दैलेखमा एमसीसी सम्झौता खारेजीको माग

दैलेख, माघ १० । नेपाललाई साम्राज्यवादीहरुको युद्धमैदान बनाउने एमसीसी
सम्झौता खारेजीको माग गर्दै नेपाल मजदुर किसान पार्टीले शुक्रबार जिल्लाको
सदरमुकाममा विरोध प्रदर्शनको आयोजना गरेको छ ।
जिल्लाको ठाउँठाउँमा जनचेतनामुलक कार्यक्रम गर्दै शुक्रबार दैलेख बजार
पुगेका पार्टी कार्यकर्तासमेतको सहभागितामा देवकोटा चोकबाट सुरु विरोध
प्रदर्शनमा अमेरिकी साम्राज्यवाद मुर्दावाद, भारतीय विस्तारवाद मुर्दावाद, असमान
सन्धि खारेज गर, लिम्पियाधुरा हाम्रै हो, भारतीय सेना कालापनी छोडलगायतका
नारा लगाइएको थियो ।


नगर परिक्रमा पछि आयोजित सभामा बोल्दै नेमकिपाका केन्द्रीय सदस्य
सरोजराज गोसाईले नेपालको सार्वभौमिकता रक्षाको निम्ति नेपाली जनता
एकढिक्का हुनुपर्ने धारणा राख्नुभयो । उहाँले हिन्द प्रसान्त रणनीतिअन्तर्गत
एमसीसी भएको भन्दै अब अमेरिकी साम्राज्यवादले नेपालमा परेड खेल्ने खतरा
रहेको बताउनुभयो । उहाँले संरा अमेरिकाले आफ्नो रक्षा मन्त्रालयअन्तरगत
हिन्द प्रसान्त सेनाको नेतृत्वमा नेपालमा स्थल सेना बनाउन खोजिएको भन्दै
छिमेकी चीनविरुद्धसमेत लक्षित एमसीसी सम्झौता खारेजीको माग गर्नुभयो ।
केन्द्रीय सदस्य गोसाईले लिम्पियाधुरामा नेपाली झण्डा अविलम्व फहराउनु
पर्ने भन्दै भारतले नेपाली भूमि समेटेर तयार पारेको नक्सा खारेजीको निम्ति
अन्तर्राष्टिय अदालत जानुपर्ने तर्क गर्नुभयो । उहाँले कूटनीतिक पहलबाटमात्र
समस्याको समाधान नहुने बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् दैलेख जिल्ला अध्यक्ष जग्यबहादुर शाहीले
नेमकिपाले नेपालको राजनीतिक परिवर्तनमा उल्लेखनीय योगदान गरेको इतिहास
स्मरण गर्दै गाउँगाउँका जनता शासक दलहरुप्रति रुष्ट भएको बताउनुभयो । उहाँले
जनताको राजनीतिक चेतना उठाउन नेमकिपा सक्रिय भएको भन्दै एक दिन जनताको
विजय सुनिश्चित छ भन्नुभयो ।
नेमकिपा, दैलेख जिल्ला समितिले पार्टीको ४६ औं स्थापना दिवसको
अवसरमा माघ ७ गतेबाट जिल्लाका दुवै निर्वाचन क्षेत्रमा अलगअलग राजनीतिक चेतना
अभियान सञ्चालन गरेको थियो ।
यसै सिलसिलामा डुंगेश्वर गाउँपालिका, डुंगेश्वर र चुप्रामा माघ ७ गते
कोणसभा गरेको थियो । त्यस्तै लाँकुरीमा कार्यकर्ता प्रशिक्षण सम्पन्न
गरिएको थियो । माघ ८ गते डुंगेश्वर गापाकै देउली र भगवतीमाइ गापाको
वडाभैरव मावि र बेस्तडामा माघ ८ र ९ गत कोणसभा भएको थियो । जिल्लाको
क्षेत्र नं १ को अभियानको नेतृत्व जिल्ला अध्यक्ष जग्यबहादुर शाहीले गर्नुभएको
थियो ।
त्यस्तै क्षेत्र नं २ को अभियानको नेतृत्व नेमकिपाका केन्द्रीय सदस्य
बजिरसिं विकले गर्नुभएको थियो । क्षेत्र नं २ को तिलेपाटाबाट सुरु
अभियानअन्तर्गत माघ ६ गते तिलेपाटा र दोस्रो ठाँटिकाँध, तेस्रो दिन
चामुण्डाविन्द्रासैनी र चौथोे दिन दुल्लु नपामा कोणसभाहरु भएका थिए ।
कार्यक्रममा सहभागी वक्ताहरुले सार्वभौमिकता रक्षाको आन्दोलन अझ तीव्र
पार्नुपर्ने धारणा राख्नुभएको थियो