डिजिटल एक्स्पो सम्बन्धी तालिम सञ्चालन

डिजिटल एक्स्पो सम्बन्धी तालिम सञ्चालन
भक्तपुर, जेष्ठ ११ गते
नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको आयोजनामा हुन गइरहेको दोस्रो डिजिटल एक्स्पोसम्बन्धी तालिम भक्तपुरमा आइतबार सञ्चालन गरिएको छ ।
भक्तपुर उद्योग वाणिज्य संघको आयोजनामा तालिम सञ्चालन गरिएको हो । संघकी अध्यक्ष रोशनीमैयाँ धौबन्जाले वर्तमान अवस्थामा उपभोक्ताहरुले भौतिक रुपमा भन्दा अनलाइन माध्यमबाट आफूलाई आवश्यक वस्तु तथा सेवा खरिद गर्ने क्रम बढेको भन्दै डिजिटल एक्स्पो बिक्रेता र ग्राहकको लागि राम्रो प्लेटफर्म साबित हुने विश्वास व्यक्त गरिन् । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले आयोजना गर्ने डिजिटल एक्स्पोमा सहभागी भई आफ्ना उत्पादित वस्तुहरुको प्रवद्र्धन गर्नको लागि उनले आग्रह गरिन् ।


नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका महासचिव दुर्गाराज श्रेष्ठले एक्स्पोमा सबै क्षेत्रका उद्यमी व्यवसायीहरुले सहभागिता जनाउन सक्ने बताए । अनलाइन व्यापारको अभ्यासमा उद्यमी व्यवसायीहरुलाई अभ्यस्त बनाउँदै उत्पादित सामग्रीहरुको बजारीकरणमा मद्दत पु¥याउन एक्स्पो आयोजना गरिएको उनको भनाइ छ । उनले अनलाइनबाटै स्टल बुकिङ गर्न सक्ने व्यवस्था रहेको भन्दै एक्स्पो जेठको अन्तिम सातादेखि सुरु हुने जानकारी दिए ।
संघका निवर्तमान अध्यक्ष शिवप्रसाद मानन्धर, नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश अन्तर्गतको साना तथा मझौला उद्योग समितिकी सभापति लक्ष्मी खनाल, संघका वरिष्ठ उपाध्यक्ष कृष्णमुरारी न्यौपाने, कार्यसमिति सदस्य एवं संघअन्तर्गतको मेला समितिका संयोजक रञ्जित मारिखू लगायतले डिजिटल व्यापार मेला उद्यमी व्यवसायीहरुका लागि समय सुहाउँदो प्लेटफर्म रहेको बताए ।
प्रशिक्षक सौरभ चालिसेले तालिममा डिजिटल व्यापार मेलामा स्टल बुकिङ गर्ने तरिका, स्टलमा आफ्नो उत्पादनको विवरण राख्ने, अर्डर आएका सामान ग्राहकसम्म पु¥याउने विधि लगायतका विषयमा प्रशिक्षण दिएका थिए । यसैगरी, उनले डिजिटल मार्केटिङका विषयमा समेत जानकारी गराएका थिए । तालिममा विभिन्न क्षेत्रका उद्यमी व्यवसायीहरुको सहभागिता रहेको थियो ।