पार्टीे प्रकाशनहरु अध्ययन नगर्नेहरु नियमित रुपमा विद्यालय नजाने विद्यार्थी जस्तैहुने नेमकिपा अध्यक्ष विजुक्छेको भनाई भनपा ७मा निर्वाचन समिति गठन

पार्टीे प्रकाशनहरु अध्ययन नगर्नेहरु नियमित रुपमा विद्यालय नजाने विद्यार्थी जस्तैहुने नेमकिपा अध्यक्ष विजुक्छेको भनाई भनपा ७मा निर्वाचन समिति गठन
भक्तपुर, फागुन २ गते । नेपाल मजदुर किसान पार्टीको ५२ औं स्थापना दिवस तथा भनपा ७ वडास्तरीय निर्वाचन परिचालन समिति गठन कार्यक्रम नेमकिपा ७ वडा समितिको आयोजनामा महेश्वरी बैंकेटमा एक प्रवचन कार्यक्रमका साथ सम्पन्न गनेरको छ ।


प्रवचन कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ का. नारायणमान विजुक्छें (रोहित) ले घर बलियो हुन जमिनमुनि नेखिने जग बलियो हुनुपरे जस्तै वि.सं. २०१७ सालदेखिको सैद्धान्तिक कक्षाहरु सञ्चालनबाट पार्टीको बलियो जग बसेको हो । पार्टी संगठन बजबुत बनाउन सैद्धान्तिक धार बलियो बनाइराख्नु जरुरी हुन्छ र सोको लागि पार्टी संगठनका साथीहरुले गल्ती कमजोरी गरेपछि समयमा आलोचना गरी सच्याउनु पर्छ भन्नुभयो । भक्तपुर नगरमा त्यतिबेला नगरपालिकाले गल्ली गल्लीको निम्ति एउटा इटाको निम्ति पनि बजेट राख्दैनथ्यो टोलटोलका किसान कार्यकर्ताहरुको आफ्नै जनश्रमदानबाट विकास निर्माण कार्य भएको र त्यस्तो कार्यहरुमा पनि साथीहरु भ्रष्टाचारमा फसेको स्मरण गर्नुहुँदै कुनैपनि किसिमको गलत काम कसैले पनि गर्न नहुने र त्यस्तो कार्यबाट संगठन र समाजलाई अहित हुनेछ भन्नुभयो । उहाँले पार्टीे प्रकाशनहरु अध्ययन नगर्ने साथीहरु नियमित रुपमा विद्यालय नजाने विद्यार्थी जस्तै हुने भएकोले सैद्धान्तिक रुपमा स्पष्ट भइरहनको लागि पार्टी प्रकाशनहरु नियमित अध्ययन गर्नु जरुरी छ भन्नुभयो ।
सन् १९४९ मा चिनियाँ क्रान्ति सफलभएपछि का. माओका भतिजाले आफू पनि पेकिङमा आएर काम गर्न पाउँ भनी लेखेको पत्रको उत्तरमा माओले तिमी जस्तै देशका सबै युवाहरु राजधानीमा आएर बस्न थाले यहाँ बस्ने ठाउँ नै हुँदैन त्यसैले आफ्नो आफ्नो क्षमता र ज्ञान अनुसार आ आफ्नो ठाउँमै बसेर काम गर्नुपर्छ भन्नुभएको उल्लेख गर्नुका साथै दोस्रो विश्वयुद्धमा स्तालिनको छोरा शत्रुबाट पक्राउ पर्दा एकसय जना देशद्रोही गुप्तचरहरु रिह गराउन सौदाबाजी गराउन खोजेको स्मरण गर्नुहुँदै नेतृत्वले देश र क्रान्तिभन्दा आफ्ना परिवार नाताकुटुम्बलाई प्राथमिकतामा राख्न नहुने विचार व्यक्त गर्नुभयो ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं भक्तपुर क्षेत्र नं. १ का उम्मेदवार का. प्रेम सुवालले प्रतिनिधिसभा संसद भनेको देशको हितका लागि ऐन कानुन तथा नीति नियमहरु थलो हो, देश तथा सरकारले विभिन्न देशहरुसंग के कस्तो सम्बन्ध विस्तार गरेको छ, त्यो सही हो वा गलत भन्ने विषयमा गम्भीर रुपमा छलफल गरी मत राख्नु पर्ने हुन्छ । प्रतिनिधि सभाको लागि हुने निर्वाचनमा विभिन्न विकास निर्माण कार्य बारे आश्वासन दिनु गलत हो भन्नुहँुदै संघीय संरचना अनुसार जनताका लागि आवश्यक विभिन्न बाटोघाटो बनाउने लगायतका कार्यहरु हेर्ने काम स्थानीय तहले गर्ने हो भन्नुभयो । कानुनमा २० वर्ष पूरा नभइ विवाह गर्न नहुने बन्दोवस्त रहेकोमा कतिपयको विवाह त्योभन्दा कम उमेरमा हुँदा बालविवाहमा पर्न गयो भनेर अब विवाह गर्ने न्यूनतम उमेर कम गर्नुपर्यो भनी संसदमा छलफलमा ल्याएको छ यस्तो विषयमा प्रस्ताव के कति कारणले ठीक वा बेठीक भनी विचार राख्ने हो मत दिने हो । उहाँले नेपाल मजदुर किसान पार्टीले पार्टीको घोषणापत्र बमोजिम मात्रै काम गरेको छ र गरिनेछ भन्नुहुँदै हाम्रो पार्टीको उद्देश्य भनेको देश र जनताको इमान्दारीपूर्वक सेवा गर्ने नै हो भन्नुभयो । उहाँले भक्तपुर क्षेत्र नं. २ का उम्मेदवार नेपाल मजदुर किसान पार्टीको जनवर्गीय संगठन नेपाल क्रान्तिकारी विद्यार्थी संघमा आबद्ध इमान्दार कृषि विशेषज्ञ रमेश वैद्य एक जना योग्य व्यक्ति भएकोले पार्टीले उम्मेदवारी दिलाएको हो भन्नुहुँदै उहाँले सबै समर्थक, कार्यकर्ता तथा सहयोगीहरुलाई प्रत्यक्ष र समानुपातिक दुवै मतपत्रमा मादलमा मतदान गर्न गराउनको लागि सहयोग गर्न अनुरोध गर्नुभयो ।

