भक्तपुर नगरका जनप्रतिनिधीहरुद्वारा शपथ तथा पदभार ग्रहण, निर्वाचन प्रणालीमा सुधार गर्नुपर्नेमा जोड
भक्तपुर, जेष्ठ ६ गते
परम्परागत निर्वाचन प्रणालीलाई ब्यवहारिक बनाउन जोड दिदै भक्तपुर नगरपालिकामा निर्वाचित जनप्रतिनिधीहरुको आज शपथ ग्रहण तथा पद्भार कार्यक्रम भएको छ । अत्यधिक बहुमतले र चाँदै मत परिणाम दिन सफल भक्तपुर नगरपालिकाको निर्वाचन पद्धतिसँगै देशका विभिन्न पालिकाहरुमा भएका कमिकमजोरीलाई समेत औल्याउँदै निर्वाचन प्रणालीमा सुधारको आवश्यकताबोद्ध गरेका हुन । कार्यक्रमका प्रमुख अतिथी नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले निर्वाचनमा आचारसंहिता उल्लंघनका घटनाहरु नियन्त्रण गर्न घर घरमा झण्डा नभई सैद्धान्तिक र घोषणा पत्र बारे जानकारी दिने गरी नेमकिपाले आचारसंहितालाई पूर्ण परिपालन गरेको उल्लेख गर्दै मतदान र मतगणना छिटो छरिटो गर्न मतदान गरेकै ठाउँमा मतगणना गर्ने व्यवस्था जायज भएको पनि बताउनु भयो । उम्मेदबारको नाम दर्ता अनलाईबाट गर्दा सहज हुने विश्लेषण गर्नु भयो । जित्नेलाई हराउने र हराउनेलाई जिताउने इलेक्ट्रिक भोटिङ्ग प्रणालीमा समस्या रहेको सांसद सुवालले औल्याउनु भयोे । उहाँले निर्वाचनलाई देश र जनताको सेवा भन्दा उद्योग र व्यापारको लागानी थानेर चुनाव जित्नकैलागि अनैतिक गठबन्धन हुनु अराजनैतिक, असैद्धान्तिक भएको बताउनु भयो ।
एम्बुलेन्स र दमकल जस्तै जनप्रतिनिधी जिम्मेवार हुनुपर्नेमा जोड दिदै काठमाण्डौ विश्वको प्रदुर्षित शहर हुन थालेकाले जनताको स्वास्थ्यमा ध्यान दिन सांसद सुवालले आग्रह गर्नु भयो । भक्तपुर औद्योगिक क्षेत्रलाई अन्यत्र सारि सो क्षेत्रमा हस्तकला ग्राम बनाउनुपर्ने बताउँदै विदेशी ऋणबाट भन्दा स्वदेशी उत्पादन बढाउन आवश्यक भएको बताउँदै कृषि क्षेत्रको विकासका लागि रासायनिक मलको अभाव भएकाले समयमै मलको व्यवस्था गर्न सरकारलाई आग्रह गर्नु भयो । सांसद सुवालले देको मिवा आवास योजनालाई जनतालाई मर्का नपर्ने गरी अगाडी बढाउन नवनिर्वाचित जनप्रतिनिधीहरुलाई आग्रह गर्नु भयो । उहाँले कुरा भन्दा काम गरेर देखाउन, भित्रि मन देखि काम गर्न, इमान्दाररिताका साथ देश र जनताको सेवा गर्न तथा भौतिक विकाससँगै जनताको सांस्कृतिक विकासमा पनि जोड दिनु पर्ने बताउनु भयो । उहाँले नगरपालिकाको निर्णय र नीतिहरुलाई जनतालाई बुझाउनुपर्ने र जनतासँगै छलफल गरेर काम गर्नुपर्नेमा जोड दिदै त्यसलाई कर्मचारीले कार्यान्वय गर्नुपर्ने बताउनु भयो ।
सो अवसरमा मुख्य निर्वाचन अधिकृत तथा भक्तपुर अदालतका मुख्य न्यायधिश गोपाल प्रसाद बास्तोला समक्ष देश र जनताको नाममा शपथ लिदै भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले जनताले दिएको मतलाई कदर गर्दै नेमकिपा अध्यक्ष नारायणमान विजुक्छेको सय वर्षपछिको भक्तपुर पुस्तकमा उल्लेखित विषयलाई केन्द्रीत भई भक्तपुर नगरको मौलिक पहिचानलाई थप दरिलो बनाएर देखाउने प्रतिबधता ब्यक्त गर्नु भयो ।
प्रदेश सांसद सुरेन्द्रराज गोसाईले निर्वाचन मार्फत जनतामा फैलिएको राजनैतिक चेतनास्तरको समीक्षा गर्दै सैद्धान्तिक र बैचारिकरुपले थप मजबुट हुन सक्ने विचार व्यक्त गर्नु भयो भने मुख्य निर्वाचन अधिकृत बास्तोलाले निर्वाचन शान्तिपूर्वक सम्पन्न गर्न निर्वाचन प्रणालीमा सुधारको आवश्यकातामा जोड दिदै परम्परागत निर्वाचनशैलीले निर्वाचनमा परिचालित कर्मचारीहरुले दुःख पाएको गुनासो गर्नु भयो । यद्यपी भक्तपुर नगरमा सहजरुपले मतदान सम्पन्न गर्न सकेकोमा खुसि व्यक्त गर्दै नवनिर्वाचित जनप्रतिनिधीहरुको कार्यकाल पूर्ण सफलताको कामना गर्नु भयो । सो अवसरमा भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकृत रुद्रादेवी शर्माले पनि निर्वाचन अवधिको समीक्षा गर्दै निर्वाचित जनप्रतिनिधीहरुबाट जनताको सहज जीवनयापनको लागि भुमिका खेल्ने विश्वास व्यक्त गर्नु भयो ।
सो शपथ ग्रहणमा नगरपालिकाका निर्वाचित प्रमुख सुनिल प्रजापतिले उपप्रमुख रजनी जोशी, वडाध्यक्ष र वडा सदस्यहरुलाई संयुक्त रुपमा शपथ ग्रहण गराउनु भयो । शपथ ग्रहण गघि नै मुख्य निर्वाचन अधिकृतले सबै निर्वाचित जनप्रतिनिधिहरुलाई प्रमाण पत्र वितरण गर्नु भएकोे थियो भने शपथ ग्रहण पश्चात जनप्रतिनिधीहरुले आजै पद्भार ग्रहण पनि गरेका छन् । यसै बीच नगर प्रमुख प्रजापतिले थप ५ वर्षका लागि पद्भार ग्रहण गरेसँगै नगरबासीहरुको साझा खानेपानी समस्यालाई सहजीकरणका लागि कटुञ्जेमा बन्दै गरेको मेलम्चीको खानेपानी ट्यांकीको स्थलगत निरिक्षण गर्नु भयो ।












