छालिङ्गका जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण

चाँगुनारायणमा ज्येष्ठ नागरिकहरुका लागि १ दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न ।
१९ मङ्सिर २०८१
चाँगुनारायण, भक्तपुर
चाँगुनारायण नगरपालिका र नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको साझेदारीमा संचालित स्वास्थ्य बुढ्यौलीका लागि सहारा परियोजना अन्तर्गत वडा नम्बर ५ को छालिङ स्वास्थ्य चौकीमा निःशुल्क जेष्ठ नागरिक स्वास्थ्य शिविरको आयोजना गरियोे । वडा कार्यालय तथा ज्येष्ठ नागरिक मिलन चौतारी वडा नं ५ को समन्वयमा सञ्चालित स्वास्थ्य शिविरमा १६३ जना ज्येष्ठ नागरिकहरुलाई निःशुल्क स्वास्थ्य जाँच संगै औषधि वितरण गरिएको थियो ।


निःशुल्क स्वास्थ्य शिविरमा भक्तपुर अस्पतालका हाड जोर्नी विशेषज्ञ, स्त्री रोग विशेषज्ञ, नाक कान घाँटी विशेषज्ञ र फिजिशियन चिकित्सक, ख्वप तिलगंगा आँखा अस्पतालका आँखा जाँच गर्ने टोली र नगर अस्पतालका चिकित्सक टोलीद्धारा ज्येष्ठ नागरिकहरुको स्वास्थ्य जाँच गरिएको थियो । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र बाट आउनुभएको टोलीले ७७ जनाको छातिको एक्सरे गरि १३ जना ज्येष्ठ नागरिकहरुमा क्षयरोग शंकास्पद देखिएको हुँदा थप उपचारका लागि राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रमा सिफारिस गर्नुभएको थियो र ११० जना ज्येष्ठ नागरिकहरुको सुगर टेस्टको पनि गरिएको थियो । उक्त स्वास्थ्य शिविरमा १६३ जना जेष्ठ नागरिकहरूले स्वास्थ्य सेवा लिनुभएको थियो । शिविरबाट पहिचान भएका थप उपचार सेवा आवश्यक ज्येष्ठ नागरिकहरुको लागि स्वास्थ्य संस्थाहरुसंग आवश्यक समन्वय र सहकार्य नगरपालिकाको स्वास्थ्य शाखाले गर्नेछ ।
शिविरको शुरुवातमा नेपाल रेडक्रस सोसाईटी केन्द्रका उपमहामन्त्री मनोज कुमार थापाले स्थानीय तहसंग सहकार्य गर्दै समुदायको संकटासन्नता कम गर्ने तथा सामुदायिक विकासमा सदैव अग्रसर नेपाल रेडक्रस सोसाइटी मानवीय सेवा कार्यमा सदैव जनताको साथमा रहेको बताउनुभयो । चाँगुनरायण नगरपालिका वडा नं ५ का अध्यक्ष जयेन्द्र खड्काले चाँगुनारायण नगरपालिकाले निःशुल्क रगत तथा अक्सिजन वितरण, विभिन्न औषधीहरु निःशुल्क वितरण, ज्येष्ठ नागरिक परिचय पत्र वितरण, ज्येष्ठ नागरिक समुह गठन, बाद्यबाधन सामग्रीहरु वितरण, धार्मिक भ्रमण जस्ता विविध कार्यक्रम तथा गतिविधिहरु संचालन गरिरहेको जानकारी दिनुभयो । उहाँले ज्येष्ठ नागरिक मिलन चौतारीहरु आवश्यकता अनुसार गठन र पूर्नगठन गरिएको बताउनुहुदै नगरबासी ज्येष्ठ नागरिकहरुलाई स्वस्थ्य र सक्रिय बनाउने कार्यमा नगरपालिकाले सदैव प्राथमिकता दिई कार्य गर्दै आइरहेको बताउनुभयो ।
स्वास्थ्य शिविरको अवलोकन चाँगुनारायण नगरपालिकाका नगरप्रमुख जीवन खत्री, नगर उपप्रमुख रमेश बुढाथोकी, नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाका सभापति परशुराम पाण्डे, वडा अध्यक्ष जयेन्द्र खड्का, कार्यपालिका सदस्य निर्मला के.सी तथा वडा सदस्यहरु प्रभुराम थापा, सुरेश कार्की, स्वास्थ्य शाखा प्रमुख दिलकुमार दुवाल, नगर अस्पतालका मे.सु डा. अर्जुन कार्की, रेडक्रसका पदाधिकारी तथा सदस्यहरु, नगरपालिकाका विपद् व्यवस्थापन इकाई प्रमुख एवं सहारा परियोजना संयोजक दिनेश थापा, भक्तपुर रेडक्रसकी कार्यालय प्रमुख उमा थापा लगायत नगरपालिका तथा परियोजनाका कर्मचारीहरुले गर्नुभएको थियो । शिविर संचालनमा नगर अस्पताल, भक्तपुर अस्पताल, ख्वप तिलगंगा आँखा अस्पताल लगायत स्वास्थ्य संस्थाले आवश्यक प्राविधिक सहयोग गर्नुभएको थियो । वडा नं ७ बागेश्वरीमा यही मंसिर २३ गतेका दिन ज्येष्ठ नागरिक स्वास्थ्य शिविर संचालन गरिनेछ ।

