चनपामा डेंगु बारे अभिमुखिकरण कार्यक्रम आयोजना
भक्तपुर, असार ४ गते
स्वास्थ्य शाखा, चाँगुनारायण नगरपालिकाले डेंगु संक्रमण रोकथामकालागि विशेष अभियान सञ्चालन गर्ने भएको छ । बढ्दो डेंगु रोग रोकथामकालागि आज नगरस्तरीय अभिमुखिकरण कार्यक्रम गर्दै डेंगु रोगको जोखिम व्यवस्थापनकालागि सरोकारवाला निकाय बीच छलफल समेत गरेका हुन ।
जनस्वास्थ्य कार्यालय भक्तपुरका खोप अधिकृत दिपक अछामीले डेंगु रोगको अवस्था, जोखिम व्यवस्थापनका लागि चलाउनुपर्ने अभियान बारे जानकारी दिदै भक्तपुर जिल्लामा डेंगु संक्रमण रोकथामकालागि भइरहेका प्रयासहरु बारे प्रस्तुतीकरण गरेका थिए ।


सो अवसरमा नगर प्रमुख खत्रीले लामखुट्टे खोज्ने र नष्ट गर्ने कार्य सहित डेंगु नियन्त्रणको योजना बनाएर टोलटोलमा पुग्न आग्रह गर्नुभयो । “अबको चार महिना डेङ्गु सङ्क्रमण बढ्ने निकै नै जोखिम हुन्छ”, मेयर खत्रीले भन्नुभयो, “अबको चार महिना लामुखट्टेको बासस्थान खोज र नष्ट गर अभियान सञ्चालन गर्न लाग्नुहोस् ।” समुदायलाई प्रत्यक्ष प्रभाव पर्ने र जनचेतना फैलाउने कार्य गर्नुपर्नेमा उहाँले जोड समेत दिनुभयो । साथै उहाँले यस्ता अभियानमूलक कार्यक्रममा नगरपालिकाले बजेट ब्यवस्थापनमा कुनै कमी नल्याउने पनि स्पष्ट पार्नुभयो । प्रमुख प्रशासकीय अधिकृत मोहन कुमार श्रेष्ठले वडावडाका स्वास्थ्य संस्थामार्फत जनसचेतना फैलाउने कार्य गर्न निर्देशन दिनुभयो ।
समुदायमा डेंगु संक्रमण देख्न थाले पनि के कति मात्रामा संक्रमित भए भन्ने एकिन भइ नसकेपनि शाखा प्रमुख दिलकुमार दुवालले लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान समुदायस्तरमा सञ्चालन गर्न सके बढ्दो डेंगु संक्रमणबाट चाँगुवासीलाई सुरक्षित पार्न सकिने बताएका थिए ।
जनस्वास्थ्य कार्यालय भक्तपुरबाट अभिमुखिकरण भएपछि चाँगु नगरभर डेंगु बारे जनचेतनामुलक गतविधि गर्ने विशेष कार्यक्रम समेत तर्जुमा भएको भन्दै उहाँले डेंगु लागेका नगरवासीहरुलाई निःशुल्क उपचारको व्यवस्था समेत रहेको भन्दै उहाँले यसबाट महामारी फैलिन नदिन विशेष सर्तकता अपनाएको पनि जनाएका छन् । कोरोना र डेंगुले उस्तै किसिमले मानिसलाई कमजोर बनाउने भएपनि कोरोनाले भन्दा बढी डेंगुले गाह्रो बनाउने गरेको बताउँदै शाखा प्रमुख दुवालले डेंगुबाट बच्न लामखुट्टेले टोक्न दिन नहुने वातावरण बनाउन जोडदिनु भयो ।
कार्यक्रममा नगरभरका स्वास्थ्य चौकीका प्रतिनिधी, स्वास्थ्य स्वयमसेवकीकाहरु, जनप्रतिनिधी एवं पत्रकारहरु बीच डेंगु रोगको अवस्था, समस्या र चुनौतिहरुको समीक्षा गर्दै डेंगु संक्रमण रोकथामकालागि विभिन्न जनचेतनामुलक कार्य गर्नुपर्ने सुझाएका थिए ।













