थप ४ हजार ६ सयमा कोरोना पुष्टि, ४ जनाको मृत्यु । एकैदिन ४ लाखभन्दा बढीले लगाए कोरोना विरुद्धको खोप।

थप ४ हजार ६ सयमा कोरोना पुष्टि, ४ जनाको मृत्यु ।
नेपालमा बितेको २४ घण्टामा थप ४६ सय व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १४ हजार ५ सय ५६ जनाको परीक्षण गर्दा ४ हजार ६ सय ३६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । जसमध्ये काठमाडौँमा १ हजार ५ सय ९१ जना, ललितपुरमा ४ सय ८६ जना र भक्तपुरमा १ सय ४२ जना गरी काठमाडौँ उपत्यकामा मात्रै २ हजार २ सय १९ जना सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या २१ हजार ५ सय ८४ पुगेको छ । गत २४ घण्टामा ३ सय ५० जना सङ्क्रमित निको हुँदा ४ जनाको भने मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।
काठमाडौँ उपत्यकामा तीन जिल्लासहित १० जिल्ला कोरोनाको उच्च जोखिममा परेको पनि स्वास्थ्य मन्त्रालयले बताएको छ । मन्त्रालयका अनुसार काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, कास्की, रुपन्देही, कैलाली,मोरङ र सुनसरी उच्च जोखिममा छन् । यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाको सङ्क्रमण दर बढ्दै गएपछि अब कसरी अघि बढ्ने भन्ने बारेमा स्वास्थ्य क्षेत्रका अधिकारी, विज्ञसँग अहिले बालुवाटारमा छलफल गरिरहनुभएको छ ।

एकैदिन ४ लाखभन्दा बढीले लगाए कोरोना विरुद्धको खोप।
सरकारले कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि खोप अभियानलाई तीब्रता दिएको छ । २४ घण्टामा ४ लाख ३५ हजार १ सय ९३ जनालाई कोरोनाविरुद्धको खोप दिइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा लक्षित जनसङ्ख्याको ६० प्रतिशतले खोपको पूर्ण मात्रा पाएको मन्त्रालयको दाबी छ । मन्त्रालयका अनुसार १ करोड ९९ लाख २२ हजार १ सय ६४ जनालाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य राखिएकोमा अहिलेसम्म ६० दशमलव ७ प्रतिशतले पूर्ण मात्रा र ७९ दशमलव ४ प्रतिशतले कम्तिमा एक मात्रा खोप लगाएका छन् । तर नेपालको कुल जनसङ्ख्याको भने ३९ दशमलव ८ प्रतिशतले मात्रै कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । ५२ दशमलव १ प्रतिशतले भने कम्तिमा एक मात्रा मात्रै लगाएका मन्त्रालयले जनाएको छ । ४ करोड ३ लाख ८८ हजार ८ सय ४० मात्रा कोरोनाविरुद्धको खोप नेपालमा छ ।