भक्तपुर नपामा लिम्चुङबुङ गाउँपालिका अध्यक्ष मेजरकुमार राईको अवलोकन भ्रमण

भक्तपुर नपामा लिम्चुङबुङ गाउँपालिका अध्यक्ष मेजरकुमार राईको अवलोकन भ्रमण
भक्तपुर । २०७९ साउन २४ गते, मंगलबार
भक्तपुुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग उदयपुरको लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजरकुमार राईले मंगलबार भेट गर्नुभयो । भक्तपुरको अवलोकन भ्रमणमा आउनुभएका राईलाई नगर प्रमुख प्रजापतिले खादा र भादगाउँले टोपीले स्वागत गर्नुहुँदै सांस्कृतिक नगरी भक्तपुरको संक्षिप्त परिचय दिनुभयो ।
उहाँले नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले लेख्नुभएको ‘सय वर्षपछिको भक्तपुर’ लाई आधार मानेर भक्तपुरको सन्तुलित विकास र मौलिकता जगेर्नालाई विशेष प्राथमिकतामा राखी यहाँको विकास निर्माणका काम अगाडि बढिरहेको छ भन्नुभयो ।
भक्तपुर नपाले उपभोक्ता मोडलबाट सम्पन्न गरेका विकास निर्माणको काममा स्थानीय जनताको अपनत्व कायम हुनुका साथै पुनःनिर्माण कार्य गुणस्तरीय रहेको बताउनुहुँदै उहाँले भक्तपुर नपा ख्वप विश्वविद्यालय सञ्चालन गर्ने तयारीमा रहेको बताउनुभयो ।
अध्यक्ष राईले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्था र ख्वप अस्पताल अन्य स्थानीय तहहरुको लागि असल र उदाहरणीय कार्य भएको बताउनुहुँदै नगरपालिकाको स्थलगत अवलोकनका क्रममा भक्तपुर नपा अब्बल स्थानीय तहको रुपमा पाएको बताउनुभयो ।


उहाँले देशका हरेक स्थानीय तहले भक्तपुरले जस्तै शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माणलगायतका क्षेत्रमा विकास गर्न सके देश छिटै समृद्धिको बाटोतर्फ लम्कने बताउनुहुँदै भक्तपुर भ्रमण उपलब्धीपूर्ण भएको बताउनुभयो ।
उदयपुर जिल्लाको लिम्चुङबुङ गाउँपालिकामा हाल एभरेष्ट भ्युटावर बनाउन लागिएको बताउनुहुँदै भ्युटावरसँगै चिल्ड्रेन पार्क, रिसोर्ट र पर्यटक सूचना केन्द्र निर्माण गरी पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्ने योजना रहेको उहाँले बताउनुभयो ।
भेटमा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी, प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी र प्रशासकीय अधिकृत दामोदर सुवालको उपस्थिति थियो ।
अध्यक्ष राईले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल, ख्वप कलेज र ख्वप इन्जिनियरिङ तथा ख्वप कलेज अफ इन्जिनियरिङ कलेजको स्थलगत अवलोकन गर्नुभयो ।