लिवालीमा दुब्यर्सनी बढेपछि युवाहरुको भूमिका खोजियो !
भक्तपुर, श्रावण ३२ गते
चौधवटा कलेज तथा विद्यालयहरुका हजारौ विद्यार्थीहरु पढ्ने लिवाली क्षेत्रमा दुब्र्यसनीको संख्या बढ्न थालेकोप्रति भक्तपुर नगरपालिका वडा नं. ८ ले सरोकारवालाहरु बीच अन्तरक्रिया गरेको छ । सो क्षेत्रमा तुलनात्मक रुपमा अन्यत्र भन्दा बढी दुब्र्यसनी भेटिनु, चोरी चकारी बढ्नुले आज युवा विद्यार्थी एवं अभिभावक समुदाय आफै पनि सचेत हुुनुपर्नेमा जोड दिदै भनपा ८ले आज लागु पदार्थको दुव्र्यसनीबाट टाढा राख्न युवाहरुको भूमिका बारे अन्तरक्रिया कार्यक्रम आयोजना गरेका हो ।
वडा कार्यालय लिवालीको सभाहलमा आयोजित सो अन्तरक्रियामा बोल्दै नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईले केटाकेटीहरुको शारीरिक र मानसिक विकाससँगै विपरित लिंग प्रति आकर्षित हुनु स्वभाविक भए पनि दुव्र्यसनी र अपराधिक गतिविधिमा लाग्नबाट बचाउन अभिभावकको महत्वपूर्ण भूमिका हुने कुरामा जोड दिदै उहाँले आफ्नो छोरा छोरीहरुलाई पढाइमा मात्रै सिमित गर्दा पनि विभिन्न विकृतिमा फस्ने गरेको उदाहरणहरु प्रस्तुत गर्नु भयो । बालबालिकाहरुको नियमित व्यवहारमा परिवर्तन आयो कि आएन?, अध्ययन राम्रो गरिरहेको छ कि छैन ?भन्ने विषयमा अभिवावकले आफ्ना छोराछोरीको निरन्तर निगरानी राख्नुपर्ने चर्चा गर्दै उहाँले पूजीवादी व्यवस्थामा यस्तो विकृतिहरु आउनु स्वाभाविक भएकाले समाजवादी व्यवस्थाका लागि काम गर्नुपर्नेमा जोड दिनु भयो ।


कार्यक्रममा महानगरीय प्रहरी परिसर जगाति वृत्तका प्रहरी वरिष्ठ नायब निरिक्षक चिरंजिबी न्यौपानेले युवाहरु दुव्र्यसनीमा फस्न नदिन समुदायले प्रहरीलाई सहयोग गर्नुपर्नेमा जोड दिदै त्यस्तो दुव्र्यसनीमा लागेको देख्ने बितिक्कै प्रहरीलाई जानकारी गराउन आग्रह गर्नु भयो । उहाँले त्यस्तो घटनाको जानकारी पाएको ५ मिनेट भित्रै प्रहरी परिचालन हुने उल्लेख गर्दै पछिल्लो घटनाक्रमले लिवाली क्षेत्रमा दुव्यर्सनी र चोरीको घटना बढेकाले समुदायको बीचमा यस विषयमा अन्तरक्रिया गर्नु सान्दर्भिक भएको बताउनु भयो ।
विश्व युवा दिवसको सन्र्दभमा आयोजित सो कार्यक्रममा पूर्व जनप्रतिनिधी महेन्द्र खायमलीले जनताका छोरा छोरीहरुको व्यवहार परिवर्तनमा ध्यानदिन नसक्दा दुव्र्यसनी बढेको पाइएको उल्लेख गर्दै त्यस्तो खवर पाउने बितिक्कै सम्झाई, बुझाई गर्दा पनि नचेतिकाहरुलाई प्रहरीलाई समेत बुझाएको उदाहरणहरु प्रस्तुत गर्नु भयो । मापसे चेकिङमा देखिने भएपछि गाजा खाने लत बढेको चर्चा गर्दै उहाँले दुव्र्यसनीले नदेखिने गरी जनताका छोरा छोरीहरुलाई फसाइरहेको पाइएकाले यस विषयमा समुदायस्तरमै व्यापक छलफल गर्नुपर्नेमा जोड दिनु भयो ।


वडाध्यक्ष केपी कोजूले टोल टोलमा भट्टि, रक्सिका पसलहरु बढेसँगै दुव्र्यसनी बढेको चर्चा गर्दै समुदायमा लुकेर रहेका दुव्र्यसनीहरुलाई समेत खोजेर प्रहरी र समुदाय मिलेर बढ्दो दुव्र्यसनी नियन्त्रणमा वडाले भूमिका खेल्दै आएको बताउनु भयो भने अन्तरक्रियामा स्वागत गर्दै वडासदस्य रामसुन्दर बासीले युवाहरु दुव्र्यसनीमा फस्नु र अपराधिक गतिविधि बढ्नुका कारणहरु तथा रोकठामका उपायहरु बारे धारणा व्यक्त गरेका थिए । वडा सदस्य सुमित्रा बोहजूले कार्यक्रम सञ्चालन गरेको थियो ।















