्र्सना गर्दछ । दोषीलाई तत्काल पक्राउ गरी कारबाहीको माग समेत गर्दछौं । साथै, प्रदेश समिति राज्यको चौथो अंग मानिएको नेपाली प्रेस जगतको सुरक्षामा गम्भीर बन्न सुरक्षा निकाय र सरकारसँग जोडदार माग गर्दछ । प्रदेश समिति सम्भावित घटनालाई मध्यनजर गर्दै नेपाली सञ्चारमाध्यमको कार्यालयहरु रहेका स्थानमा सुरक्षा निगरानी बढाउन र स्वतन्त्र र भयरहित ढंगले समाचार संकलनको वातावरण निर्माण गर्न समेत माग गर्दछ । कफ्र्युका कारण बाटोमा रोकिएका नागरिकलाई स्कटिङ गरेर गन्तव्यसम्म पुर्याउनसमेत सरकारको ध्यानाकर्षण गराउँदछौं ।
साथै, सञ्चारकर्मीहरुलाई आन्दोलनका क्रममा विशेष सुरक्षा सावधानी अपनाएर मात्र समाचार संकलन गर्न र परिचय पत्र र सम्भव भए प्रेस अंकित ज्याकेट लगाएर मात्र समाचार संकलन गर्न उपत्यका प्रदेश समिति अनुरोध गर्दछ ।
नेपालको संविधानको प्रस्तावनमा नै जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, प्रेस स्वतन्त्रता, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा कानुनी राज्यको अवधारणा लगायतका लोकतान्त्रिक मूल्य र मान्यतालाई अवलम्बन गरी समाजवादको आधार निर्माण गर्न प्रतिबद्ध भनि उल्लेख गरिएको छ । उपत्यका प्रदेश समिति नेपालको संविधानले निर्दिष्ट गरेका प्रस्तावना र सिद्धान्तप्रति प्रतिवद्ध रहेको समेत स्पष्ट गराउन चाहन्छं ।
टेनिस रोका
अध्यक्ष












