औलो बारे भक्तपुरमा अन्तरक्रिया

औलो बारे भक्तपुरमा अन्तरक्रिया
भक्तपुर, बैशाख १२ गते
“शून्य औलो अवको थालनी नवीनतम कार्य, कार्यान्वयनमा लगानी” नाराका साथ आज विश्व औलो दिवस मनाएको छ । स्वास्थ्य कार्यालय भक्तपुरले जिल्लाका प्रमुख स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका लगायत संचारकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रम गरी विश्व औलो दिवस मनाएका हुन । सो अन्तरक्रिया कार्यक्रममा वरिष्ठ जनस्वास्थ्यविद् कृष्णबहादुर मिजारले औलो रोगको अवस्था र निवारणका लागि भइरहेका प्रयासहरु बारे जानकारी दिनुका साथै पत्रकारहरुको जिज्ञासामाथि प्रकाश पारेका थिए । पहिला गर्मी क्षेत्र तराईमा मात्र देखिने यो किटजन्य रोग आजभोलि उपत्यका लगायत देशका विभिन्न क्षेत्रमा देखिने गरेको छ ।


नेपालमा १९ औं शताब्दीमा माहामारीको रुपमा फैलिएको भए पनि हाल छिटफूटरुपमा मात्रै संक्रमित रहेका छन् । त्यसैले सन् २०२५भित्र औलो मुक्त मुलुक बनाउने लक्ष्य सरकारले लिएको भएपनि विदेशबाट संक्रमण बढ्ने संभावना भएकाले सो लक्ष्य पूरा गर्न चुनौति रहेको चर्चा गर्दै कार्यक्रम संयोजक दिपक अच्छामीले गर्मीयाम बढेसँगै लामखुटे नष्ट अभियान सञ्चालन गर्न अति आवश्यक भएको बताए । लामखुटेको टोकाईकै कारण औलो सर्ने भएकाले लामखुटे नष्ट अभियान नै प्रभावकारी हुने भन्दै उहाँले संक्रमितलाई तोकेका लामखुटेले अन्यलाई टोकेपछि सर्ने भएकाले अहिले एक दुई जनामा मात्र संक्रमण छ भनेर हेलचेक्राई गर्न नहुने भन्दै उहाँले यसबारे सधै समुदाय सचेत हुनुपर्नेमा जोड दिए ।