पत्रकार राष्ट्रिय दबूको दस बुँदे घोषणपत्र सार्वजनिक:

Request for news space in your media

पत्रकार राष्ट्रिय दबूको दस बुँदे घोषणपत्र सार्वजनिक:
२१ असार, केके मानन्धर
दस बुँदे काठमाडौं घोषणपत्र जारी गर्दै नेवा: पत्रकार राष्ट्रिय दबूको मातृभाषा पत्रकारिता सम्बन्धिको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । काठमाडौंको टेकुमा सम्पन्न भएको कार्यक्रमले सञ्चारगृहभित्र समाचारको विषयवस्तु समावेशी हुनुपर्ने, मातृभाषा पत्रकारितालाई प्रबद्र्धन गर्नुपर्ने, पत्रकारहरुको क्षमता विकासका लागि सरकारी तहबाट “धर्मादित्य मातृभाषा पत्रकारिता विकास प्रतिष्ठान” अविलम्ब गठन गर्नुपर्ने लगायतको माग गरेको छ । कार्यक्रममा वरिष्ठ पत्रकार सुरेश किरण मानन्धर र अजित तामाङले मातृभाषा पत्रकारिताको चुनौती र अवसर विषयमा कार्यपत्र प्रस्तुत गरेका छन् । कार्यपत्रमा मूलधारको पत्रकारितादेखि विभिन्न भाषामा गरिने पत्रकारिता पेशा पूर्ण व्यावसायिक नभएको, पेशागत कमीकमजोरी थुपै्र भएकोदेखि क्षमता विकासको आवश्यकता औंल्याएको छ ।


नेवा: पत्रकार राष्ट्रिय दबूद्वारा आयोजित
दोस्रो मातृभाषा पत्रकारिता राष्ट्रिय सम्मेलन–२०७९
काठमाडौं घोषणा पत्र

१. आज भन्दा ९७ वर्ष पहिले वि.सं १९८२ साल (नेपाल संवत १०४५) बुद्ध जयन्तिका दिन शुरु भएको मातृभाषाको पत्रकारिताको आगामी २०८२ सालमा सय वर्ष पुरा हुँदैछ । यस ऐतिहासिक अवसरमा २०८२ सालको शताब्दी वर्षका रुपमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाउने यो सम्मेलन घोषणा गर्दछ ।
२. विगत ८ वर्षदेखि हरेक वर्ष बुद्ध जयन्तिको अघिल्लो दिन मनाउँदै आइरहेको  “मातृभाषा पत्रकारिता  दिवस” लाई शताब्दी वर्षदेखि राष्ट्रिय दिवसका रुपमा मनाउने घोषणा गर्दछ ।
३. मातृभाषाको पत्रकारिता शुरु भएको सय वर्ष पुगेको अवसरमा पहिलो मातृभाषी पत्रकार धर्मादित्य धर्माचार्यको हुलाक टिकट प्रकासित गर्न सरकार समक्ष माग गर्दै त्यसका लागि पहल गर्ने घोषणा गर्दछ ।
४. वि.सं १९८२ सालमा पहिलो पटक नेपालभाषामा बुद्धधर्म पत्रिका प्रकाशन गरी मातृभाषाको पत्रकारिता मार्फत भाषा, कला, साहित्य, संस्कृतिको विकासमा योगदान पुर्‍याएका इतिहास पुरुष धर्मादित्य धर्माचार्य (जगतमान वैद्य) लाई मातृभाषाको पत्रकारिताको प्रेरक व्यक्तिका रुपमा हरेक वर्ष धर्मादित्य धर्माचार्य जन्मजयन्ती मनाउने परम्परा अब सम्पूर्ण मातृभाषी पत्रकार संघसंंस्थाले राष्ट्रिय उत्सवका रुपमा मनाउने यो सम्मेलन घोषणा गर्दछ ।

