नगर प्रमुख प्रजापतिद्वारा प्रजिअ रिजाललाई स्वागत
२०७९ माघ २२ गते, आइतबार
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सुर्खेत जिल्लाबाट भक्तपुरमा सरुवा भई आउनुभएका भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई आज एक कार्यक्रमबीच पुष्पगुच्छा, भादगाउँले टोपी र खादा ओढाइ स्वागत गर्नुभयो ।
प्रजिअ रिजालको स्वागतमा आयोजित परिचयात्मक कार्यक्रममा बोल्नुहुँदै प्रमुख प्रजापतिले भक्तपुरको शान्ति सुरक्षा, जात्रा व्यवस्थापन, सांस्कृतिक सम्पदा सुरक्षालगायतका विषयमा जिल्ल्ला प्रशासन कार्यालय र नगरपालिकाबीच सहकार्य हुने विश्वास व्यक्त गर्नुभयो ।

तीन तहको सरकारबीच सहकार्य र समन्वयको सिद्धान्तअनुसार अगाडि बढ्ने संवैधानिक व्यवस्था स्मरण गर्दै उहाँले भक्तपुरको दुधपाटीस्थित भाज्या पुखु परिसरको बाटो खोल्ने विषयमा गृहमन्त्रालयअन्तर्गतको जुद्ध बारुण यन्त्र परिसरको बाटो खोल्ने विषयमा सहकार्य र समन्वय हुने विश्वास व्यक्त गर्नुभयो ।
ऐतिहासिक, सांस्कृतिक र राजनीतिक रुपले भक्तपुर महत्वपूर्ण थलो भएको बताउनुहुँदै अरु नगरपालिकाभन्दा शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण र सरसफाईमा विशिष्ट रहेको उल्लेख गर्नुभयो ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुरको ऐतिहासिक महत्व बोकेका सांस्कृतिक गतिविधि अगाडि बढाउन जिप्रकाबाट साथ र सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।
त्यस्तै प्रजिअ रिजालले भक्तपुर नपासँग अरु स्थानीय तहले सिक्न लायक धेरै कामहरु भएको बताउँदै अन्तर्राष्ट्रिय जगतमा नेपाललाई चिनाउन भक्तपुरको धेरै ठूलो भूमिका भएको बताउनुभयो ।
स्थानीय सरकार जनताको नजिकको सरकार भएको बताउँदै उहाँले भक्तपुरमा शान्ति सुरक्षा कायम गर्न जनप्रतिनिधि र स्थानीय जनतासँग हातेमालो गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।
भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्व र प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले पनि बोल्नुभएको उक्त परिचयात्मक कार्यक्रममा भक्तपुर नगरपालिकाका जनप्रतिनिधि, नगरपालिकाका शाखा प्रमुखहरूको उपस्थिति रहेको थियो ।
सोही क्रममा नगर प्रमुख प्रजापतिले प्रजिअ रिजाललाई भक्तपुरको प्रसिद्ध मयुर झ्याल र नगरपालिकाका महत्वपूर्ण प्रकाशनहरु उपहारस्वरुप प्रदान गरेका थिए ।













