काठमाडौ, २०७६ पौष २गते
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले गोकर्ण रिसोर्टसँगको सम्झौता नविकरण खारेज गर्न गर्न सराकारलाई आग्रह गरेको छ । भ्रष्टाचारका विरुद्धमा विगत २३ वर्ष देखि निरन्तर रुपमा सकृय रहेको नागरिक संस्थाको रुपमा परिचित टिआई नेपालले आज एक प्रेस विज्ञप्ति प्रेसित गर्दै हालै मात्र नेपाल सरकारले नेपाल ट्रष्ट अन्तर्गतको गोकर्ण फरेष्ट रिसोर्ट र त्यसले चर्चेको करिव तीन हजार रोपनी जग्गा पुरानो सम्झौता अवधि २०८२ श्रावण मसान्तसम्म झण्डै ६ वर्ष बाँकी नै रहेको अवस्थामा अत्यन्त अपारदर्शी ढङ्गबाट हतार हतारमा पुरानै यति होल्डिङ्स प्रा.लि. लाई थप २५ वर्षका लागि लिजमा दिइएको भन्ने विभिन्न सञ्चार माध्यमबाट प्रकाशित तथा प्रसारित समाचारप्रति टिआई नेपालको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। “भ्रष्टाचारमा शुन्य सहनशिलता अपनाउने” सरकारको दाविलाई यस्तो निर्णयले निरर्थक तुल्याएको सो संस्थाका अध्यक्ष खेमराज रेग्मीले बताएका छन् ।
PDF प्रेस विज्ञप्ति – गोकर्ण रिसोर्टसँगको सम्झौता नविकरण खारेज गरियोस (2)
सार्वजिनिक खरिद ऐनको ठाडो उल्लंघन गरी स्वस्थ्य प्रतिस्पर्धा विना नेपाल ट्रष्ट स्थापना गर्दाको मुल मर्म विपरित कुनै एउटा ब्यापारिक प्रतिष्ठानसँग गुपचुपमा संझौता गरी राष्ट्रिय सम्पतिको दुरुपयोग गर्ने कार्य कुनै पनि तर्कका आधारमा असल नियतले गरिएको निर्णय हो भनेर विश्वास गर्ने आधार नदेखिएको अध्यक्ष रेग्मीको भनाई छ । अर्को निर्वाचित सरकार आए पछि पनि कानुन सम्मत तरिकाले निर्णय गर्न सक्ने पर्याप्त समय वाँकी नै रहने अवस्थामा अपारदर्शी रुपमा हतार हतार तत्कालै यस्तो निर्णय गर्नुमा निर्णयमा संलग्न पदाधिकारीहरुलाई गलत तत्वले अनुचित प्रभावमा पारेको स्पस्ट देखिएको विज्ञप्तिमा उल्लेख छ ।
“म आफुपनि भ्रष्टाचार गर्दिन र अरुलाई पनि भ्रष्टाचार गर्न दिन्न” भनी आमरुपमा प्रतिवद्धता ब्यक्त गर्नुहुने प्रधानमन्त्रीज्यूले राष्ट्रिय सम्पतिमा लुट मच्चिने खालको यस्तो निर्णय फिर्ता लिई यसमा संलग्न पदाधिकारीहरुलाई कानुन वंमोजिम कडा कारवाही गरी मुलुकमा सरकार प्रतिको विश्वास कायमै राख्न र सुशासनको प्रत्याभुति दिन जोडदार माग पनि सो विज्ञप्तिमार्फत प्रेसित गरको छ ।














