चाँगुमा फाल्गुण १३ गतेदेखि खोप अभियान सञ्चालन हुने
भक्तपुर, फाल्गुण ८ गते
चाँगुनारायण नगरपालिकामा फाल्गुण १३ गते देखि दादुरा रुवेला खोप अभियान सञ्चान गर्ने भएको छ । नगर भित्रका कोही पनि बालबालिका खोपबाट नछुटुन भन्ने उदेश्यले आज दादुरा रुवेला खोप अभियान २०८०को नगरस्तरीय अभिमुखिकरण कार्यक्रम आयोजना गर्दै नगरस्तरीय खोप समन्वय समितिले नगरपालिकाको सभहलमा आज अभिमुखिकरण कार्यक्रम आयोजना गरेको हो ।


नगरपालिकाका नगर प्रमुख जीवन खत्री सहित जनप्रतिनिधी, स्वास्थ्यकर्मी तथा कर्मचारी र पत्रकारहरुको सहभागितामा भएको सो अभिमुखिरकण कार्यक्रममा नगरभित्र रहेका १८ हजार ६ सय ९२ जना बालबालिकाहरुलाई नगरका ७० विद्यालय, १४ संघसंस्था, ८० वटा खोप केन्द्रबाट खोप दिने तयारी रहेको जनाएको छ । सो खोप अभियानकालागि २४० स्वयमसेवक, १६० स्वास्थ्यकर्मीहरु परिचालन गर्ने तयारी रहेको नगर जनस्वास्थ्य कार्यालयका प्रमुख सत्यकुमार दुवालले जनाएको छ । पूर्ण खोप सुनिश्चित नगर घोषणा भइसकेको चाँगुनारायण नगर पालिकाभित्र देशभर जुनसुकै ठाउँबाट आएका भए पनि खोप अभियान अन्तर्गत सबै बालबालिकाहरुलाई दादुरा रुवेला खोप दिन सकिने गरी नगरस्तरीय खोप समन्वय समितिको तयारी गरेको जनाएको छ । अभिमुखिकरणमा स्वास्थ्य कार्यालय भक्तपुरका खोप अधिकृत शान्तिराम खतिवडाले ९५ प्रतिशत बालबालिकामा खोप सुनिश्चित भएपछि पूर्ण खोपयुक्त नगर घोषणा गर्ने चलन रहे पनि कोही पनि बालबालिका खोपबाट बञ्चित नहुने गरी नगरस्तरीय तयारी गर्नुपर्नेमा जोड दिएका थिए भने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थीले कार्यक्रममा सहजिकरण गरेको थियो । खोप अभियान फाल्गुण १३ गतेदेखि एक हप्ता सञ्चालन गर्ने छन् ।














