भक्तपुर नगरमा नवदुर्गा गणको ङालाकेगु (माछा समाउने) जात्रा आजबाट सुरु
भक्तपुर, माघ २ गते
भक्तपुर नगरमा नवदुर्गा गणको ऐतिहासिक माछा समाउने अर्थात ङा लाकेगु जात्रा आजबाट सुरु भएको छ । हरेक वर्ष माघ २ गते देखि भक्तपुर नगरका २१ टोलहरुमा क्रमिकरुपमा माछा समाउने जात्रा आयोजना हुँदै आएकोे वदुर्गा नाँच व्यवस्थापन समितिका सल्लाहकार नारायणमान बनमालाले जनाएको छ । मल्लकालिन सभ्यतालाई जीवन्त राख्दै नवदुर्गा गणले समाजिक, पारिवारिक तथा आर्थिक एवं व्यक्तिगत कार्यलाई कसरी व्यवस्थित गर्नुपर्छ भन्ने सचेनतामूलक सन्देशहरुलाई समुदायमा धार्मिक तथा साँस्कृतिक रुपले प्रस्तुत गर्दै नवदुर्गा गणले आदर्श समाज निर्माणमा टेवा पुर्याउदै आएको उहाँले बताए ।


१९ देवगण मध्ये १३ देवगणको मुकुण्डो सहितको नाँचगाण हुने भएपनि सिमडुम र स्वेत भैरवले मात्रै ङा लाकेगु अर्थात माछा समाउने जात्रा चलाउने परम्परा रहेको उल्लेख गर्दै सिमडुमलाई बाल कलाकारको रुपमा बालमैत्री संस्कृतिमार्फत बालबालिकाहरुलाई मनोरञ्जनसँगै आत्मनिर्भरताको पाठ सिकाई रहेको उहाँको भनाई छ भने स्वेतभैरवले पारिवारिक सम्बन्ध, झैझगडा ताथ आपसी सहिस्नुतालाई नाँच र अभिनयमार्फत समाजलाई मार्गनिर्देशित गर्दै आएको पनि उहाँको विश्लेषण छ । यसै भएर पनि अहिलेको २१ औं शताब्दीसम्म पनि नवदुर्गा संस्कृतिको महत्व दिनप्रतिदिन बढ्दै आएको उल्लेख गर्दै नवदुर्गाको सभ्यता काठमाण्डौ, देखि दोलखासम्म पनि रहेको ईतिहासिक कथन रहेको चर्चा गर्दै नवदुर्गा गण मल्लकालिन सभ्यता भएपनि के कसरी यो सभ्यताको सुरु भएको र यसको संस्कृति र सभ्यता कहाँसम्म थियो भन्ने कुरा अझै प्रष्ट हुन बाँकी रहेको उहाँले बताए ।
जनसञ्चार खवरसँग कुराकानी गर्दै सल्लाहकार बनमालाले वर्षदिनमा विजया दशमी देखि ८ महिना मुकुण्डो लगाएर नवदुर्गा गणले आफ्नो संस्कृति र सभ्यतालाई प्रस्तुत गर्ने र अन्य ४ महिना मुकुण्डोबिहिन भएर पनि जनताको धार्मिक एवं साँस्कृतिक धरोहरको रुपमा विभिन्न सांस्कृतिक गतविधि भइरहेने बताए । आपत विपद्मा पनि नवदुर्गा गणको तान्त्रिक एवं धार्मिक महत्व रहेको उल्लेख गर्दै उहाँले नवदुर्गा गणको नाँचसँगै बोलिने भाषाहरुले आम नागरिक एवं भक्तजनलाई सचेतना दिदै आएको उहाँको विश्लेषण छ ।
भक्तपुर नगरमा आजबाट सुरु भएको माछा समाउने जात्रा भक्तपुर नगरका २१ टोलमा तथा धुलिखेल, बनेपा, साँखु र काठमाण्डौ गरी थप ११ स्थानमा देखाउँदै आएको छ ।













