गुरु पूर्णीमाको अवसरमा कर्मचारी भेला
भक्तपुर, १८ असार । गुरु पूर्णीमाको अवसरमा नेपाल कर्मचारी समाज भनपा ९ दत्तात्रय समितिको आयोजनामा कर्मचारी भेला तथा पुनःगठन कार्यक्रम नेमकिपाका केन्द्रीय सदस्य एवम् वडाध्यक्ष रविन्द्र ज्याख्वको प्रमुख आतिथ्यतामा शुक्रबार सकोलानमा सम्पन्न भयो ।

कार्यक्रममा प्रमुख अतिथि रबिन्द्र ज्याख्लेले नेपाल मजदुर किसान पार्टीको पेशागत संगठन कर्मचारी समाजका साथीहरुले पार्टीको दृष्टिकोण र सिद्धान्तहरुको जानकारी हुनु पर्ने बताउँदै अमेरिकी कठपुतली सरकार जेलेन्स्कीले अमेरिकाको हातिहतियारहरु युक्रेनमा भण्डारण गर्न खोजेको विरुद्ध प्रतिकारमा भएको रुस–युक्रेन युद्धमा विभिन्न थरिको दृष्टिकोणहरु आउँदा सहि र गलत छुट्याउन गा¥हो भएको बताउनु भयो । उहाँले राज्य र विद्रोही पक्षको मात्र सेना हुनेमा अहिले निजि सेना बारे वागनरको संचार माध्यममा आइरहेको बारे बताउँदै त्यसले लिवियामा गद्दाफिलाई खतम गर्न र सिरियामा पनि त्यहि सेनाले उपद्रोह गराएको बताउनुभयो । उहाँले अहिलेको युद्ध परम्परागत रुपमा हतियारबाट मात्र नहुने गुप्तचार युद्ध, साइबर युद्धले युवाहरुलाई दिग्भ्रमित गरिरहेको बताउँदै जाननजानी युवाहरु गोयबल्सको झुठलाई हजार पटक दो¥हाउँदा सत्य जस्तै देखिने विचारमा फसिरहेको बताउनुभयो । उहाँले केही व्यक्तिहरुले मिसन ०८४ लाई लक्ष्य गर्दै नेमकिपाले भक्तपुर नगरमा गरेको राम्रो कामलाई ओझेलमा परि सानोतिनो बाटो विग्रेको, पाइप फुटेकोलाई प्रथामिकता दिई बद्नाम गर्न खोजेको बताउँदै प्लस टुको छात्रबृति भक्तपुर नगरपालिकाले २०७४ सालदेखि नै परीक्षा लिई वितरण भई रहेकोमा तर अहिले काठमाण्डौं मनपाले गर्न खोज्दा के के न भएको जस्तो गरेर साईबर आक्रमण भएको र केहि व्यक्तिहरुलाई देवत्वकरण गरी जेलेन्स्की उत्पादन गर्ने त होइन भनि प्रतिप्रश्न गर्नुभयो । उहाँले ठुला र शासक राजनैतिक पार्टीहरुको गलत प्रकृया कै कारण विकल्प खोज्ने नाममा विष पिउन नहुने बताउनुभयो । उहाँले संगठनको जरा बलियो भए अरुले आक्रमण गर्ने दुस्साहस नगर्ने र जरा मत्किए वा किराले खाए अरुले आक्रमण गर्ने भएकोले एकताभाव प्रर्दशन गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभयो । साथै उहाँले हामी निष्कृय भए अरु सकृय हुने भएकोल सकृतापूर्वक काम गर्न निर्देशन दिनुभयो ।
कार्यक्रममा नेपाल कर्मचारी समाजका अध्यक्ष गौतम प्रसाद लासिवाले कर्मचारी समाज पार्टीको पेशागत संगठन भएको बताउँदै सिमित स्वार्थकोलागि ट्रेड युनियनबादी हुन नहुने बताउनुभयो । उहाँले समस्या पोख्ने, बहुमत कर्मचारी यथार्थ हकहित, इमान्दार र कर्तव्यनिष्ठ बनाउन, भ्रष्टाचार मुक्त र समाजवादी आचरण सिकाउने उद्देश्य रहेको बताउनुभयो । उहाँले देश रहे कर्मचारी रहने भएकोले देशको सार्वभौमिकता, स्वाधिनता र भु–अखण्डता रक्षामा लागि पर्नुपर्ने बताउनुभयो । उहाँले कर्मचारीहरुलाई तलब बृद्धि भन्दा महंगी नियन्त्रण भए सारा जनतालाई फाइदा पुग्ने बताउनभयो । उहाँले तीन तहको सरकार भएपनि संघले प्रदेशलाई, प्रदेशले स्थानीय तहलाई नियन्त्रण गर्ने र अधिकारहरु कटौटी गर्ने गर्दा स्वायतत्ता र विकेन्द्रीकरणको सिद्धान्त अनुसार समेत नभएको बताउनुभयो । उहाँले नागरिकता ऐनले देश सिक्किमीकरण हुनसक्ने, सार्वजनिक जग्गा ललिता निवास प्रकरण, भुटानी शरणार्थी काण्ड, एमसिसि आदिबारे जानकारी राख्नुपर्ने बताउनभुयो ।
कार्यक्रम नेपाल कर्मचारी समाज भनपा ९ का अध्यक्ष रामकृष्ण प्रजापतिको सभापतित्वमा सम्पन्न कार्यक्रममा काशिलाल प्रजापति, हरिकृष्ण दुवाल, लक्ष्मी प्रसाद गाईजूले पनि बोल्नु भएको थियो । भेलाले रामकृष्ण प्रजापतिको अध्यक्षतामा १५ सदस्यीय नेपाल कर्मचारी समाज भनपा ९ समिति पुनः गठन गरियो ।













