मंसिर १६ गते देखि भक्तपुर नगरमा घरदैलो नर्सिङ सेवा पुनः सुरु हुने ।
भक्तपुर, मंसिर ७ गते
मंसिर १६ गते देखि भक्तपुर नगरमा घरदैलो नर्सिङ सेवा पुनः सुरु हुने भएको छ । भक्तपुर नगरका प्रत्येक वडामा एक एक जना नर्स र ९ जना सामाजिक स्वास्थ्य स्वयंम्सेवकहरुलाई ३ दिने तालिम र आवश्यक तयारी पछि सो अभियान थप परिस्कृतरुपमा सञ्चालनमा आउने स्वास्थ्य मन्त्रालय नर्सिङ विभागका निर्देशक रोशनी तुईतुइले जनाएको छ ।

गत ४ वर्ष अघि देखिनै भक्तपुर नगरमा घर दैलो नसिंग सेवा सञ्चालन हुँदै आएको प्रशंसनीय कार्य भएको उल्लेख गर्दै निर्देशक तुईतुईले भक्तपुर नगरपालिकाले थालेको यो अभियान देशैभरीका स्थानीय तहका ६ हजार भन्दा बढी वडा वडाहरुमा सञ्चालनको तयारी भएको बताउनु भयो । घर दैलो नर्सिङ सेवामा खतिएका नर्सहरुले सरकारले निःशुल्क रुपमा दिन्दै आएको औषधि समेत वितरण नगरिने भए पनि जनताको स्वास्थ्यस्थितिको विवरण संकलन र अध्यावधि गर्दै आवश्यक स्वास्थ्य परिक्षण र परामर्श दिने बताए । यसको लागि वडा वडामा कार्यालय स्थापना गरी आवश्यक भएको बेला २४ सैं घण्टा नर्सिङ सेवा उपलब्ध हुने गरी घरदैलो नर्सिङ सेवा विस्तार गरिएको उहाँले बताए ।
स्वास्थ्य मन्त्रालयले नीतिगत व्यवस्था गरिसकेकाले हट्टार नगरी क्रमिकरुपमा यो अभियान देशैभरी सञ्चालन हुने उहाँले बताए । बेरोजगार रहेका नर्सहरुलाई पनि रोजगार हुने र जनताको स्वास्थ्यस्थिति र आवश्यक परामर्श पनि हुने गरी यो अभियान सञ्चालनमा आएको एक डेर वर्ष पछि मात्रै यसको प्रभावकारिताको मूल्यांकन हुन सक्ने भन्दै निर्देशक तुईतुईले जनतालाई रोगै लाग्न नदिने र अस्पतालमा जान्नै नपर्ने उदेश्यका साथ घर दैलो नर्सिङ सेवाले काम गर्ने बताए । यसको लागि जनताले आफ्नो स्वास्थ्यको आफैले हेरचाह गर्नुपर्ने खानपिन र व्यवहारमा सुधार गर्नुपर्नेमा जोड दिन्दै उहाँले पुरुष नर्सहरुको कमि भए पनि यस अभियान देशभर फैलाउन नर्स र दक्ष जनशक्तिको अभाव नहुने पर्याप्त तालिम प्राप्त नर्स र सामाजिक स्वास्थ्य स्वयंसेवकहरु रहेको बताउनु भयो । सामाजिक स्वास्थ्य स्वयंसेवकको अवधारणा पनि भक्तपुर नगरबाटै सुरु भएको उल्लेख गर्दै उहाँले हाल देशभर ६० हजारको हाराहारीमा सामाजिक स्वास्थ्य स्वयंसेवकहरु र त्यतिकै संख्यामा नर्सहरु समेत रहेको बताए ।
विद्यालय नर्सिङ सेवा क्रमिक रुपमा स्थानीय तह, प्रदेश सरकारले विस्तार गर्दै लगे जस्तै घर दैलो नर्सिङ सेवा पनि विस्तार हुने विश्वास व्यक्त गर्दै निर्देशक तुईतुईले यसको लागि स्थानीय तहले सक्रियता देखाउन आवश्यक भएको बताए ।
गत ४ वर्ष पहिले भक्तपुर नगरका ३ वटा वडाबाट नमूनाको रुपमा नर्सिङ सेवा सुरु गर्दा त्यसको प्रभावकारीता देखिए पछि नगरका १० वटै वडामा नर्सिङ सेवा प्रारम्भ गरेको उल्लेख गर्दै घर दैलो नर्सिङ सेवामा कार्यरत नर्स रचना सुवालले अव फेरी घर दैलो जाँदा थप व्यवस्थितरुपमा विवरण संकलन गर्ने गरी घरदैलो जान नर्सहरु तयारीमा रहेको जनाए ।














