सुस्त मनस्थिति कल्याण विद्यालयको ३७ औं स्थापना दिवस

सुस्त मनस्थिति कल्याण विद्यालयको ३७ औं स्थापना दिवस
२०७९ जेठ २७ गते, शुक्रबार
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सुस्त मनस्थिति कल्याण विद्यालयको ३७ औं स्थापना दिवसको पासनमा दीप प्रज्ज्वलन गरी शुक्रबार उद्घाटन गर्नुभयो ।
कार्यक्रममा बोल्नुहुँदै प्रमुख प्रजापतिले सुस्त मनस्थिति भएका बालबालिकाहरुको हेरचाह आफैमा जटिल हुने बताउनुहुँदै त्यस्ता व्यक्तिहरुलाई शिक्षा सँगसँगै समाजसँग घुलमिल गराउन व्यवहारिक ज्ञान पनि दिन आवश्यक भएको बताउनुभयो ।
भक्तपुर नपाले अपांगता भएका व्यक्तित्वहरुका लागि विभिन्न किसिमका सीपमूलक तालिम, खेलकुद प्रतियोगिताहरुको निरन्तर आयोजना गरिरहेको बताउनुहुँदै आगामी दिनहरुमा पनि भक्तपुर नपाले आवश्यक कार्ययोजना तयार गरी त्यस्ता व्यक्तिहरुको हितमा काम गर्दै जाने बताउनुभयो ।


मानसिक र बौद्धिक हिसाबले पछि परेका व्यक्तिहरुलाई समाजले पनि राम्रोसँग व्यवहार गर्नुपर्नेमा जोड दिनुहुँदै प्रमुख प्रजापतिले सुस्त मनस्थिति भएका बालबालिकाहरुलाई पनि सबल नागरिकको रुपमा तयार गर्दै लानुपर्ने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ४ का वडाध्यक्ष उपेन्द्र सुवालले सुस्त मनस्थिति भएका बालबालिकाहरुलाई विशेष प्रकारको सुरक्षा र मायाको आवश्यकता रहने बताउनुहुँदै ौद्धिक अपांगता भएका व्यक्तिहरुले पनि व्यक्तित्व विकासमा अवसरहरु पाउनुपर्छ भन्नुभयो ।
विद्यालयका प्रधानाध्यापक तारादेवी किजुले कलेजको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुहुँदै विद्यालयले सस्त मनस्थिति भएका बालबालिकाहरुलाई विशेष शिक्षा तथा विभिन्न सीपमूलक प्रशिक्षणहरु प्रदान गर्दै आइरहेको बताउनुभयो ।
कार्यक्रममा सुस्त मनस्थिति कल्याण विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार चवाल र सल्लाहकार अनन्तप्रसाद धौभडेलले पनि बोल्नुभएको थियो ।
सोही अवसरमा प्रमुख प्रजापतिले विद्यार्थीहरुलाई विद्यालयको पाठयपुस्तक वितरण गर्नुभएको थियो ।