सुचनाको हक सुनिश्चित गर्न सूचना अधिकारी सक्षम हुनुपर्ने
भक्तपुर, चैत्र ५ गते
भक्तपुर जिल्लाका सरकारी कार्यालयका सूचना अधिकारीहरुलाई आज सूचनाको हक कार्यान्वयन सम्बन्धि अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । हुलाक कार्यालय भक्तपुरको आयोजनामा आयोजित सो अभिमुखिकरण कार्यक्रम भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको अध्यक्षतामा आज भक्तपुरमा आयोजना भएको हो । जनतालाई लोकतन्त्रको प्रत्यभूति दिन सूचनाको हकलाई कार्यान्वयन गर्न सूचना अधिकारीहरु सक्षम हुुनुपर्नेमा जोड दिर्दै राष्ट्रिय सूचना आयोगका पूर्व आयुक्त कृष्णहरी बास्कोटाले नागरिकले मागेको सूचना दिन कन्चुस्यायी नगर्न आग्रह गर्नु भयो । सूचनाको हकको प्रत्याभूति दिन कस्तो सूचना दिन मिल्छ? र कस्तो सूचना दिन मिल्दैन ?भन्ने कुरालाई सूचना अधिकारीले सर्वप्रथम बुझ्न आवश्यक भएको भन्दै उहाँले नियमले दिएको सूचनाको हकको अधिकारलाई कुनै पनि बाहानामा बन्चित गर्न नहुने र गरेमा दण्डित हुने तथा सूचनाको हक प्रत्याभूत गर्ने सूचना अधिकारीहरुलाई उचित पुरस्कारको व्यवस्था समेत गर्न आवश्यक भएकोमा उहाँले जोड दिनु भयो । कार्यक्रममा प्रजिअ ढकालले सहि सूचनाले जनतामा विश्वास बढ्ने चर्चा गर्दै सूचनाको हक पारदर्शी भएमात्रै प्रभावकारी हुने धारणा राख्नु भयो ।


जिल्ला हुलाक कार्यालयका प्रमुख सिता लिम्बुले जिल्लाका ५० सहकारी निकायका सूचना अधिकारीहरुलाई पत्राचार गरेकोमा २१ कार्यालयका सुचना अधिकारीहरु मात्रै सम्पर्कमा आएको उल्लेख गर्दै हरेक ३।३ महिनामा जिल्लाको सुचनाको हक अन्तर्गत भएका गतिविधिहरुको अभिलेखहरु राख्ने र माथिलो निकायमा सम्प्रेष्ण गर्दै आएको बताउनु भयो । सो अवसरमा सहभागि सरकारी सूचना अधिकारीहरुले आफ्नो काम सूचना अधिकारीको मात्र नभई अन्य अफिसको काम समेत गर्नुपर्दा दिएको जिम्मेबारी पूर्णरुपमा कार्यान्वयन गर्न नसकेको समीक्षा गर्दै सरकारले सूचना अधिकारीलाई दिने भनिएको मोवाईल सेट र रु. १ हजारको रिचार्ज रकम समेत उपलब्ध नहुँदा दिएको सूचनाको अधिकारीको जिम्मेवारी समेत आफ्नो निजिफोनबाट कार्यान्वयन गर्न बाध्य भएको गुनासो गरेका थिए ।
सो कार्यक्रममा सूचनाको सही प्रयोग गर्न र दुरुपयोग नगर्न तथा गरेमा रु.१० देखि २५ हजारसम्म जरिवाना हुने भन्दै सूचना अधिकारीहरुको काम, कर्तव्य र अधिकार बारे पनि प्रस्तुतीकरण भएको थियो । कार्यक्रममा सुरक्षा निकाय, सरकारी कार्यालय सूचना अधिकारी देखि स्थानीय तहका सूचना अधिकारीहरु एवं पत्रकारहरुको समेत सहभागिता थियो ।














