नेमकिपाको विरोध र भत्र्सना

नेमकिपाको विरोध र भत्र्सना
भक्तपुर, भाद्र २४ गते

नेपाल मजदुर किसान पार्टीले हिजो भएको १९ जना निहत्था युवाहरूको वर्बरतापूर्वक हत्या भएकोमा विरोध एवम् भत्र्सना गरेको छ । नेमकिपा सचिव प्रेम सुवालले आज जारी गरेको विज्ञप्ति मार्फत भत्र्सना गरेको हो । प्रजातन्त्र पुनःस्थापनापश्चात् गठन भएका सबै सरकार र शासक नेताहरूबाट भएको भ्रष्टाचार, भागवन्डा, अनियमितता तथा अन्याय अत्याचारको विरोध गर्दै देश र जनताको पक्षमा सङ्घर्ष चालु राख्दै आएको हो। नेपाली काङ्ग्रेस र एमालेको ओली गठबन्धन सरकार गठनपश्चात् पनि नेमकिपाले त्यस सङ्घर्षलाई सदन र सडकमा निरन्तरता दिँदै गयो । तथापि, अत्याचारी ओली सरकारले जनताको आवाजलाई अवज्ञा गर्दै दम्भु देखाउने कार्य र फासीवादी प्रवृत्तिलाई निरन्तरता दियो । ओली सरकारले देशलाई भ्रष्टाचारका अनेकौं काण्डमा फसाउँदै लग्यो । फलस्वरूप नेपाली जनताको आक्रोश एवम् असन्तुष्टि बढ्दै गयो। भ्रष्ट एवम् अत्याचारी ओली सरकारले भाद्र २३ गते सोमवार काठमाडौं र देशका विभिन्न जिल्लामा प्रहरी दमन गर्यो। सोमबारको उक्त घटनामा १९ जना निहत्था युवाहरूको वर्बरतापूर्वक हत्या भएकोमा नेमकिपा विरोध एवम् भत्र्सना गर्दछ । नेमकिपा ज्यान गुमेका युवाहरूप्रति श्रद्धान्जली र परिवारजनमा समवेदना व्यक्त गर्दछ र दमन कार्य अविलम्व रोक्न माग गर्दछ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ। ओली सरकारले भाद्र २४ गते समेत गरेको दमन एवम् ज्यादतीले ओली सरकारको पतन पनि भयो । केपी ओलीको सरकारले देश र जनताको नेतृत्व गर्न नसकेपछि धेरै दिनअगाडि नै राजीनामा दिए राजनीतिक निकासको मार्गप्रशस्त गर्नुपर्ने थियो। नेपाल मजदुर किसान पार्टीले यो विषय उठाउँदै आएको हो । नेमकिपा देशभक्त तथा न्यायप्रेमी जनताकै पक्ति र सङ्घर्षमा छ । सचिव सुवालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।