बागीश्वरीमा एसईई उत्तीर्ण विद्यार्थीलाई बधाई तथा मार्गनिर्देशन

बागीश्वरीमा एसईई उत्तीर्ण विद्यार्थीलाई बधाई तथा मार्गनिर्देशन

भक्तपुर÷९ भाद्र–वागीश्वरी माध्यमिक विद्यालयबाट शैक्षिक वर्ष २०७७ मा एसईई परीक्षा उत्तीर्ण गरेका विद्यार्थीहरुको सम्मानमा बुधबार एक समारोहबीच बधाई ज्ञापन तथा मार्गनिर्देशन कार्यक्रम भएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा बागीश्वरी मा.वि.व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र ज्याख्वले उत्तीर्ण सबै विद्यार्थीहरुलाई मायाको चिनो वितरण गर्दै शिक्षकहरुबाट प्राप्त मार्ग निर्देशनलाई गुरुमन्त्रका रुपमा जीवनभर स्मरण गर्नुपर्ने बताउनुभयो । उहाँले यस विद्यालयबाट एसईई गरेका भाइबहिनीहरु जो जहाँ गएपनि शिक्षकप्रतिको सम्मान र आदरभाव नै विद्यालयको सम्पत्ति भएकोले व्यक्तिगत र शैक्षिक रुपमा गुणस्तरीय शिक्षा लिएर दक्षता हासिल गरी राम्रो चरित्र निर्माण गर्नुपर्ने बताउनुभयो । सिक्नका लागि विदेश जान सकिन्छ, तर विदेशमै बस्ने सोच त्याग्नुपर्ने बताउँदै उहाँले विदेशमोहकै कारण धेरै नेपाली विद्यार्थीहरु इराक र अफगानिस्तानमा पुगेकाले समस्यामा परेको स्पष्ट गर्नुभयो । भक्तपुरमा पढ्न पाइने विषय भएसम्म अन्त नजान अनुरोध गर्दै उहाँले शिक्षाका लागि भक्तपुर नै उचित गन्तव्य रहेको बताउनुभयो । साथै अहिलेको समयसम्म पनि १८ वर्षमुनिका बालबालिकाका लागि कोरोना विरुद्धका कुनै खोपसमेत नआएका कारण निकै जोखिममा पर्ने भएकाले कोभिड रोग नै लाग्न नदिन भिडभाड र हुलमुलमा नजान र आफै सतर्क भइ बस्नुपर्ने बताउनुभयो ।


वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले एसईईमा प्राप्त जीपीएलाई राम्रोसँग नियाल्न नसक्दा पछि उच्च शिक्षा हासिल गर्ने क्रममा त्यसले ठूलो असर पार्ने भएकाले अहिलेदेखि नै जीपीए बढाउँदै लग्नुपर्ने बताउनुभयो ।
कार्यक्रमका सभापति एवं प्रधानाध्यापक कृष्ण प्रसाद धन्छाले यस विद्यालयबाट एसईई पूरा गरेका सबै विद्यार्थीले वागीश्वरीको गौरवलाई कायम राखेको स्मरण गराउँदै कोही पनि विद्यार्थी सरकारी सेवामा लाग्न नसक्ने गरी चरित्रमा दाग पर्ने कुनै क्रियाकलाप गर्न नहुने बताउनुभयो । यहाँका विद्यार्थीले देश, समाज वागीश्वरी र भक्तपुरको गौरवलाई कायम गर्न उच्च शिक्षाका पढाइलाई पनि निरन्तरता दिनुपर्ने बताउनुभयो ।
विद्यालयका सहायक प्रधानाध्यापक कृष्ण प्रसाद कर्माचार्यले मूल्यांकनको तरिकाबारे बताउँदै आफ्नो दक्षता र क्षमता, घरायसी आर्थिक अवस्था, समाज र देशको आवश्यकताका आधारमा विषय छनोट गरी पढ्नुपर्ने बताउनुभयो । अर्का सहायक प्र.अ. उकेश सुवालले यस विद्यालयका विद्यार्थीहरु जहाँ गएपनि सचेत हुनुपर्ने बताउँदै उहाँले उच्च शिक्षामा झन बढी मेहनतको खाँचो हुने स्पष्ट पार्नुभयो ।
शिक्षिका मैया केशरी कोजूले स्वागत गरेको उक्त कार्यक्रममा टेक्स कार्यक्रमका शिक्षक कृष्णनिर छुकां र विश्वेश्वर मानन्धरले एसईई पूरा गरेका विद्यार्थीलाई बधाई तथा मार्गनिर्देशन दिनुभयो । कार्यक्रममा प्रमुख अतिथि ज्याख्वबाट विद्यार्थीहरुलाई मायाको चिनो र प्रधानाध्यापकबाट लड्डु वितरण गरेको थियो । यसवर्ष जम्मा ४ जीपीए ल्याउने ६ जनासहित २ सय ९१ जनाले एसईई पूरा गरका थिए ।