नगर प्रमुख प्रजापतिलाई भक्तपुर नगरपालिकाको रणनीतिक योजनासहितको प्रतिवेदन हस्तान्तरण
२०७९ फागुन ३० गते, मंगलबार
भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिलाई भक्तपुर नगरपालिकाको रणनीतिक योजनासहितको प्रतिवेदन हस्तान्तरण गरिएको छ ।
नेपाल सरकार खानेपानी मन्त्रालयका सहसचिव तिरेशप्रसाद खत्री, शहरी विकास मन्त्रालयका सहसचिव रामचन्द्र दंगाल, कानुन न्याय तथा संसदीय मन्त्रालयका सहसचिव निर्मला अधिकारी भट्टराई र संघीय संसद सचिवालयका सहसचिव सुरेन्द्र अर्यालको संयुक्त टोलीले तयार गरेको भक्तपुर नपाको रणनीतिक योजना (२०७९—८४) सहितको प्रतिवेदन मंगलबार एक कार्यक्रमबीच नगर प्रमुख प्रजापतिलाई हस्तान्तरण गरिएको हो ।
सोही क्रममा नगर प्रमुख प्रजापतिले भक्तपुर नपाको विस्तृत अध्ययन गरी तयार पारिएको रणनीतिक योजना वास्तवमै दस्तावेजको रुपमा रहने बताउँदै भक्तपुर नगरपालिकालाई आफ्नो कार्य क्षेत्र बनाई अध्ययन गरेकोमा टोलीलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माणलगायतका क्षेत्रमा गरिरहेको कामबारे अन्य स्थानीय तहले पनि अवलम्बन गर्न सके देशको विकास छिटो हुने उल्लेख गर्दै भक्तपुर नपाको पाँच वर्षे रणनीतिक योजनाको विस्तृत अध्ययन गरी अगाडि बढ्ने प्रयत्न गर्ने उहाँले बताउनुभयो ।
त्यस्तै संघीय संसद सचिवालयका सहसचिव सुरेन्द्र अर्यालले रणनीतिक योजना तर्जुमाको आवश्यकतामाथि प्रष्ट पार्दै नगरपालिकाद्वारा प्रकाशित प्रकाशनहरुको विस्तृत अध्ययन गरी तयार पारिएको भक्तपुर नपाको रणनीतिक योजना दस्तावेजकै रुपमा रहने र योजना कार्यावन्यनयोग्य बनाउन जोड दिएको बताउनुभयो ।
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका वसन्तराज सिग्देलले रणनीतिक योजना तयार गर्ने क्रममा भक्तपुर नपाबारे अध्ययनबाट धेरै विषयको जानकारी हासिल भएको बताउँदै सार्वजनिक क्षेत्रको विकासमा यस अध्ययनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्व, प्रशासकीय अधिकृत दामोदर सुवाल, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका अनुप भुर्तेल, सुन्दर श्रेष्ठलगायतको उपस्थिति थियो ।
भक्तपुर नपाको रणनीतिक योजनामा नगरपालिकाको संगठनात्मक स्वरुप, विभिन्न रणनीतिक क्षेत्रमा नगरपालिकाबाट विगत ३ देखि ५ वर्षमा शिक्षा, स्वास्थ्य, सम्पदा तथा कला संस्कृतिक संरक्षण र विकास निर्माण, सरसफाई, खानेपानी, सहकारी विकास, निजी आवास पुनःनिर्माण, सीपमूलक तालिमहरुलगायतमा भएका भक्तपुर नपाका सबल पक्ष, कमजोर पक्ष, अवसर तथा चुनौतीलगायतका विषय विस्तृतमा उल्लेख गरिएको छ ।