१५ दिने बोटल आर्ट तालिम शुरु

१५ दिने बोटल आर्ट तालिम शुरु
१ जेठ ।भक्तपुर ,उद्योग तथा वाणिज्य कार्यालयको आयोजना र भक्तपुर घरेलु तथा साना उद्योग संघको सहकार्यमा संघको सचिवालय, घरेलु मार्ग, सूर्यविनायक, बलाक्वमा १५ दिने बोटल आर्ट तालिम शुरु भयो।
कार्यक्रममा संघका अध्यक्ष श्यामसुन्दर श्रेष्ठले संघको मुख्य उद्देश्य युवाहरूलाई उद्यमी र स्वरोजगार बनाउनु रहेको बताउनुभयो। सोही उद्देश्य प्राप्तिका लागि यो तालिम आयोजना गरिएको र तालिमबाट सिकेका कुराहरूलाई व्यवहारमा लागू गर्न उहाँले प्रशिक्षार्थीहरूलाई आग्रह गर्नुभयो।
कार्यक्रममा प्रमुख अतिथिको उद्योग तथा वाणिज्य कार्यालयका कार्यालय प्रमुख रामप्रसाद कुस्माले उद्योग तथा बाणिज्य कार्यालयले विभिन्न संघ–संस्थाहरूसँगको सहकार्यमा निरन्तर तालिम तथा गोष्ठीहरू आयोजना गरिरहेको जानकारी दिनुहुन्दै कार्यालयले सबै लक्षित वर्गमा सूचना सम्प्रेषण गर्न गाह्रो हुने हुँदा विभिन्न संघ–संस्थाहरूको सहकार्य गरी कार्यक्रम सञ्चालन गर्दा तालिमको प्रभावकारिता र लक्षित वर्गसम्म पहुँच बढ्ने कुरा उहाँले स्पष्ट पार्नु हुन्दै यस तालिमले प्रशिक्षार्थीहरूलाई शीशाका बोतलहरूको सिर्जनात्मक प्रयोग र कला विकासमा मद्दत पुर्याउने विश्वास लिइएको छ।


त्यसैगरी, उद्योग तथा वाणिज्य कार्यालयका अधिकृत राजेन्द्र सुवेदीले तालिमको महत्वबारे प्रकाश पार्नुभयो। यो तालिम तत्कालै ठूलो आर्थिक रूपान्तरण नभए तापनि सिकेको सीपले फुर्सदको समयको सदुपयोग गरी केही आयआर्जन गर्न मद्दत गर्ने बताउनुभयो। उहाँले प्रशिक्षार्थीहरूलाई तालिम अवधिभर ध्यान दिएर सिक्नका लागि शुभकामना व्यक्त गर्नुभयो।
संघका निवर्तमान अध्यक्ष प्रेम खर्बुजाले भक्तपुरमा आन्तरिक तथा बाह्य पर्यटकहरूको आगमन धेरै हुने भएकोले यो तालिम लिएर पर्यटक लक्षित सामग्रीहरू तयार गर्न सके बजारको कुनै समस्या नहुनेमा जोड दिनुभयो।
त्यसैगरी, प्रमुख प्रशिक्षक उमेश नकर्मीले आफ्नो अनुभव सुनाउँदै आफु इन्जिनियर पेसामा रहे पनि सभा–समारोह र भोजभतेरमा धेरै शीशाका बोतल खेर गइरहेको देखेर त्यसलाई कसरी सदुपयोग गर्न सकिन्छ भन्नेबारे अध्ययन गर्दा बोतल आर्टमा लाग्न उत्प्रेरित भएको बताउनुभयो। उहाँले शीशाका बोतलहरूमा कला भरेर आकर्षक उपहारका सामग्रीहरू तयार गर्न सकिने र यसबाट राम्रो आम्दानी गर्न सकिने अपेक्षा व्यक्त गर्नुभयो।