पार्टी केन्द्रीय सदस्य एवं कोसी प्रदेशका संयोजक उकेश कवांले यस वर्ष भएको युवाहरुको विद्रोह सैद्धान्तिक रुपमा परिपक्व भइ वास्तविक क्रान्ति भएको भए देशको संविधान नै फ्याकेर नयाँ परिस्थितिको सिर्जना हुने हो तर त्यसो हुन नसक्दा उहीं संविधान अन्तर्गत चुनावमा जानुपर्ने अवस्था आएको छ । चुनावबाट आमूल परिवर्तन हुँदैन भन्ने कुरा नेमकिपालाई थाहा छ त्यसैले नेमकिपाले चुनावलाई जनताको चेतनास्तर उठाउने उद्देश्यले उपयोग गर्दै आएको छ, यस निर्वाचनमा ठूला भनी दिंग हाँक्ने पूँजीवादी पार्टीहरुले कानुन बमोजिम ३३ प्रतिशत महिला उम्मेदवार पनि पुरा गर्न सकेन, निर्वाचन आयोग सक्षम र निष्पक्ष कार्वाही गर्ने हो भने उनीहरुको उम्मेदवारी नै रद्द गर्नुपर्ने हो भन्नुभयो । उहाँले कोसी प्रदेशका अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको र नेमकिपाप्रति जनताको समर्थन राम्रो रहेको कुरा गर्नुहुँदै त्यहीका साथीहरु आफैं स्वस्फूर्त लागिपरेको छ भन्नुभयो । उहाँले नेमकिपाले स्थानीय तहमा विजय प्राप्त गरेर जिम्मेवारीपूर्वक जनताको सेवा गरिरहे जस्तै अन्य दलले जितेका कुनै पालिकामा काम नगरेकोले देश पछाडि परेको हो भन्नुहुँदै धरानका जनता भक्तपुरमा जस्तै विकास गराउन नेमकिपा बन्ने र नेमकिपा जिताऔं भन्ने लहर नै चलेको बताउनुभयो ।
नेमकिपा भक्तपुर नगर समितिका सदस्य नारायणप्रसाद त्वानाबासुले नेपालमा हरेक जसो निर्वाचनमा नयाँ नयाँ पार्टीहरु आउने गरेको तर नेपाल मजदुर किसान पार्टी हरेक समयमा नेपालको राजनीतिमा स्पष्ट विचार राख्ने पार्टीको रुपमा उभिनुका साथै नेपालको कम्युनिष्ट आन्दोलनमा प्रकाश स्तम्भको रुपमा रहँदै आएको पार्टी भएकोले अहिलेको निर्वाचन स्थानीय तहको नभएकोले प्रतिक्रियावादी पार्टीहरुले हल्ला फैलाए जस्तो विकासको नारा दिनु जनतामा भ्रम फैलाउने काम हो । नेमकिपाले त्यस्तो गर्दैन भन्नुभयो । नेमकिपाले सिद्धान्त अनुसार जनतासंग मत मागि पार्टीका उम्मेदवारहरुलाईइ अत्याधिक बहुमतले विजयी गराउने गर्दछ भन्नुभयो ।
कार्यक्रममा नेमकिपाबाट काठमाण्डौ २ मा उम्मेदवारी दिने शर्मिला माली (बनमाला), ललितपुर २ बाट उम्मेदवारी दिने चिरिमैयाँ महर्जन, झापा ३ बाट उम्मेदवारी दिने धर्मलक्ष्मी लघुले आ आफ्नो निर्वाचन क्षेत्रको स्थितिबारे बताउनुहुँदै सहयोगको लागि अनुरोध गर्नुभयो भने कार्यक्रमको सभापतित्व आयोजक समितिका अध्यक्ष कृष्णगोविन्द खाइजूले गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य समितिका उपाध्यक्ष पुरुषोत्तम ग्वाछाले गर्नुभएको थियो भने सञ्चालन सचिव बलराम गोसाईले गर्नुभएको थियो । कार्यक्रमबाट नेपाल मजदुर किसान पार्टी भनपा ७ वडा समितिका अध्यक्ष कृष्णगोविन्द खाइजूको संयोजकत्वमा १२७ सदस्यीय भनपा ७ वडा स्तरीय निर्वाचन परिचालन समिति गठन गरी घोषणा गरेको थियो ।