महेश्वरी रंगशाला निर्माण र सहिदस्मृति खेलमैदान स्तरोन्नति गर्ने विषयमा प्रदेश खेलकुदमन्त्री ढकालको ध्यानाकर्षण
२०७९ साउन २८ गते, आइतबार
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बागमती प्रदेश सरकार युवा तथा खेलकुद मन्त्रालयका माननीय रत्नप्रसाद ढकाललाई भक्तपुरको महेश्वरी रंगशाला निर्माण र सहिद स्मृति खेलमैदान स्तरोन्नति गर्ने विषयमा ध्यानाकर्षण गराउनुभएको छ ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र बागमती प्रदेश सरकार युवा तथा खेलकुद मन्त्रालयका माननीय रत्नप्रसाद ढकालबीच आइतबार नगरपालिकाको सभाकक्षमा भएको भेटवार्तामा भक्तपुरको खेलकुद क्षेत्रको विकास र खेलमैदान स्तरोन्नति गर्ने विषयमा छलफल भयो ।

भेटमा मन्त्री ढकालले भक्तपुरमा महेश्वरी रंगशाला निर्माण र सहिदस्मृति खेलमैदानलाई कभर्ड हलको रुपमा विकास गर्न नगरपालिकासँग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।
प्रदेशस्तरको खेलकुद प्रतियोगिता आयोजनाको लागि खेलकुद पूर्वाधार अभाव हुन नदिन प्रदेश सरकारले प्रादेशिक खेलमैदानलाई स्तरोन्नति गर्दै रंगशाला र कभर्ड हल निर्माणमा जोड दिँदै आएको बताउनुहुँदै मन्त्री ढकालले प्रदेश सरकार र स्थानीय तहबीचको सहकार्यले विकासको नयाँ मोडल स्थापित गर्न मद्दत पु¥याउने बताउनुभयो ।
समाजवादउन्मुख अर्थतन्त्रको विकासमा भक्तपुर नपाले अग्रणी भूमिका निर्वाह गरिरहेको बताउनुहुँदै संघ, प्रदेश र देशका अन्य स्थानीय तहहरुको लागि भक्तपुर नगरपालिकाले गरिरहेको काम उदारणीय र सिक्नयोग्य भएको बताउनुभयो ।
त्यस्तै नगर प्रमुख प्रजापतिले शिक्षा, स्वास्थ्य र सम्पदा पुनःनिर्माणलगायतका क्षेत्रमा जस्तै खेलकुद क्षेत्रलाई पनि तुलनात्मक रुपले अगाडि बढाउने प्रयत्न गर्दै भक्तपुर नपाले नियमित ६ वटा खेलको प्रशिक्षण, विद्यालयहरुमा पूर्णकालीन खेल प्रशिक्षकहरुको नियुक्तिका साथै अन्तर नगर खेलकुद र अन्तर विद्यालय खेलकुद प्रतियोगिता सञ्चालन गर्दै खेलकुदलाई नागरिक जीवनको अभिन्न अंगको रुपमा विकास गर्ने प्रयास गरिरहेको बताउनुभयो ।
उहाँले भक्तपुर नपाको ठाउँ ठाउँमा खेलकुद कभर्ड हलको निर्माणको क्रम जारी रहेको अवगत गर्नुहुँदै महेश्वरीमा रंगशाला निर्माण र सहिदस्मृति खेलमैदानलाई कभर्डहलको रुपमा स्तरोन्नति गर्न प्रदेश सरकार युवा तथा खेलकुद मन्त्रालयको तर्फबाट आवश्यक सहयोग रहने अपेक्षा गर्नुभयो ।
उक्त समारोहमा ख्वप कलेज अफ इन्जिनियरिङका ई. अमिल प्रजापतिले महेश्वरी खेलमैदान र सहिद स्मृति खेलमैदानको डिजाइन प्रस्तुतीकरण गर्नुभएको थियो ।
प्रमुख प्रजापतिले मन्त्री ढकाललाई भादगाउँले टोपी र खादाले स्वागत गर्नुभएको थियो भने नपाका केही प्रकाशन र मयुर झ्याल मायाको चिनोको रुपमा प्रदान गर्नुभएको थियो ।
भेटमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्व, भक्तपुर नपा युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्री, कार्यपालिका सदस्यहरु, भक्तपुर जिल्ला खेलकुद परिषद्का अध्यक्ष दिपक थापालगायतको उपस्थिति रहेको थियो ।