साथै, यो दोश्रो मातृभाषा पत्रकारिता राष्ट्रिय सम्मेलन सरकार समक्ष निम्न मागहरु राख्दछ:
५. मातृभाषामा पत्रकारिता गर्दै आएका पत्रकारहरुको क्षमता विकासका लागि सरकारी तहबाट “धर्मादित्य मातृभाषा पत्रकारिता विकास प्रतिष्ठान” अविलम्ब गठन गर्न यो सम्मेलन माग गर्दछ ।
६. मातृभाषामा प्रकाशित/प्रसारित हुने पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अनलाइन माध्यमका लागि स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारबाट लोक कल्याणकारी विज्ञापनको विशेष व्यवस्था गर्न यो सम्मेलन माग गर्दछ ।
७. नेपाल सरकारद्वारा प्रदान गरिने विभिन्न पत्रकारिता पुरस्कारको सवालमा विशेष मापदण्ड बनाई मातृभाषामा पत्रकारिता गर्ने समुदायका पत्रकारलाई अनिवार्य समेट्न यो सम्मेलन सरकारसँग आग्रह गर्दछ ।
८. सरकारी स्तरबाट स्थापित प्रेस काउन्सिल, नेपाल विज्ञापन बोर्ड, न्यूनतम पारिश्रमिक निर्धारण समिति, लगायत सरकारी सञ्चार माध्यममा मातृभाषी पत्रकारको समेत अनिवार्य प्रतिनिधित्व हुने व्यवस्था मिलाउन यो सम्मेलन जोडदार माग गर्दछ ।
९. भाषा आयोगको प्रतिवेदन कार्यान्वयन गर्न अबिलम्ब आवश्यक कानुन बनाई राष्ट्रिय रुपमा मातृभाषा पत्रकारिताको विकासका लागि वातावरण बनाउन सरकार समक्ष माग गर्दछ ।
१०. नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ भएको विभिन्न तथ्यहरुबाट पुष्टि भइसकेको सन्दर्भमा श्री श्रेष्ठलाई अबिलम्ब महासंघको संस्थापक अध्यक्ष घोषणा गर्दै इतिहास, तथ्य र प्रमाणहरुको सम्मान गर्न पत्रकार महासंघ, नेपाल सरकार लगायत सम्बन्धित सरोकारवाला समक्ष यो सम्मेलन जोडदार माग गर्दछ ।
ने.सं. ११४२ दिल्लाथ्व षष्ठी (२१ असार, २०७९) मंगलबार ।

कार्यक्रममा सहभागीहरु:
१) सभापति: सुरजवीर बज्राचार्य अध्यक्ष नेवा: पत्रकार राष्ट्रिय दबू
२) प्रमुख अतिथि: सुनिता डंगोल, उपप्रमुख काठमाडौं महानगरपालिका
३) अतिथि: लक्की चौधरी, वरिष्ठ उपाध्यक्ष, नेपाल आदिवासी जनजाति पत्रकार महासंंघ, फोनिज तथा थारु पत्रकार संघका प्रतिनिधि
४) अतिथि: मोहन सिंह, अध्यक्ष मधेसी पत्रकार समाज
५) श्रीकृष्ण महर्जन, निवर्तमान अध्यक्ष, नेवा: पत्रकार राष्ट्रिय दबू
६) अजितमान तामाङ, मातृभाषाको पत्रकारितामा चुनौती तथा अवसर विषयक कार्यपत्र प्रस्तुतकर्ता
७) नृपेन्द्रलाल श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष पत्रकार राष्ट्रिय दबू तथा कार्यक्रम संयोजक
८) बुद्ध योञ्जन, वरिष्ठ उपाध्यक्ष तामाङ पत्रकार संघ
९) पासाङ शेर्पा, अध्यक्ष शेर्पा सञ्चार समूह
१०) रुपा झा, मैथिली भाषी पत्रकार तथा संस्कार मिथिलाकी प्रतिनिधि
११) विष्णु लिम्बु, उपाध्यक्ष लिम्बु पत्रकार संघ
१२) पवित्रा सुनार, क्रियाशील दलित पत्रकार संघ नेपाल
१३) राजु शाक्य, नरेशवीर शाक्य, किरण शाक्य, विजयरत्न असंबरे, सल्लाहकार पत्रकार रािष्ट्रय दबू
१४) भक्तपुर, दोलखा, काभ्रे, रामेछाप, ललितपुर, काठमाडौं जिल्ला शाखाका प्रतिनिधि, नेवा: पत्रकार राष्ट्रिय दबू
१५) कृष्ण किसी वरिष्ठ पत्रकार तथा पत्रकारिता अध्यापक (उपप्राध्यापक)
विभिन्न भाषामा पत्रकारिता गर्दै आएका पत्रकारहरुले आआफ्नो मातृभाषामा पत्रकारिता गर्दा देखिएको चुनौती र अवसरको विषयमा आआफ्नो मन्तव्य राखेका थिए ।
कार्यक्रममा महासचिव सुनील महर्जनले विषय वस्तु प्रवेश गराएका थिए । नेवा: पत्रकार राष्ट्रिय दबू काठमाडौं जिल्ला शाखाका सचिव रत्न महर्जन र केन्द्रिय वरिष्ठ उपाध्यक्ष नृपेन्द्र लाल श्रेष्ठले स्वागत गरेका थिए । सचिव केके मानन्धरले कार्यक्रम सञ्चालन गरेका थिए । धन्यवाद ज्ञापन उपाध्यक्ष रचना श्रेष्ठले गरिन् ।