३२९ वर्ष पूरानो ऐतिहासिक तथा साँस्कृतिक नगराले पायो आज पुनःस्थापना

भक्तपुर, पुस १० गते । ३२९ वर्ष पूरानो ऐतिहासिक तथा साँस्कृतिक नगरा बिहिवार पुनस्थापना भएको छ । भक्तपुर नगरको दरवार क्षेत्रस्थित ताहा फल्चा (सतल) शिद्धिलक्ष्मि मन्दिर अगाडिको अगाडी सो नगराले आज पुनस्थापना पाएकोे हो । मल्ल राजा जितामित्र मल्लले तलेजुलाई चढाएर स्थापना गरेको भनिएको सो नगरा रणजीत मल्लको पालामा नेपाल सम्वत ८४७मा मर्मत गरेको कुरा नगरामै अभिलेख रहेको संस्कृतिविद ओम धौभडेलले जनसञ्चार खवरलाई बताउनु भयो । देशकै सबै भन्दा ठूलो नगराको रुपमा समेत चिनिएको भन्दै संस्कृतिविद धौभडेलले भक्तपुर धुम्न आएका पर्यटकहरुकालागि प्रत्यक्ष अवलोकण तथा आकर्षणको एउटा आयाम थपिएको बताए ।


ऐतिहासिक नगरा बजाउने दमाहाले पाएको एक रोपनी चार आना जग्गा पनि गुठी संस्था अन्तर्गत लगेपछि नगरा बजाउनेक्रम बन्द भएको थियो । नगरालाई ताहा फल्चाको भूइतल्लामा राखेर केही समय सञ्चालन गर्नुका साथै सुनको ढोका छेउको सेतो दरवारमा राखेर पनि केही समय परम्परागतरुपले बजाउने व्यवस्था गरेको थियो । यद्यपी यसले स्थायीत्व नपाएपछि त्यसै थन्किएको नगरालाई हाल मर्मत सम्भार गर्दै भक्तपुर नगरपालिकाले राजा जितामित्रको इतिहासलाई जीवन्त राख्न यथास्थानमा पुनःस्थापना गरिएको हो । ताहा फल्चाको पुनर्निर्माण पश्चात यथास्थानमा सो नगरालाई स्थापना गर्न संभब भएको छ ।


तलेजुको नित्यपूजा र विशेष पूजा आजामा भूपतेन्द्र मल्लको सालिकसँगै रहेको ठूलो घण्टासँगै सो नगरा पनि बजाउने परम्परा रहेको थियो । नगरा दुईवटा छन् । एउटा बिग्रे अर्को बजाउने गरी विकल्प सहित नगरा स्थापना गरिएको थियो संस्कृतिविद धौभडेल बताउँछन् । नेपाल पर्यटन वर्ष २०२०लाई टेवा पुर्याउने हिसावले भक्तपुर नगरपालिकाको पहलमा ऐतिहासिक नगरा पुनस्थापना गरिएको हो । भक्तपुर नगर पालिकाका नगर प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी, इतिहासविद् पुरुषोतमलोचन श्रेष्ठ, सह प्राध्यापक विश्वमोहन जोशी, प्रहरी नायव निरिक्षक सविन प्रधान, पुरातत्व विभागका प्रमुख सरस्वती सिंह, गुठी संस्थान भक्तपुरका प्रमुख आनन्द कर्माचार्य, पुरातत्व विभागका पुरातत्व अधिकृत मोहनसिंह लामा, प्रहरी उपरीक्षक सबिन प्रधान, वीरदल गणका लेनिन रोक्कामगर, भनपाका प्रमुख प्रशासकीय अधिकृत विमल कोइराला लगायतका अतिथिहरुले नगरा बजाउँदै नगरा पुुनस्थापना भएको घोषणा गरेका हुन । पर्यटन वर्षलाई भव्यरुपले सफल पार्न सो नगरालाई यथास्थानमा प्रर्दशन गरी परम्परागत नित्य पूजाको अवसरमा विहान र साँझ नियमित बजाउने व्यवस्था समेत मिलाएको जनप्रतिनिधी रविन्द्र ज्याख्वले बताए ।
नगरा पुनस्थापनाका लागि नेपाली सेना र भनपाका जनप्रतिनिधी, कर्मचारी तथा स्थानीय समुदायको सक्रिय सहभागिता रहेको थियो ।