सिद्धिस्मृति अस्पतालको नयाँ भवनको आज उद्घाटन हुने

सिद्धिस्मृति अस्पतालको नयाँ भवनको आज उद्घाटन हुने
भक्तपुर, चैत्र १ गते
सिद्धिस्मृति प्रतिष्ठानद्वारा सञ्चालित सिद्धि स्मृति महिला तथा बाल अस्पतालले आज नयाँ भवनको उद्घाटन गर्ने भएको छ । अस्पताल प्राँगणमै नवर्निमित सो भवनको आज समुद्घाटनको तयारी भएको प्रतिष्ठानका अध्यक्ष श्यामसुन्दर धौभडेलले जनाएको छ । महिला तथा बाल विशेषज्ञ अस्पतालको रुपमा विकास भइरहेको सो अस्पतालको नवनिर्मित भवनबाट थप सेवा विस्तार हुने भएको छ । विभिन्न राष्ट्रिय अन्तराष्ट्रिय दातृ निकाय, सहयोगी संघ संस्था एवं सहयोगी व्यक्तित्वहरुको सहयोगबाट सो भवन निर्माण भएको अध्यक्ष धौभडेलले जनाएको छ ।


नवनिर्मित भवनबाट सुविधा सम्पन्न स्वस्थ्य सेवा दिन थप सामाग्री जडान गर्नुपर्ने आवश्यकतालाई महसुस गर्दै उहाँले थप सहयोगकालागि आह्वान पनि गरेको छ । सामुदायिक अस्पतालको रुपमा सेवारत सो अस्पतालसँगै सिद्धि शालिग्राम वृद्धाश्रम, बालगृहहरु समेत सञ्चालन गर्दै आएको छ । अध्यक्ष धौभडेलका एक्ला छोरा सिद्धि धौभडेलको सडक दुर्घटनाबाट निधन भएपछि उनकै स्मृतिमा सिद्धि स्मृति प्रतिष्ठानले सिद्धिस्मृति महिला तथा बाल अस्पताल स्थापना गरेको थियो । आज भन्दा ३२ वर्ष अगाडीबाट सुरु भएको सिद्धिस्मृति प्रतिष्ठानले बाराही स्थानमा स्वास्थ्य केन्द्र खोले स्वास्थ्य सेवा दिदै अहिले विशेषज्ञ अस्पतालको रुपमा विकास गरेको हो । आज उद्घाटन हुने भवनको नाम आर्ट अफ सिद्धि स्मृति हस्पितल राखिएको छ ।