सूनपाको नवर्निमित भवनको आज उद्घाटन

सूनपाको नवर्निमित भवनको आज उद्घाटन

भक्तपुर, माघ १४ गते
देश नै रहला कि नरहलाको अवस्थामा पुगेपछि कांग्रेस र एमाले मिलेर आफू प्रधानमन्त्री भएको उल्लेख गर्दै प्रधानमन्त्री केपी ओलीले सूर्यविनायक नगरपालिकाको नव निर्मित भवनको आज उद्घाटन गरेका छन् । नवनिर्मित भवन प्रांगण, कटुञ्जेमा आयोजित उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले अमेरिकाले सहायता रोके जस्तै बैदेसिक सहयोग रोकिए पनि देश समृद्धिको बाटोमा हिडाउन आन्तरिक तथा बाह्य पर्यटन प्रवर्धन गर्न आवश्यक भएकोमा जोड दिएका थिए ।


देश विकासकालागि राम्रो प्रणालीको आवश्यकतामा जोड दिदै प्रधानमन्त्री ओलीले राम्रो शासन प्रणालीको विकासकालागि देशमा पटक पटकको जनआन्दोलन भएको स्मरण गरेका थिए । गर्ने खालको पार्टी सरकारमा गयो भने विकास हुने नभए नहुने भन्दै प्रधानमन्त्री ओलीले देश तहस नहस हुनबाट जोगाउन, देशलाई अप्ठेरोबाट मुक्त गर्न, लोकतन्त्रलाई सुद्धृत पार्न आफ्नो सरकारले काम गर्ने बताए ।
सरकार आजै ढल्छ, भोली नै ढल्छ भन्ने हल्लाको पछि नलाग्न आग्रह गर्दै उनले दुईतिहाइको सरकारको संकल्प अगाडि छाति पिताईको कुनै औचित्य नरहने बताए । प्रधानमन्त्री ओलीले भने मेरो सरकारलाई कांग्रेसको पूर्ण समर्थन छ, अव प्रधानमन्त्री बन्ने शेयरवहादुर देउवालाई पनि एमालेको पूर्ण समर्थन रहने छ । अव देशलाई स्थायित्व, स्थीरता र बलियो विकसित देश बनाउनेमा लाग्नुपर्छ ।
पूर्व उद्योग मन्त्री महेश बस्नेतले आफूले जस्तो भक्तपुरको विकास गर्न कसैले नसकेको दाबी गर्दै आफूले सूर्यविनायक नगरमा विकासको लहर ल्याएपनि, केपी ओलीबाट टिकट पाएपनि निर्वाचनबाट हार्नुपरेपछि विकास निर्माण ओझेलमा परेको बताए भने सांसद दुर्लभ थापाले विकास निर्माण भनेको कुनै व्यक्ति विशेषबाट नहुने उल्लेख गर्दै विकास निर्माणका लागि मजदुर किसान सहित सबैको साथ चाहिने बताएका थिए । जनताको शिक्षा, स्वस्थ्य र रोजगार सृजना गरेर विकासको आधार तयार हुने भन्दै सांसद थापाले महादेव खोलाको जलाधार क्षेत्र र प्राणी उद्यानको विकासले भक्तपुरमा थप समृद्धि हुने धारणा राखेका थिए । सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले ६ रोप्नी ११ आना ३ डाम क्षेत्रफलमा भ्याट बाहेक २९ करोड ७२ लाख ९३ हजार ३ सय ४५ रुपियाँ ३४ पैसाको लागत इष्टिमेट भएपनि करिब २१ करोडमा करोनोको कहर बीच थप व्ययभार नपर्ने गरी भवन निर्माण सम्पन्न गरेको बताएका थिए ।