चर्काे ब्याज वृद्धिका विरुद्धमा भक्तपुरका व्यवसायीद्धारा प्रजिअलाई ज्ञापन पत्र पेश
भक्तपुर, कार्तिक ४ गते
बैंक तथा वित्तिय सस्थाले असुल्दै आएको चर्काे ब्याजका विरुद्धमा भक्तपुरका उद्यमी व्यवसायीले जिल्ला प्रशासन कार्यालय भक्तपुरमा ज्ञापन पत्र पेश गरेका छन् । भक्तपुर चेम्बर अफ कमर्सको संयोजनमा आज जिल्लाका विभिन्न व्यवसायिक तथा वस्तुगत संघसंस्थाहरुको उपस्थितिमा उक्त ज्ञापन पत्र पेश गरिएको हो । भक्तपुर चेम्बर अफ कमर्सका उपाध्यक्ष कविदास श्रेष्ठ सहितको टोलिले प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा समक्ष ज्ञापन पत्र पेश गरेको हो । ज्ञापन पत्र बुझ्दै प्रजिअ शर्माले उद्यमी व्यवसायीका समस्या आफूलाई अवगत भएको उल्लेख गर्दै ब्यवसायीले दिएको ज्ञापन पत्र सम्बन्धित निकायमा पुयाई दिने बताउनु भयो । शुभकामना कार्यक्रमको नाममा विभिन्न कार्यक्रमहरु आयोजना गरि निर्वाचन आचार संहिता उल्लंघन हुने गतिविधि गर्न नहुनेमा सबै पक्षलाई आग्रह गर्दै आएको बताउनु भयो ।

ज्ञापन पत्र मार्फत बैंक तथा वित्तिय संस्थाले निक्षेपमा ब्याजदर बढाएर पनि निक्षेप बढन नसकेको यथार्थ तर कर्जाको ब्याज बढेर यसबाट बजारमा नकारात्मक असर परिरहेको मौजूदा वास्तविकता र विगतको अनुभव समेतलाई मनन गर्दै ब्याजदरलाई वान्छित सिमा भित्र राख्नु पर्ने नीति अवलम्बनका लागि व्यवसायीबाट माग गरिएको छ । यसै गरी बैंक तथा वित्तिय संस्थाहरुले हाल विद्यमान स्प्रेडदरलाई घटाउने एवं कर्जाको आधार दरमा समेत न्यूनतम प्रतिसतमात्रै प्रिमियम थप गर्ने व्यवस्था लागू हुनु पर्ने र बैंक तथा वित्तिय संस्थाहरुले गर्ने गरेको खर्चमा नियन्त्रण गरी आधार दर समेत घटाउन सकिने अवस्था रहेको तर्फ पनि व्यवसायीले ध्यानाकर्षण गराएको छ । साथै नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई ऋण प्रवाह गर्दा विगतमा भन्दा हाल ब्याजदरमा वृद्धि भएको हुंदा विगतकै प्रतिशतमा ऋण प्रवाह हुनु पर्ने तर्फ पनि ध्यानाकर्षण गराएको छ । यसै गरी हाल मुलुकको असहज परिस्थितिका कारण ऋणको सावाब्याज भुक्तानी अवधिमा थप समय उपलब्ध गराउने व्यवस्थाका लागि केन्द्रिय बैकबाट पहल हुनु पर्ने तर्फबाट पनि व्यवसायीको माग रहेको भक्तपुर चेम्वरका प्रमुख कार्यकारी अधिकृत राजूमान बज्राचार्यले जनाएको छ ।
मौजूदा परिवेशबाट सिर्जित चरम मूल्य वृद्धि र उद्योग व्यवसायहरु धमाधम धरासायी बन्दै गरेको चुनौतीपूर्ण अवस्थाबाट मुलुकलाई बचाउन केन्द्रिय बैंक र सरकार दुवैबाट भरमग्दुर प्रयास हुनु पर्ने तर्फ पनि व्यवसायीले ध्यानाकर्षण गराएको विज्ञप्तिमा उल्लेख छ ।
ज्ञापन पत्र पेश गर्ने क्रममा भक्तपुर चेम्बर अफ कमर्ससंगै भक्तपुर नगर चेम्बर, चाँगुनारायण नगर चेम्बर, मध्यपुरथिमि नगर चेम्बर, सूर्यविनायक नगर चेम्बर, भक्तपुर घरेलु तथा साना उद्योग संघ, भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघ, भक्तपुर पार्टी प्यालेस तथा क्याटरीग संघ, नेपाल औषधी व्यवसायी संघ, भक्तपुर जिल्ला समिति, भक्तपुर वन पैदावार उद्योग व्यवसायी संघका प्रतिनिधिहरुको उपस्थिति रहेको भक्तपुर चेम्बर अफ कमर्सका प्रमुख कार्यकारी अधिकृत राजु मान बज्राचार्यले जानकारी दिनु भयो ।















