भक्तपुर नगरपालिकाद्वारा प्रजिअ रिजाललाई बिदाइ
भक्तपुर । २०८० असोज १, सोमबार
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आज एक कार्यक्रमबीच भक्तपुरबाट सरुवा हुनुभएका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई बिदाइ गर्नुभएको छ ।
प्रजिअ रिजालको बिदाइमा आयोजित उक्त कार्यक्रममा नगर प्रजापतिले प्रजिअ रिजालको करिब साढे ७ महिनाको कार्यकालमा भक्तपुरको शान्ति सुरक्षा, प्रशासनिक एवम् सामाजिक सुधारका कार्यहरु प्रशंसनीय भएको बताउनुभयो ।
प्रमुख प्रजापतिले प्रजिअ रिजालको कार्यकालमा भक्तपुरको दुधपाटीस्थित जुद्ध बारुण यन्त्र परिसरको बाटो खोल्ने प्रयास सफल भएको, भक्तपुरको प्रसिद्ध बिस्का जात्रा र गाईजात्रा सबैको प्रयासमा शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताउनुभयो ।
निजामती कर्मचारीहरुको सरुवा छोटो अवधिमा हुँदा उनीहरुले आफू कार्यरत क्षेत्रको वस्तुस्थिति बुझ्न नसक्ने बताउँदै प्रजिअ रिजालले भक्तपुरको प्रचारकको रुपमा काम गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।


कार्यक्रममा भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले प्रजिअ रिजाल आफ्नो कार्यदक्षतामा निपुण र जनताको सामिप्यमा रही काम गर्ने कुशल प्रशासकको रुपमा पाएको बताउँदै भक्तपुर नपाको हरेक गतिविधिमा जिल्ला प्रशासन कार्यालयको सकारात्मक भूमिका रहँदै आएको प्रष्ट पार्नुभयो ।
बिदाइ समारोहमा बोल्दै प्रजिअ रिजालले भक्तपुरको साढे ७ महिनाको कार्यअनुभव निकै स्मरणयोग्य भएको बताउँदै भक्तपुरलाई आफ्नो कार्यक्षेत्र बनाउन पाउनुमा गौरवान्वित महसुस गरेको बताउनुभयो ।
उहाँले भक्तपुर एक पवित्र तीर्थस्थलको रुपमा पाएको स्मरण गर्दै भक्तपुरसदाचारको टापु र सुशासनको अध्ययन केन्द्रको रुपमा रहेको बताउनुभयो ।
भक्तपुरले रानी पोखरी पुन:निर्माण, ख्वप अस्पताल निर्माण जस्ता उदाहरणीय काम गरेको बताउँदै उहाँले भक्तपुर नपाको काममा अपनत्व भएकै कारण भक्तपुर नपाका सबै कार्यक्रमहरुमा सहभागी भएको स्मरण गर्नुभयो ।
कार्यक्रममा भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्माले पदस्थापना र बिदाइ निजामति कर्मचारीहरुको नियमित प्रक्रिया भएको बताउँदै सार्वजनिक सम्पत्ति सुरक्षामा प्रजिअ रिजाल अब्बल देखिएको बताउनुभयो ।
उक्त कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो भने कार्यक्रममा भक्तपुर नगरपालिकाका कार्यपालिका सदस्य, भक्तपुर नपाका शाखा प्रमुखहरुलगायतको उपस्थिति रहेको थियो ।
प्रमुख प्रजापतिले प्रजिअ रिजाललाई भक्तपुर नपाका प्रकाशनहरु र मयुरको झ्याल मायाको चिनोको रुपमा प्रदान गर्नुभएको थियो ।











