निर्वाचनमा गैरकानुनी आर्थिक चलखेल रोक्न
निर्वाचनमा गैरकानुनी आर्थिक चलखेल रोक्न टान्सपरेन्सी इन्टर नेशनल नेपाल (टि आई नेपाल)को अपिल गरेको छ । टिआई नेपालका अध्यक्ष मदनकृष्ण शर्माले आज एक प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचनमा गैरकानुनी आर्थिक चलखेल रोक्न आग्रह गर्दै फागुन २१ गते हुन गईरहेको प्रतिनिधी सभाको निर्वाचनबाट राज्य संचालनमा इमान्दारिता, पारदर्शिता, जवाफदेहिता र कानुनको परिपालना गर्ने सदाचारयुक्त जनप्रतिनिधिहरुको चयन होस्, भ्रष्टाचार नियन्त्रण प्रभावकारी रुपमा होस् र देश विकासको गती तिव्ररुपले अघि बढोस् भन्ने उच्च जनचाहना रहेको जनाएका छन् ।
विज्ञप्तिमा भनएिको छ, राजनितिक दलहरुबाट उम्मेदवार चयन र टिकट वितरणमा उम्मेदवारबाट प्रत्यक्ष अप्रत्यक्ष रुपमा रकम असुली, अपारदर्शी रुपमा चन्दा संकलन तथा राजनीतिक खर्च, मतदातालाई अवान्छित तरिकाले प्रभावमा पार्न आर्थिक चलखेल, निर्वाचन आयोगबाट जारी निर्देशन अनुसार बैंक खाता प्रयोग नगरीएका लगायतका गम्भिर प्रकृतीका आचारसंहिता विपरितका कार्यहरु खुल्लम खुल्ला रुपमा भइरहेका प्रसस्त घटनाहरु संचारमाध्यमहरुद्धारा प्रसारण भै रहेका छन् ।
यस प्रकारको गैरकानुनी आर्थिक कारोवार तथा आचारसंहिता विपरित क्रियाकलाप गरी निर्वाचित भएर आउने जनप्रतिनिधिहरुबाट इमान्दारीता, जवाफदेहिता र सुशासनको अपेक्षा गर्न सकिदैन । निर्वाचनमा त्यसरी गरिएको खर्च उठाउन र राजनितिक शक्ति कायम राख्न भ्रष्टाचार बाहेक अन्य श्रोत हुन सक्दैन । यो परिपाटीले भ्रष्टाचारको दलदलबाट देश माथी उठ्न सक्दैन भन्दै अध्यक्ष शर्माले यस्ता गैरकानुनी तथा भ्रष्टाचारलाई प्रश्रय दिने अपराधिक कार्य भए नभएकोवारे सरकार, निर्वाचन आयोग र सरोकारवालाबाट प्रभावकारी निगरानी तथा निष्पक्ष जाँचबुझ भई कडा कारवाही गरिनु पर्दछ । साथै प्रजातान्त्रिक पद्दतीमा नागरिकको मतनै सर्वोपरी हुनेहुनाले मतदाताले पनि सचेत भई उच्च आचरण तथा स्वच्छ छवी भएका दल तथा उम्मेदवारलाई मात्र आफ्नो अमूल्य मत प्रदान गर्न नितान्त जरुरी छ ।
देशले अकल्पनिय जनधनको क्षती व्यहोरेको पृष्ठभूमिमा हुन लागेको यस निर्वाचनको परिणामले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनको जग बसाल्न सक्ने प्रत्याभूती दिन सकोस् भन्ने तर्फ सबैले आआफ्नो कर्तव्यबोध र जिम्मेवारी निभाउन ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल जोडदार अपिल गर्दछ विज्ञप्तिमा उल्लेख छ ।














