भनपाका वडानिरिक्षक, ड्राइभर, हेल्पर र सफाई मजदुरहरुको भेला
भक्तपुर, ३० पुस । भक्तपुर नगरपालिका वातावरण समितिको आयोजनामा नगरपालिकामा कार्यरत वडानिरिक्षक, ड्राइभर, हेल्पर र सफाई मजदुरहरुको भेला वातावरण समितिका संयोजक एवम् ९नं वडाध्यक्ष रविन्द्र ज्याख्वको आतिथ्यतामा भनपा सभाकक्षमा बुधबार सम्पन्न भयो ।
भेलामा अतिथि रविन्द्र ज्याख्वले संगठनात्मक संरचना भित्र कार्यालय प्रमुखको गुनासो आउने गरी काम गर्नु राम्रो नभएको बताउँदै गुनासो सुधार नभए कामको नविकरण नहुने बताउनुभयो । उहाँले सफाइ मजदुर नगरपालिकाको भएकोले उसले गरेको हरेक सकारात्मक र नकारात्मक गतिविधिमा जनताले नगरपालिकालाई गुनासो गाली गर्ने बताउँदै गुनासोको समिक्षा गर्दै नागरिक प्रति उत्तरदायी भई कमिकमजोरी नगर्ने प्रतिवद्धता आउनुपर्ने बताउनुभयो । उहाँले सानो नगर जनघनत्व बढी भएकोले सरसफाइमा चुनौति बढी रहेको बताउँदै मानिसहरुको गतिविधि अनुसार फोहर बढ्ने बताउनुभयो । उहाँले सफाइ कार्य सानो काम नभई सम्मानित काम भएको बताउँदै जनताको स्वास्थ्य प्रति संवेदनशील भई बढी सफाइ मजदुर भयो भनेता पनि सफाइ कर्मचारीहरुको आर्थिक र सामाजिक स्तर उकास्ने सोचले निजि क्षेत्रलाई सफाइ काम नदिएको बताउनुभयो । उहाँले नेपाल मजदुर किसान पार्टीको भाबना अनुसार जनताको सेवा गर्ने काम गर्न निर्देशन दिँदै सफाई कर्मचारीहरुको कार्यसम्पादन मुल्याङ्कन विना नविकरण र बढुवा नहुने भएकोले बैठक बरोबर बसेर समिक्षा गरेर वडानिरिक्षकहरुले दैनिक काम दिनुपर्ने बताउनुभयो ।

उहाँले सफाइ कर्मचारीहरु सबै नगरपालिकाको परिवार भएकोले कामको समयमा भएको दुर्घटनाको जिम्मेवारी लिई अभिभावकीय भूमिका निभाई सम्पूर्ण उपचार खर्च व्यहोरेको र छोरीको शिक्षा र परिवारलाई जीवन निर्वाह गर्न योग्यता अनुसार काम र काजक्रिया खर्च समेत व्यहोरेको र अव आइन्दा यस्तो दुर्घटना हुन नदिने प्रतिवद्धता गराएको जानकारी दिनुभयो । उहाँले कर्मचारीहरुले कार्यालय समय अवधिमा कानुनले बर्जित गरेको कुनैपनि गतिविधि गर्न नहुने बताउँदै कार्यालय समयमा अतिरिक्त आम्दानी गर्नुपनि भ्रष्टाचार नै भएको बताउनुभयो ।
कार्यक्रममा वातावरण समितिका सदस्य एवम् ४ नं वडाध्यक्ष उपेन्द्र सुवालले सुरक्षा मामिलालाई मध्य नजर नगरी काम गर्दा एकजना होनहार नागरिकको मृत्युले नगरपालिकालाई क्षेति पुगेको बताउँदै आफ्नो कर्तव्य इमान्दारीताका साथ एक आपसमा दोषारोपन नगरी समन्वय गरेर काम गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा वातावरण समितिका सदस्य मञ्जुमैया लाखाजुले माघे संक्रान्तिमा ध्यु चाकु खानु स्वास्थ्य वद्र्धक भएको डाक्टरहरुको लेख र खौमामा रहेको तिल नारायण माधव र सिपारे महादेवको बारे जानकारी दिँदै सफाई मजदुरहरुले वडामा पनि समन्वय गरेर काम गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा श्यानिटेशन उपशाखा प्रमुख दिलिप कुमार सुवाल र वडानिरिक्षक रामकृष्ण प्रजापतिले पनि बोल्न भएको थियो ।














