लक्जमवर्गका मन्त्री फ्रान्ज फायट भक्तपुर भ्रमणमा
२०८० वैशाख २२ गते, शुक्रबार
मित्र राष्ट्र लक्जमवर्गका विकास, सहयोग तथा मानवीय मामिला मन्त्री महामहिम फ्रान्ज फायटलगायतका प्रतिनिधिमण्डलले शुक्रबार सांस्कृतिक नगर भक्तपुरको अवलोकन गर्नुभएको छ ।
मन्त्री फायटलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पुष्पगुच्छा, खादा र भादगाउँले टोपीले भक्तपुर दरबार क्षेत्रको प्रवेशद्वारमा स्वागत गर्नुभयो ।

तत्पश्चात मन्त्री फायटलगायतका प्रतिनिधिमण्डलले भक्तपुरको ऐतिहासिक एवम् सांस्कृतिक महत्व बोकेका सम्पदाहरु सुन ध्वाका, भक्तपुर दरबार क्षेत्र, पोटरी स्क्वायर, टौमढीस्थित पाँचतल्ले मन्दिर, फसि देगः लगायतको अभिरुचिपूर्वक अवलोकन गर्नुभयो ।
मन्त्री फायटले भक्तपुरले गरेको न्यानो स्वागतप्रति धन्यवादज्ञापन गर्दै भक्तपुरका सांस्कृतिक सम्पदाहरु आकर्षक रहेको बताउनुभयो ।
अवलोकनपश्चात प्रमुख प्रजापतिले मन्त्री फायटलाई मयुरको झ्याल र नपाको फोटो पुस्तिका उपहार स्वरुप प्रदान गर्नुभएको थियो ।
भेटमा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी, कार्यपालिका सदस्य, लक्जमवर्गका विकास, सहयोग तथा मानवीय मामिलाका निर्देशक क्रिश्टोफी स्किल्च, भारतका लागि लम्जेमबर्गका राजदूत पेगी फ्राटजेन, सिल्भी डोस सानतोस, जोइ हेन, अेने निकोलस, साल्भा काब्रास, नेपालका लागि लक्जेमवर्गका मानार्थ वाणिज्य दूत श्रीराम लामिछाने, कोअर्डिनेटर रमेश त्वायनालगायतको उपस्थिति रहेको थियो ।














