संस्थागत तथा सामुदायिक विद्यालयका खेलकुद शिक्षकहरुलाई प्रशिक्षक प्रशिक्षण तालिम आजबाट सुरु

संस्थागत तथा सामुदायिक विद्यालयका खेलकुद शिक्षकहरुलाई प्रशिक्षक प्रशिक्षण तालिम आजबाट सुरु
२०७९ कार्तिक १ गते, मंगलबार
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाको आयोजनामा नगरभित्रका संस्थागत तथा सामुदायिक विद्यालयका खेलकुद शिक्षकहरुलाई मिति २०७९ कार्तिक १ गतेदेखि ६ गतेसम्म हुने पिटी, एथ्लेटिक्स, भलिबल, फुटबल, कबड्डी र खोखो खेलसम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम मंगलबारबाट शभारम्भ भयो ।
कार्यक्रममा बोल्नुहुँदै प्रमुख प्रजापतिले राजनीति देश र जनताको सेवा गर्ने माध्यम भएको बताउनुहुँदै उहाँले नागरिकहरुको सर्वाङ्गीण विकास र नयाँ पुस्तालाई विकृति र बिसंगतिबाट जोगाउन खेलकुदको महत्व अपरिहार्य भएको बताउनुभयो ।
उहाँले शिक्षकहरु सबै क्षेत्रमा अरुको तुलनामा योग्य र सबल हुनुपर्ने बताउनुहुँदै राम्रा र योग्य शिक्षकले इमानदार र असल विद्यार्थी उत्पादन गर्ने हुँदा विद्यालयस्तरबाट विद्यार्थीहरुलाई सबल बनाउन आवश्यक भएको बताउनुभयो ।


भक्तपुर नपाको सेवा प्रवाहबारे राष्ट्रिय अन्तर्राष्ट्रिय जगतको ध्यान आकर्षित भइरहेको प्रसंग निकाल्दै उहाँले खेलकुद र शिक्षालाई सँगसँगै अगाडि बढाउन शिक्षहरुले आवश्यक भूमिका खेल्नुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष एवम् भक्तपुर नपा युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले भक्तपुर नपाले खेलाडी उत्पादन गर्ने प्रारम्भिक थलोको रुपमा विद्यालयहरुलाई लिइरहेको र विद्यालयस्तरबाट प्रशिक्षक उत्पादन गर्ने उद्देश्यले यो तालिमको आयोजना गरेको बताउनुभयो । उहाँले विद्यार्थीहरुलाई सामाजिक रुपमा परिचालन गरी देशको सार्वभौमिकता रक्षा गर्ने जनशक्तिको रुपमा विकास गर्दै लानुपर्ने उहाँले बताउनुभयो ।
उक्त कार्यक्रममा तालिमका प्रशिक्षक शान्ताबहादुर श्रेष्ठ, भक्तपुर जिल्ला भलिबल संघका अध्यक्ष विनोदचरण राय, खेलकुद समितिका सदस्यद्व सुनिता अवाल र रन्जना त्वातीले पनि बोल्नुभएको थियो ।