स्वास्थ्य परीक्षणमा १३ प्रतिशतमा क्यान्सरको लक्षण
भक्तपुर, असार १९ गते
भक्तपुर क्यान्सर अस्पतालले अस्पताल प्रांगणमा गत शनिबार देखि सुरु गरेकोे एक हप्ते स्वास्थ्य शिविर जारी छ । आजसम्मको परीक्षामा ७०० जनाले दिसामा हुने रगतको परीक्षण सम्पन्न गर्दा १३ प्रतिशतमा पोजेटिभ अर्थात क्यान्सरको लक्षण देखिएको अस्पताल स्रोतले जनाएको छ । एक हजार जनाको दिसा परीक्षण गर्ने लक्ष्यका साथ स्वास्थ्य परीक्षण थालेको सो स्वास्थ्य शिविरले मानिसको आन्द्रा, मलासय र मलद्वारामा हुने क्यान्सर रोग बारे परीक्षण गरेको थियो । पाचनक्रिया र मलमुत्र निस्कासनसँग जोडिएका यी अंगहरुमा हुने क्यान्सर रोगको यो भन्दा पहिलो खासै परीक्षण नगरिएकाले विरामीहरु अन्तिम क्षेणमा मात्र अस्पताल आउने गर्न थालेपछि ४० वर्ष नाघेका महिला र पुरुषहरुको दिसामा हुने रगतबाट क्यान्सर रोगको परीक्षण थालेको अस्पतालका व्यवस्थापक राजाराम तजलेले जनाए ।

आजसम्म ७ सय जनाको परीक्षण गरी सक्दा १३ प्रतिशतमा पोजेटिभ देखिएको र पोजेटिभ आएकाहरु मध्ये धेरै जना महिलाहरु रहेको तर पोजेटिभ भयो भन्दैमा आतिनुनपर्ने उल्लेख गर्दै अस्पतालका स्वास्थ्यकर्मीले पोजेटिभ आएका व्यक्तिले पुनः स्वास्थ्य परीक्षण गराउन अनुरोध गरेको छ । दिसा परीक्षण गराउनु पूर्व बढी माछा मासु सेवानले पनि दिसामा रगत देखिन सक्ने भएकाले पोजिटभ आउँदैमा नआतिन अथवा अन्य कारणले पनि दिसामा रगत आएको हुन सक्ने भएकाले सचेत रहन आग्रह गरेका हुन ।