छालिङ्गका जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण
भक्तपुर, मंसिर १९ गते
स्वस्थ्य बुढ्यौलीका लागि सहारा परियोजना अन्तर्गगत सहारा परियोजना चाँगुनारायण नगरपालिकाले आज ज्येष्ठ नागरिक निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । चाँगुनारायण नगरपालिका वडा नं ५ छालिङ्ग स्वास्थ्य चौकी प्राँगणमा आयोजित सो स्वास्थ्य शिविरबाट सयौं जेष्ठ नागरिकहरुले स्वास्थ्य सेवा लिएको स्वास्थ्य शाखा चानपाका प्रमुख दिलकुमार दुवालले जनाएको छ ।


ज्येष्ठ नागरिकलाई लक्षित गर्दै स्वास्थ्य शिविर आयोजना गर्दा ज्येष्ठ नागरिकमा देखिएका रोगहरुको पहिचान र उपचार, सुगर प्रेसर सहित सामान्य स्वास्थ्य उपचार अन्तर्गत नाक, कान घाँटी, आँखा, तथा विशेक्ष सेवामा ज्ञस्त्री रोग, हाडजोनी रोगहरुको स्वास्थ्य परिक्षण गर्नुका साथै निःशुल्करुपमा औषधी समेत वितरण गरेको थियो । शिविरमा चाँगुनगर अस्पतालका प्रमुख डाक्टर अर्जुन कार्कीले विशेषज्ञ सेवा सहित चाँगु क्षेत्रका ज्येष्ठ नागरिकहरुलाई सहज स्वास्थ्य सेवा दिन शिविर आयोजना गर्दै आएको उल्लेख गर्दै चाँगु नगर अस्पतालले पनि नियमित रुपमा विशेषज्ञ सेवा सहित स्वास्थ्य सेवा दिदै आएको बताउनु भयो । यसै हप्ता चौथौ स्थापना दिवस भव्य रुपमा नगरवासीहरुको साथ र सहयोगबाट मनाउने तयारी भइरहेकोे डाक्टर कार्कीले बताउनु भयो । डाक्टर कार्कीले भन्नु भयो चाँगु नारायण नगरअस्पताललाई नमूना, सामुदायिक अस्पताल बनाउ चाहन्छौं । नगरवासीहरुलाई चाँगु नगर अस्पतालले के कस्तो सेवा दिइआएको छ । अझ थप के कस्तो सेवा दिनुपर्नेछ भन्ने विषयमा जानकारी दिनुपर्ने छ ।
कार्यालय प्रमुख दुवालले आज भएको स्वास्थ्य शिविरबाट छालिङ्ग क्षेत्रका १६० ज्येष्ठ नागरिकहरु लाभावित भएको बताए । सहभागी जेष्ठ नागरिकहरु मध्ये ७७ जनाले छातीको एक्सेर १०७ जनाले आँखा परिक्षण, ५७ जनाले हातर्जोनी र २७ जनाले स्त्री रोग परीक्षण गरेको बताउँदै नगरवासीहरुको स्वास्थ्य सेवाकालागि वडा वडामा यसै गरी स्वास्थ्य शिविर आयोजना गर्ने योजना रहेको बताउनु भयो ।